अन्नपूर्ण पदमार्ग खुला ,एबीसी पुग्न पीसीआर रिपोर्ट नचाहिने



टंकराज अधिकारी, काठमाडाैं   । विश्वकै चर्चित पदमार्ग एबिसी पुग्न पिसिआर रिपोर्ट नचाहिने भएको छ । माघ १ गतेदेखि पर्यटकका लागि घान्द्रुक खुला गरे पनि अन्नपूर्ण आधार शिविर पदयात्रामा जाने पर्यटकलाई छोम्रोङ देख़ि माथि जानको लागि अनिवार्य पिसिआर रिपोर्ट चाहिने निर्णय गरेको थियो भने घान्द्रुकसम्म घुम्नका लागि भने पिसिआर रिपोर्ट चाहिँदैनथियो ।

देशका अन्य पदयात्रा मार्ग खुला भएपनि सबैभन्दा आकर्षकमध्ये एक अन्नपूर्ण पदमार्गमा भने खुलेको थिएन। कोरोना भाइरसको संक्रमण नफैलियोस भन्दै स्थानीय पर्यटन व्यवसायीले गत चैत देख़ि नै सो पदमार्ग बन्द गरेका थिए ।माघ १ गतेबाट व्यवसाय सञ्चालनमा ल्याए पनि पदयात्रीका लागि पिसिआर रिपोर्ट अनिवार्य गरिएको थियो ।छोम्रोङ पर्यटन व्यवसायी समितिको मंगलबार बसेको बैठकले पदयात्रीको लागि पिसिआर रिपोर्ट नचाहिने निर्णय गरेको छ ।

कोरोना संक्रमणको दर घट्दै गएको र जन जीवन पनि सामान्य अवस्थामा फर्किदै गरेकाले पिसिआर रिपोर्ट अनिवार्य नठानेर यस्तो निर्णय लिइएको छोम्रोङ पर्यटन व्यवसायी समितिका अध्यक्ष बुद्वीमान गुरूङले जानकारी दिनुभयो ।केही समय अघि पाहुनाका लागि होटलहरु खुला राखे पनि कोरोना रिपोर्ट बोकेर मात्रै आउनुपर्ने भनेका थियौं,’ समितिका सचिव दिलिप गुरुङले भन्नुहुन्छ, ‘अब कोरोना संक्रमण पनि घट्दै गई रहेको र जन जीवन पनि सामान्य अवस्थामा फर्किर्दै गई रहेको छ । पिसिआर रिपोर्ट अलि झन्झटिलो भयो भन्ने ठानेर समितिले यस्तो निर्णय लिएको हो ।’

एबिसी आउने पदयात्रीलाई स्वास्थ्य अवस्था मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाएर मात्रै आउन उहाँको सुझाव छ । अहिले देउरालीसम्म होटलहरु पूर्ण रुपमा खुलेका छन् । देउरालीबाट माछापुछ्रे २ घण्टामा पुग्न सकिन्छ । माछापुछ्रेबाट अन्नपूर्ण साढे घण्टामा पुगेर देउरालीमा बास बस्ने गरि फर्किन सकिन्छ । यही हप्ता भित्रमा माछापुछ्रे र अन्नपूर्ण बेसक्याम्पमा पनि होटलहरु खुला हुने छन् । फागुनबाट कामदार आई सकेपछि एबिसी पूर्ण रुपमा खुल्ने छ । तर, देउरालीमा बसेर सहज रुपमा अन्नपूर्ण बेसक्याम्प पुगेर देउरालीमा बास बस्ने गरि फर्किन सकिन्छ । यसको लागि लोकल गाइडको पनि व्यवस्था गरिएको समितिका सचिव गुरूङको भनाई रहेकोछ ।

प्रतिक्रिया दिनुहोस्