राजस्व असुलीमा भन्सार असफल



कृष्णउदास खनाल, वीरगन्ज ।

भन्सार नाका वीरगन्जले चालू आर्थिक वर्षको ६ महिनाभित्रमा लक्ष्य अनुसारको राजस्व असुलीमा असफल भएको छ । यो भन्सार कार्यालयले साउनदेखि पुससम्मको अवधिमा लक्ष्यको ८६ प्रतिशत राजस्व संकलन गरेको छ । भन्सार अधिकृत रमेश सुकमनीका अनुसार ६ महिनामा ७३ अर्ब ५५ करोड ४४ लाख रुपियाँ राजस्व उठेको छ ।

वीरगन्ज भन्सारलाई यो अवधिका लागि ८५ अर्ब ५१ करोड ३४ लाख रुपियाँ राजस्व उठाउने लक्ष्य दिइएको थियो । उक्त राजस्व लक्ष्य गत आव २०७६/७७ को समीक्षा अवधिको तुलनामा १२ अर्ब रुपियाँ कम हो । कोरोना महामारीका कारण आयात, आवागमन, उत्पादन र आपूर्तिमा परेको असरका कारण भन्सारले लक्ष्यअनुसार राजस्व उठाउन नसकेको अधिकृत सुकमनीले बताउनुभयो ।

वीरगन्ज नाकाबाट हुने आयात निर्यात विस्तारै लयमा फर्किइरहेकाले आगामी महिनामा राजस्वमा सुधार आउने भन्सारले जनाएको छ । यो भन्सारले चालू वर्षको ६ महिनामा पैठारी महशुल २८ अर्ब रुपियाँ उठाएको छ । निकासीबापत ७२ लाख रुपियाँ राजस्व लिएको छ । मूल्य अभिवृद्धिकर २५ अर्ब ४४ करोड रुपियाँ संकलन भएको छ ।

अन्तःशुल्क ८ अर्ब ६६ करोड उठाएको भन्सारले पेट्रोलियम पदार्थको आयातमा पूर्वाधार कर ६ अर्ब ८८ करोड र सडक निर्माण तथा सडक सुधार दस्तुर शीर्षकमा ३ अर्ब ८३ करोड रुपियाँ उठेको भन्सारले जानकारी दिएको छ । यो वर्ष राजस्वमा योगदान दिने अधिकांश वस्तुको आयात घटेकाले त्यसको प्रभाव राजस्वमा देखिएको भन्सारको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्