रक्सौल डिपोबाट इन्धनको आयात बन्द



नेपमल समाचारपत्र, वीरगन्ज ।

सुरक्षाका कारण देखाउँदै भारतको रक्सौलमा रहेको इन्डियन आयल कर्पोरेसन ९आईओसी० ले इन्धनको डिपो बन्द गरेको छ । आईओसीले दुई वर्षभन्दा बढी समयदेखि सुरक्षाका कारण देखाउँदै डिपो सञ्चालनमा समस्या भएको जनाउँदै आएको थियो ।

आईओसीले समस्या भएको लामो समयदेखि जानकारी गराएको भन्दै निगमले डिपोबाट पेट्रोलियम पदार्थको आयात बन्द गर्ने निर्णय गरेको जनाएको छ । डिपो बन्द गर्ने निर्णयपछि रक्सौल डिपोबाट पेट्रोलियम पदार्थ आयात गरिरहेका बारा र पर्साका पेट्रोलियम व्यवसायीले नेपाल आयल निगमको २ नम्बर प्रादेशिक कार्यालयमा खरिदको व्यवस्था मिलाएको प्रदेश नम्बर २ को निगमको अमलेखगन्जस्थित कार्यालयले जनाएको छ ।

निगमका अनुसार यसअघि रक्सौल नाकाबाट लोड लिई निगमको वीरगन्ज शाखा कार्यालयबाट बिलिङ गर्दै आएको पेट्रोलियम पदार्थका अधिकृत विक्रेताले अब २ नम्बर प्रादेशिक कार्यालयबाट पेट्रोलियम पदार्थ लिने र बिलिङ गर्नुपर्ने हुन्छ । निगमले लागू गरेको नयाँ व्यवस्थाका सम्बन्धमा केही अन्योल उत्पन्न भएपछि निगमको केन्द्रीय कार्यालय बबरमहलबाट गएको टोली तथा बारा र पर्सा पेट्रोलियम डिलर्स एसोसिएसन तथा स्थानीय प्रशासनबीच छलफलसमेत गरिएको थियो ।

मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको अधिकतम उपयोग नहुँदासम्म अथवा इन्डियन आयल कर्पोरेसनले मोतिहारी डिपोको संरचना निर्माण कार्य पूरा नभएसम्म पेट्रोलियम पदार्थको सहज आपूर्ति नहुने तथा निगमको लागत बढ्ने पेट्रोलियम डिलर्स एसोसिएसनले जनाएको छ ।

गएको डिसेम्बरमा अमलेखगन्ज डिपोबाट १ लाख किलोलिटरभन्दा बढी पेट्रोलियम पदार्थ आपूर्ति गर्न रक्सौल डिपोबाट ४० हजार किलोलिटर र पाइपलाइनबाट ६० हजार किलोलिटर आयात भएको निगमले जनाएको छ । रक्सौल डिपोबाट पेट्रोलियम पदार्थ ल्याउन बन्द भएपछि बारा र पर्साका अधिकृत बिक्रेताले पेट्रोलियम पदार्थ डिलर्स एसोसियसनको समन्वयमा प्रदेश नं २ प्रादेशिक कार्यालयबाट खरिद गर्ने सहमति भइसकेको र आफूहरुले त्यसैअनुसार सोमबारबाट नै इन्धनको लोड–अनलोड गरिरहेको नेपाल पेट्रोलियम पदार्थ एसोसिएन पर्साका अध्यक्ष विनोद चौरसियाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्