नेपाल ओपनका तीन विधामा प्रायोजन



काठमाडौं, (नेस)

विभिन्न ६ संस्थाको आयोजनामा हुन लागेको नेपाल ओपन अन्तर्राष्ट्रिय भर्चुअल पुम्से तथा हाई स्पिड किक तेक्वान्दो प्रतियोगिताको मुख्य तीन विधाले प्रायोजन पाउने भएको छ । तीनजना तेक्वान्दोकर्मीले दिइने प्रायोजनमा परेका ती विधामा ‘मोस्ट पपुलर प्लेयर’ तथा ‘उत्कृष्ट पुरुष’ र ‘उत्कृष्ट महिला’ खेलाडीको पुरस्कार रहेका हुन् ।

युट्युबमा सर्वाधिक हेरिएको खेलाडीको भिडियोका आधारमा चयन गरिने ‘मोस्ट पपुलर प्लेयर’ को पुरस्कार राशी १ सय ५० अमेरिकी डलर युनिटी तेक्वान्दो एकेडेमी, हङकङका अध्यक्ष दिल गुरुङले प्रायोजन गर्ने जनायो । उत्कृष्ट पुरुष खेलाडीको पुरस्कार अमेरिकामा बस्दै आएका पूर्वतेक्वान्दो खेलाडी गणेश थापा तथा उत्कृष्ट महिला खेलाडीको पुरस्कार धनुषाको लालगढ निवासी पूर्वतेक्वान्दो खेलाडी तिलक लामाले उपलब्ध गराउने छन् ।

दुवै विधाको पुरस्कार राशी जनही १ सय अमेरिकी डलर रहेको छ ।आयोजकले प्रतियोगितामा आर्थिक सहयोग गर्ने विभिन्न देशी विदेशी सहयोगीहरूको नाम पनि सार्वजनिक गरेको छ । आयोजकका अनुसार प्रेमकुमार दर्नाल (साउदी अरब) ले ६ हजार, राष्ट्र राई (युके) ले १५ हजार, घनश्याम गुरुङ (साउदी अरब) ले ५ हजार, गणेश गुरुङ (हङकङ) ले १० हजार, सुशीलकुमार श्रेष्ठ (जापान) ले ५ हजार, मकाउ तेक्वान्दो टिमले २० हजार, राकेश केसी (मकाउ) ले २५ हजार, अभय श्रेष्ठ (युएई) ले ५ हजार र पञ्च राना मगर (जापान) ले १० हजार उपलब्ध गराएका छन् ।

त्यस्तै, देउकाजी गुरुङ (हङकङ) ले ५ हजार, कुवेर सापकोटा (नेपाल) ले १० हजार, रवीन्द्र खड्गी (नेपाल) ले १० हजार, कुमार कार्की (अमेरिका) ले १० हजार, धीरज गुरुङ (युके) ले १५ हजार, विशाल खड्गी (अस्ट्रेलिया) ले १० हजार र नवराज पुडासैनी (नेपाल) ले १० हजार सहयोग गरेका छन् ।

अन्य सहयोगीहरू थपि“दै गएपछि सार्वजनिक गरिने आयोजकले जनाएको छ । प्रतियोगिता कोटेश्वर तेक्वान्दो डोजाङ, स्युचाटार तेक्वान्दो डोजाङ, मूलपानी तेक्वान्दो डोजाङ, बाल गीताञ्जली स्कुल, मोर्निङ ग्लोरी स्कुल र काभ्रेस्थली तेक्वान्दो डोजाङको संयुक्त आयोजनामा माघ १३ र १४ गते हुँदै छ ।

पुम्सेमा ६० र हाई स्पिड किकमा ३० गरी जम्मा ९० स्पर्धामा प्रतिस्पर्धा हुनेछ । हाई स्पिड किकको प्रतियोगिता नेपालमै पहिलोपटक हुन लागेको आयोजकले जनाएको छ । प्रतियोगितामा विभिन्न २९ राष्ट्रका १ हजार ३ सय खेलाडीको सहभागिता रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्