जितबहादुर पुरस्कृत



नेपाल समाचारपत्र, काठमाडौं ।

अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको आईओएफटीसीले ‘दोश्रो आईओएफटीसी पुम्से अनलाइन भिडियो च्याम्पियनसिप’का ‘उत्कृष्ट पुरुष नेपाली खेलाडी’ जितबहादुर बोटलाई शुक्रबार नगद पुरस्कार प्रदान गरेको छ । डिसेम्बर २८ देखि ३० तारिखसम्म पोर्टल्यान्डबाटै सञ्चालित उक्त प्रतियोगितामा १३औं दक्षिण एसियाली खेलकुद (साग) का कांस्य विजेता जित ब्ल्याकवेल्टतर्फ उत्कृष्ट खेलाडी चुनिएका थिए । युवा तथा खेलकुदमन्त्री दावा तामाङले जितलाई प्रशंसा–पत्रसहित १ सय ५० अमेरिकी डलर एक कार्यक्रमबीच हस्तान्तरण गरे ।

सोही अवसरमा उक्त प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका नेपाली निर्णायक नोर्बु लामालाई पनि नगदसहित सम्मान गरिएको थियो । मन्त्री तामाङले लामालाई प्रशंसा–पत्रसहित १ सय अमेरिकी डलर प्रदान गरे । त्यस्तै, आईओएफटीसी हेल्प डेस्क टिम नेपाललाई पनि त्यसै अवसरमा प्रशंसा पत्रबाट सम्मान गरियो । संयोजक रामचन्द्र व्यञ्जनकार तथा सदस्यहरू रजिन सिंह, निरोज गौतम, अर्जुन महर्जन र नमिका मोक्तान सम्मानित भए । अनुशासित टिम नेपाल प्रहरीलाई सम्मानस्वरूप प्रशंसा–पत्र प्रदान गरिएको थियो ।

मन्त्री तामाङले खेलकुद र खेलाडीको हितका लागि मन्त्रालय सदैव तत्पर रहने प्रतिबद्धता व्यक्त गरे । निर्णायक लामाले विदेशमा रहेर पनि नेपाली तेक्वान्दो र तेक्वान्दो खेलाडी प्रति आईओएफटीसीका संस्थापक दिवाकर महर्जनले गरेको योगदानको प्रशंसा गरे ।

आईओएफटीसीको २०औं स्थापना दिवसका अवसरमा प्रतियोगिता आयोजना गरिएको थियो । २६ स्वर्ण, २४ रजत र २३ कांस्यसाथ अमेरिका टिम च्याम्पियन बनेको थियो । नेपाल १९ स्वर्ण, १४ रजत र २२ कांस्यसहित उपविजेता भएको थियो । प्रतियोगितामा विभिन्न २० राष्ट्रका २ सय ७० खेलाडीले विभिन्न ५० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

आईओएफटीसीले आयोजक गर्ने मुख्य प्रतियोगिता इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ ले गर्दा स्थगित भएपछि आईओएफटीसीले अनलाइन प्रतियोगिता आयोजना गरेको हो । पहिलो संस्कणको अनलाइन प्रतियोगिता गत जुनमा भएको थियो । गत मे पहिलो साता अमेरिकाको मिचिगनमा आईओएफटीसीको १३औं संस्करण हुने तालिका थियो । यसअघि, सम्पन्न १२ संस्करणमध्ये ५ संस्करण अमेरिका र ४ संस्करण नेपालमा भएको थियो । बाँकि १–१ संस्करण हङकङ, भारत र लन्डनमा भएका थिए ।

प्रतिक्रिया दिनुहोस्