कोभिडदेखि डराएर विमानस्थलमा लुक्ने पक्राउ



वासिङ्टन, (एजेन्सी)

अमेरिकी सुरक्षा निकायले कोभिड–१९ संक्रमणको भयको कारण विमान चढ्न डराएका एकजना पुरुष विगत तीन महिनादेखि सिकागो अन्तर्राष्ट्रिय विमानस्थलको अरुको ध्यान नपुग्ने एक सुरक्षित स्थानमा बसिरहेको पाइएको बताएको छ । विमानस्थलका कर्मचारीहरूले परिचय–पत्र खोज्ने क्रममा ३६ वर्षीय ‘आदित्य सिंह’ नामक ती व्यक्ति शनिबार पक्राउमा परेका थिए ।

उनले परिचय–पत्र मागिँदा आफूले धारण गरेको एउटा ब्याच देखाएका थिए । वास्तवमा त्यो ब्याच एकजना अपरेसन म्यानेजरको रहेछ । त्यो ब्याज गत अक्टोबरदेखि हराइरहेको बुझिएको छ । प्रहरीका अनुसार आदित्य १९ अक्टोबरमा लस एन्जल्सको एक उडानबाट ओ हेयर अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका थिए ।

सिकागो ट्रिब्युनका अनुसार राज्यका सहायक न्यायाधिवक्ता क्याथलिन ह्यागर्टीले उनले सो कर्मचारीको ब्याच विमानस्थलमा फेला पारेका र कोभिडको डरका कारण घर जान डराएको बताएकी छन् । अन्य यात्रुहरूले दिने रकम सहयोगबाट आफूले जीवनयापन गर्दै आएको आदित्यले अदालतसमक्ष बताएका छन् । तर, प्रहरीका अनुसार लस एन्जेल्सको एक उपनगरमा बसोबास गर्दै आएका आदित्यको कुनै पूर्वआपराधिक अभिलेख छैनन् । उनी दक्षिणी एसियन मूलका रहेको बताइएको छ । तर, आधिकारिकरुपमा उनको परिचय भने खुलिसकेको छैन ।

तर, सिकागोमा उनी के गर्न आएको भन्ने स्पष्ट हुन सकेको छैन । उनीविरुद्ध बिनाअनुमति विमानस्थलको संवेदनशील क्षेत्रमा बसेको र चोरीको अभियोग लगाइएको छ । तर, सिकागो उड्ययन विभागले यस घटनासम्बन्धी अनुसन्धान भइरहेको तथा उनका कारण विमानस्थलमा कसैलाई कुनै खतरा नपुगेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्