भारत लगिँदै गरेका तीन बालिकाको उद्धार



नेपाल समाचारपत्र, इलाम ।

रोजगारीको आशा देखाएर भारतको दार्जिलिङतर्फ लगिँदै गरेका तीन बालिकाको मंगलबार साँझ इलामको सीमावर्ती पशुपतिनगर नाकाबाट उद्धार गरिएको छ । १३, १६ र १७ वर्षीया बालिकालाई घरेलु काममा लगाइदिने भन्दै नाका कटाउन लाग्दा नाकामा बसेको र्माती नेपाल, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलिले बालिकाको उद्धार गरेको हो ।

मकवानपुरको हेटौंडा माइतीघर भई दार्जिलिङ बस्दै आएकी ३३ वर्षीया अनु तामाङले मकवानपुर भीमफेदी गाउँपालिका लामिडाँडा–९ बस्ने तामाङ थरका ती बालिकाहरूलाई सीमापार गराउँदै गर्दा उद्धार गरिएको थियो । ती महिलाले बालिकाहरु आफन्त भएको र उनीहरुलाई घरेलु काममा लगाउने भनेर लगेको सोधपुछको क्रममा बताएकी थिइन् ।

यस विषयमा थप अनुसन्धान गर्न माइती नेपालले उद्धार गरिएका बालिका र ती महिलालाई इलाका प्रहरी कार्यालय पशुपतिनगरको जिम्मा लगाएको माइती नेपाल पशुपतिनगरका संयोजक होम ढकालले बताउनुभयो । ती महिलाले मानव बेच–विखनकै लागि नभए पनि बालबालिकालाई घरेलु काममा लगाउने भने पनि नेपालको कानुननले बालबालिकालाई काममा लगाउन नपाइने नियम भएकाले उनीहरुलाई नाकामा रोकेर उद्धार गरिएको हो ।

कोरोना महामारी र लामो समयसम्मको लकडाउनका कारण घरको आर्थिक अवस्था कमजोर भएपछि धेरै किशोरीलाई रोजगारीको प्रलोभनमा पारेर मानव तस्करले भारतमा पु-याउने गरेका छन् । पछिल्लो समय यो नाका मानव बेच–विखनको प्रमुख ट्रान्जिट बन्दै जाँदा माइती नेपाल र प्रहरीलाई यसको नियन्त्रणमा चुनौती थपिँदै गएको छ । सोही नाकाबाट डेढ महिनाको अवधिमा मात्र १० जना किशोरीको उद्धार गरिसकेको संयोजक ढकालले जानकारी दिनुभयो । मानव बेच–विखनमा पर्न लागेका उनीहरुको उद्धार भएको हो ।

प्रतिक्रिया दिनुहोस्