कम्युनिस्ट आन्दोलनलाई धक्का



अस्थिर राजनीति मुलुकको नियति नै बन्दै गएको छ । झण्डै तीन दशकपछि जनताले एउटा दललाई बहुमत दिएर पाँच वर्षसम्म सरकार सञ्चालनको जिम्मा दिएका थिए । तर, राज्यले त्यसलाई पचाउन सकेन र बीचमा नै संसद् विघटन गरेर नयाँं जनादेश भन्दै सरकारले निर्वाचनको मितिसमेत घोषणा गरिसकेको छ ।

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनसमेत भएको छ । सरकारको असंवैधानिक कदमको चौतर्फी आलोचना मात्र भएको छैन संसद् पुनःस्थापना हुनुपर्ने माग राखेर सर्वोच्च अदालतमा मुद्दा दायरसमेत भएको छ । प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गर्नुका कारण जनतासमक्ष प्रकट गर्न खोजे पनि जनता भने प्रधानमन्त्रीको कदमलाई संवैधानिक भन्न सकिरहेका छैनन् ।

अहिले नेपालको राजनीति तरंगित भएपछि देशबाहिर तथा स्वदेश भित्रैबाट चलखेल शुरु भएको छ । विशाल दुई छिमेकीको ‘राजनीतिक चेपुवा’ मा परेको नेपालमा अहिले अस्थिर राजनीति मौलाउँदो अवस्थामा पुगेको छ । एकले अर्कालाई सिध्याउने खेलमा नेकपाका नेताहरु लागेका छन् । यस खेलमा सहभागी हुने दलका नेताहरुको व्यक्तिगत स्वार्थ त पूरा होला तर देश भने बर्बादीको बाटोतर्फ उन्मुख हुँदै जानु आम नेपालीका लागि दुर्भाग्य नै मान्नु पर्दछ ।

राष्ट्रहित भन्दा पनि व्यक्तिगत स्वार्थले काम गरेको अहिलेको अवस्थामा नेकपाका दुवै समूहले व्यक्त गर्दै आएको अभिव्यक्तिमा राजनीतिक चरित्र देखिँदैन । एकले अर्काको चरित्र हत्या गर्ने नीतिले न नेताहरुकै कल्याण हुने देखिन्छ न मुलुकको कल्याण हुने देखिन्छ । मुलुकलाई अस्थिर बनाईराख्न नेकपामा विभाजित भएको ओली गुट तथा प्रचण्ड–नेपाल गुट उत्तिकै दोषी देखिन्छन् ।

हिजो १७ हजार मानिसलाई बलिवेदीमा चढाएर शान्तिपूर्ण राजनीतिमा आएको पूर्वमाओवादी होस् वा झापामा मान्छे काटेर नेपाली राजनीतिमा स्थापित भएको पूर्वएमाले होस् यिनीहरुको अहिले चरित्र हेर्दा मुलुकमा स्थायित्व, विकास निर्माण चाहेकोे देखिँदैन ।

व्यक्तिगत कुण्ठालाई राजनीतिरूपमा प्रयोग गरेर मुलुकलाई अधोगतितर्फ धकेल्ने ती नेताहरुलाई जनताले समयमा नै चिन्न सकेनन् भने मुलुक विदेशीको भकुण्डो खेल्ने मैदानमा परिणत नहोला भन्न सकिन्न । अहिले देखिएको राजनीतिक परिदृश्यले पनि नेपालमा शान्ति र स्थिरता चाहने समूहभन्दा यसलाई कमजोर बनाउने समूह बलियो हुँदै गएको आभाष हुन थालेको छ ।

मुलुकको सार्वभौमिकतामाथि नै धावा बोल्नेहरु छरपस्ट हँुदा पनि मुलुकका सबै राजनीतिक दल आ–आफ्नो डम्फु बजाउनमै व्यस्त हुनुले पनि मुलुक कता जाँदै छ भन्ने स्पष्ट भएको छ । अहिलेको जटिल अवस्थालाई ध्यानमा राखेर जनता आफैं सचेत हुँदै दलहरुलाई खबरदारी गर्ने समय आएको छ । मुलुकको अस्तित्वका लागि जनता नै सचेत हुनुपर्ने बेला आएको छ ।

मुख्य सचेतना कहाँनिर भने, सशस्त्र विद्रोहले नयाँ स्थायी परिवर्तन ल्याउँछ, लोकतन्त्र र प्रगतिशीलताको प्रवद्र्धन गर्छ भन्ने जो मान्यता थियो, त्यो ओली, प्रचण्ड, नेपाललगायतका कम्युनिस्ट भनिने नेताहरुकै कारण धराशयी बनेको छ । शान्तिपूर्ण संक्रमण सम्झौता परस्त हुन्छ, खासै परिवर्तन हुँदैन भन्ने तर्क फितलो बनेको छ । साम्यवादी आन्दोलनका लागि यो जबरजस्त धक्का हो । ओलीले संसद्भित्रै अविश्वासको सामना गर्ने हिम्मत नदेखाउँदा समुच्चा आन्दोलन प्रभावित बन्यो ।

प्रतिक्रिया दिनुहोस्