अविश्वासको प्रस्ताव टेबल भएपछि मात्रै कांग्रेसको निर्णय

सांसदको कुर्सीमा वेल्डिङ



हरिहर नेपाल, विराटनगर  ।

नेपाली कांग्रेस प्रदेश–१ संसदीय दलले सदनमा अविश्वासको प्रस्ताव टेबल भएपछि मात्र निर्णय लिने भएको छ । बुधबारदेखि शुरु हुने प्रदेशसभा बैठकमा आफ्नो रणनीति तयार गर्न मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।

दलका नेता राजीव कोइरालाले अहिले निर्णय गर्दा हतार हुने भन्दै सदनमा अविश्वासको प्रस्ताव दर्ता भएपछि मात्र ठोस निर्णय लिने बताउनुभयो । नेकपाका ३७ जना सांसदलले मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराउँदै दलको नयाँ नेतामा भीमप्रसाद आर्चायको नाम प्रस्ताव गरेका थिए । अविश्वासको प्रस्तावमा दर्ता गर्नेमध्ये ५ जनाले हस्ताक्षर फिर्ता लिइसकेका छन् ।

प्रदेश–१ मा अविश्वासको प्रस्ताव पास वा फेल जे गर्न पनि कांग्रेसको साथ आवश्यक छ । प्रदेशसभामा रहेको ९३ सांसद छन् । सरकार बनाउन आवश्यक बहुमत पुग्न ४७ मत आवश्यक पर्छ । कांग्रेसको प्रदेशसभामा भएको २१ मत निर्णयक हुन्छ । कांग्रेस दलको बैठकले निर्णय गर्ने आसमा नेकपाका दुवै समूह थिए ।

दलको बैठकमा नेता राजीव कोइराला र प्रमुख सचेतक केदार कार्कीले अविश्वासको प्रस्ताव दर्ता भएपछि अहिलेसम्म दुवै समूहसँग भएका वार्ताबारे जानकारी गराउनुभएको थियो । यस्तै, अविश्वासको प्रस्ताव दर्ता गराउने नेकपा दाहाल–नेपाल समूहको बैठक पनि मंगलबार बसेको थियो ।

बैठकमा ३२ जना सांसदको उपस्थिति रहेको बताइन्छ । बैठकमा दलका उपनेता टंक आङबोहाङ र उशाकला राई सहभागी रहनुभएको छैन । आफ्नो रणनीति बनाउन मुख्यमन्त्री शेरधन राई समूह पनि अनौपचारिक छलफलमा छ । प्रदेश–१ को प्रदेशसभा बैठक बुधबार बोलाइएको छ ।

यसैबीच प्रदेश–१ को प्रदेशसभा हलमा रहेका कुर्सी वेल्डिङ गरिएको छ । सदनभित्रका कुर्सी उचाल्न नमिल्ने गरी वेल्डिङ गरिएको हो । नेकपामा देखिएको विभाजनपछि प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपाकै सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । दुई पक्षबीच सदनभित्रै मुठभेडको अवस्था आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै कुर्सी वेल्डिङ गरिएको संसद् सचिवालयले जनाएको छ ।

यसअघि सामाजिक दूरी कामय गरी कुर्सीहरू राखिएको थियो । अहिले कुर्सीको तलको भागमा फलामको पाता राखेर वेल्डिङ गरिएको छ । जसका कारण सांसदले कुर्सी उचाल्न सक्ने छैनन् । ‘हामीले सबैखाले सुरक्षा रणनीति अपनाउनुपर्छ ।’ –प्रदेश सभा सचिवालयमा प्रमुख सचिव गोपालप्रसाद पराजुलीले भन्नुभयो ।

प्रदेशसभा सञ्चालनका लागि यसअघि खटाइएका सादा पोशाकका प्रहरीको संख्या पनि थप गरिएको छ । प्रदेशसभामा जम्मा ९३ जना सांसद छन् । ‘यसपटकलाई १० जना सुरक्षाकर्मी थपेका छौं’, पराजुलीले भन्नुभयो– ‘यसअघि ४७ जना सादापोशाकका प्रहरी थिए । आवश्यकताअनुसार अरू पनि थप्ने तयारीमा छौं ।’

सदनभित्र नेकपाका दुवै समूहलाई एउटै लाइनमा यसअघिकै जसरी बस्ने ठाउँ तोकिएको छ । कोरोना महामारीका कारण प्रदेशसभाको छैटौं अधिवेशन भने दुईवटा सभाहलबाट सञ्चालन गरिएको थियो । तर, सातौं अधिवेशन भने आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर एउटै हलबाट सञ्चालन हुने पराजुलीले बताउनुभयो ।उहाँका अनुसार सचिवालयको पहिलो तलामा दर्शकदीर्घा र सञ्चारकर्मीलाई टेलिभिजनमार्फत बैठक चलेको हेर्ने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्