राष्ट्रपति बाइडेन र उपराष्ट्रपति ह्यारिसद्वारा बिधिवतरुपमा शपथग्रहण, कार्यकारिणी आदेशपत्रमा हस्ताक्षर



सिङ्टन, (एजेन्सी)

अमेरिकी राष्ट्रपति जोय बाइडेनले शपथग्रहण गरेको केही घन्टापछि नै पूर्वराष्ट्रपति ट्रम्पका केही प्रमुख नीतिहरू फुकुवा गरेका छन् । शपथ ग्रहणपछि राष्ट्रपति भवन ह्वाइट हाउसतर्फ जानेक्रममा उनले ट्विट गरेका छन्, ‘हामीले भोग्नुपर्ने समस्याहरूको समाधानका लागि खेर फाल्ने समय नै छैन ।’

राष्ट्रपति बाइडेनले सबैभन्दा पहिले कोरोना भाइरस समस्याप्रति संघीय जिम्मेवारी बढाउनका लागि १५ वटा कार्यकारिणी आदेशपत्रमा हस्ताक्षर गरेका छन् । अन्य आदेशपत्रमार्फत उनले ट्रम्प सरकारको जलवायु परिवर्तन र आप्रवाससम्बन्धी आदेशलाई उल्टाएका छन् ।

बुधबार मध्याह्न अमेरिकाको ४६औं निर्वाचित राष्ट्रपतिको रूपमा शपथग्रहण गरेपछि आफ्नो कार्यभार शुभारम्भका लागि उनी ओभल अफिसमा पुगेका थिए । कोरोना भाइरस महामारीका कारण शपथग्रहण समारोह भने विगतका तुलनामा अलि पृथकै देखियो । सो समारोहमा थोरै संख्यामा मात्र प्रत्यक्षदर्शीको उपस्थिति रहेको थियो । अझैसम्म पनि औपचारिक रूपमा आफ्नो पराजय स्विकारी नसकेका डोनाल्ड ट्रम्प भने शपथग्रहण समारोहमा उपस्थित भएका थिएनन् । उनी वासिङ्टनबाट फ्लोरिडा प्रस्थान गरेका थिए ।

अमेरिकी प्रधानन्यायाधीश जोह्न रोबर्ट्ससमक्ष शपथग्रहण गरेपछि जोय बाइडेनले मुलुकमा प्रजातन्त्र अस्तित्वमा आएको प्रतिक्रिया जनाएका थिए । ट्रम्पको अस्थिर युगपछि राष्ट्रिय एकताबारे सन्देश दिने क्रममा बाइडेनले आफूविरुद्ध मत दिनेलगायत सबै अमेरिकाका राष्ट्रपति बन्ने प्रतिबद्धता जनाएका छन् ।

शपथग्रहण समारोहमा बाइडेनअघिका तीनजना पूर्वराष्ट्रपति बाराक ओबामा, बिल क्लिनटन र जर्ज डब्ल्यु बुसलगायत ट्रम्पकालीन उपराष्ट्रपति माइक पेन्सको पनि उपस्थिति रहेको थियो । ओबामाको सरकारमा बाइडेनले आठ वर्षसम्म उपराष्ट्रपतिको भूमिका निभाएका थिए ।

बाइडेनले भन्दा पहिले कमला ह्यारिसले उपराष्ट्रपति पदको शपथग्रहण गरेकी थिइन् । उनी सो पद सम्हाल्ने पहिलो महिला तथा पहिलो काला जातिकी एसियाली–अमेरिकी मूलकी व्यक्ति हुन् । उनले सर्वोच्च अदालतका न्यायाधीश सोनिया सोटोमेयरसमक्ष शपथग्रहण गरेकी थिइन् ।

गत ६ जनवरीमा ट्रम्पका समर्थकहरू अमेरिकी क्यापिटल भवनमा जबर्जस्ती प्रवेश गरेका कारण यसपालि शपथग्रहण समारोहका लागि सुरक्षा व्यवस्था थप कडा पारिएको थियो । अमेरिकाका ५० वटै राज्यमा हिंसात्मक विरोध प्रदर्शन हुने आशंकामा नेसनल गार्ड फौज तैनाथ गरिएको थियो । कार्यक्रम शुरू हुनुभन्दा केही समयअघि क्यापिटल भवनमा तैनाथ १२ जना गार्डलाई तिनीहरूको संदिग्ध आचरणका कारण ड्युटीबाट हटाइएको थियो ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले गार्डहरूमाथि समेत निरन्तर निगरानी राखेको बताइएको छ । राष्ट्रपति बाइडेनलाई मुलुकको पारमाणविक हातहतियार भण्डारमाथि कमान्ड र कन्ट्रोल गर्ने पारमाणविक ‘फुटबल’ झोला एक सैनिकले हस्तान्तरण गरेका थिए ।

पारमाणविक युद्धको घोषण गर्ने एक मात्र अधिकार अमेरिकी राष्ट्रपतिमा निहित हुने संवैधानिक व्यवस्था गरिएको छ ।
त्यसपछि बाइडेन र प्रथम महिला जिल बाइडेन तथा ह्यारिस र उनका पति डोउग एम्होफ हिँडेरै मित्र तथा समर्थकहरूलाई ह“सिलो मुद्रामा अभिवादन गर्दै पेन्सिल्भिानिया एभेन्युस्थित ह्वाइट हाउस पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्