अर्थतन्त्रलाई पुरानै लयमा फर्काउन साढे ६ खर्ब चाहिने



नेपाल समाचारपत्र, काठमाडौं ।

कोरोनाका कारण प्रभावित भएको अर्थतन्त्रलाई पुरानै लयमा फर्काउनका लागि साढे ६ खर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ । राष्ट्रिय योजना आयोगका अनुसार ६ खर्ब ६५ अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको हो । राहत तथा पुनरूत्थान रणनीति एवम् संक्रमण नियन्त्रण, राहत, रोजगारी, आयोजनाको निरन्तरता, नयाँ प्रणाली विकास र आत्मनिर्भरता अभिवृद्विलगायतका क्षेत्रमा तीन चरणमा खर्च गर्नका लागि सो रकम आवश्यक देखिएको आयोगको अनुमान छ ।

आयोगले अल्पकालीन राहत तथा पुनरूत्थानका लागि २ खर्ब ३९ अर्ब, मध्यकालीनका लागि २ खर्ब ८५ अर्ब र दीर्घकालीनका लागि १ खर्ब ३३ खर्ब रुपियाँ स्रोत परिचालन गर्नुपर्ने औंल्याएको छ । महामारीकै कारण मुलुकको उत्पादन क्षेत्रले ३ खर्ब २२ खर्ब रुपियाँबराबरको क्षति बेहोर्नु परेको हुँदा आर्थिक वृद्धिदर खुम्चिने भएको छ ।

त्यस्तै कोरोना महामारीका कारण चार प्रतिशत गरिबी बढेको आयोगको तथ्यांक छ । जसका कारण सरकारको अतिकम विकसित मुलुकको सूचीबाट विकासशील मुलुकको सूचीमा स्तरोन्नती हुने लक्ष्यसमेत प्रभावित हुनसक्ने देअिएको छ ।

आयोगले रोजगारीका निम्ति ९२ अर्ब संक्रमण नियन्त्रण तथा राहतका लागि २ खर्ब ६९ अर्ब, आयोजनाको निरन्तरताका लागि १ खर्ब १४ अर्ब , नयाँ प्रणाली विकासका लागि १ खर्ब १९ अर्ब र आत्मनिर्भरताका लागि ७३ अर्ब रुपियाँ आवश्यक पर्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्