ज्येष्ठ नागरिक साक्षर कक्षालाई युनेस्को पुरस्कार



नेपाल समाचारपत्र, काठमाडौं ।

युनेस्कोले ज्येष्ठ नागरिकलाई साक्षर बनाउने अभियानमा संलग्न एजिङ नेपाल नामक संस्थालाई किङ सेजोङ साक्षरता पुरस्कार प्रदान गरेको छ । विश्वका दुई देशका संस्थाले पाएको सो पुरस्कारमध्ये नेपालको सो संस्थाले २० हजार अमेरिकी डलर राशिको पुरस्कार पाएको हो ।

सन् २०२० का लागि प्रदान गरिएको सो पुरस्कार बेलायतको वल्र्ड स्कुलले पनि पाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री कृष्णगोपाल श्रेष्ठले एजिङ नेपालका अध्यक्ष कृष्णमुरारी गौतम (चट्याङ् मास्टर)लाई किङ् सेजोङ् युनेस्को पुरस्कार हस्तान्तरण गर्नुभएको थियो ।

पुुरस्कार वितरण कार्यक्रममा मन्त्री श्रेष्ठले नेपाली संस्थाले यति ठूलो राशिको पुस्कार पाउनु गौरवको विषय भएको बताउनुभयो। उहाँले भन्नुभयो– ‘ज्येष्ठ नागरिकको शिक्षामा सहयोग पु-याउन एजिङले गरेको योगदान महत्वपूर्ण छ । यो नेपालकै लागि गौरवको विषय हो ।’

कार्यक्रममा युनेस्को नेपालका आवासीय प्रतिनिधि क्रिस्टेन मेनहार्टले साक्षरता उन्मूलन गर्न नेपालले गरेको योगदान महŒवपूर्ण रहेको चर्चा गर्दै यो पुरस्कारले नेपालको शान बढेको बताउनुभयो । कार्यक्रममा शिक्षा सचिव गोपीनाथ मैनालीले पुरस्कृत संस्थाले गरेको योगदानको प्रशंसा गर्दै सरकारले थप सहयोग गर्ने बताउनुभयो ।

पुरस्कारका लागि विश्वभरिका ७६ संस्थाहरुको सिफारिस परेको थियो । कोरियाका चौथो राजा सेजोङको नाममा सो पुरस्कार स्थापित भएको हो । पुरस्कार सन् १९८९ मा स्थापना भएको थियो । एजिङ नेपाल नामक संस्थाले ज्येष्ठ नागरिक आधारभूत शिक्षा पाठ्यक्रमसमेत तयार गरी ज्येष्ठ नागरिकलाई साक्षर बनाउँदै आएको छ । संस्थाले बूढानीकण्ठ, गोकर्णेश्वरलगायत स्थानमा अनौपचारिक शिक्षाका कार्यक्रम सञ्चालन गर्दै आएको छ । संस्थाले हालसम्म १ सय ८० जना महिलालाई साक्षर बनाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्