युभेन्टस्लाई इटालियन सुपरकपको उपाधि



रोम, (एजेन्सी)

युभेन्टस्ले सिजन २०२०–२१ को इटालियन सुपरकप फुटबलको उपाधि जितेको छ । प्रतियोगिताको बुधबार राति सम्पन्न फाइनलमा युभेन्ट्सले बलियो टोली नापोलीलाई २–० गोलअन्तरले हराउँदै सिजनको पहिलो उपाधि उचाल्न सफल भएको हो । उपाधि भिडन्तमा युभेन्ट्सलाई उपाधि जिताउन क्रिस्टियानो रोनाल्डो र अल्भारो मोराटाले समान एक–एक गोल योगदान गरे ।

निकै प्रतिस्पर्धात्मक उक्त खेलमा युभेन्ट्सले दुवै गोल दोस्रो हाफमा गरेको थियो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिँदा दुवै टिमले गोल लागि केही असफल प्रयास गरेका थिए । पहिलो हाफमा युभेन्ट्सका गोलरक्षक सिजेस्नीले नापोलीको दुईवटा प्रहार बचाउँदा युभेन्टस्ले भने एकपटक पनि अन टार्गेट प्रहार गर्न सकेन । तर, दोस्रो हाफमा भने युभेन्टस्ले खेलमा आफ्नो पकड जमायो ।

शुरुआतबाटै आक्रामक खेल पस्कि“दै युभेन्टस्ले दुई गोल ग-यो । खेलको ६४औं मिनेटमा रोनाल्डोले डीबक्स भित्रबाट निकै कठिन कोणबाट आकर्षक गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि नापोलीले खेलमा बराबरी गोलका लागि दुई अवसर पाए पनि सफल हुन सकेन । जसमध्ये प्राप्त एउटा पेनाल्टीमा समेत गोल गर्नबाट चुके ।

खेलमा एक गोलले पछि परेका बेला नापोलीका लोरेन्जो इन्सिग्नेले ८०औं मिनेटमा प्रहार गरेको पेनाल्टी खेर गएपछि नापोलीले खेलमा फर्किने मौका गुमाएको थियो । उनको पेनाल्टी प्रहार पोस्टभन्दा बाहिरबाट गएको थियो । यता इन्जुरी समयको पाँचौं मिनेटमा सब्सिच्युट फरवार्ड मोराटाले जुआन काउडराडोको पासमा गोल गरेपछि युभेन्टस्ले २–० को जितसहित उपाधि जित्यो ।

यसस“गै युभेन्टस्ले सुपरकपको उपाधि सर्वाधिक नवौंपटक जितेको छ । पराजित नापोलीले भने यो उपाधि दुईपटक मात्र जितेका छन् । युभेन्टस्ले यस सिजनको पहिलो फाइनल खेल जितेर नयाँ सिजनको सुखद शुरुआतसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्