नेपालमा नयाँ प्रजातिको कोरोना भाइरस पुष्टि

तीन जनामध्ये दुईमा नेगेटिभ, एक अझै संक्रमित



नेपाल समाचारपत्र, काठमाडौं ।

नेपालमा पनि नयाँ प्रजातिको कोरोना भाइरस (भेरियन्ट) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उल्लेख गरेको छ । गत पुस महिनामा बेलायतबाट फर्किएका व्यक्तिमा नमुना परीक्षण गर्दा तीन जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले सोमबार जारी गर्नुभएको प्रेस विज्ञप्तिमा बेलायतबाट पुस १ गतेपछि नेपाल आएका २ सय ७७ जनामध्ये ६ जनामा गरिएको कोरोना परीक्षणमा एस जिन टार्गेट नेगेटिभ थियो ।

त्यसपछि स्वाब परीक्षणका लागि हङकङ पठाइएकोमा तीन जनामा नयाँ कोरोना भाइरस पोजेटिभ पाइएको हो ।
उक्त नमुना विश्व स्वास्थ्य संगठनको सहयोगमा पुस २७ गते हङकङ पठाइएको थियो । उक्त प्रजाति बेलायतमा देखिएको नयाँ भेरियन्ट लाइनएज बी.१.१.७ वा २० बि र ५०१ वाई.भी. वन हो ।

डा. गौतमले भन्नुभयो– ‘हामीले पठाएको नमुनामध्ये तीन जनामा संक्रमण पुष्टि भएको छ, २८ वर्षीया महिला, ६७ र ३२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । उहाँहरूमा बेलायतमा देखिएको प्रजातिको भाइरसको संक्रमण पुष्टि भएको हो ।’ संक्रमण पुष्टि भएका तीनमध्ये दुईजनाको रिपोर्ट नेगेटिभ आइसकेको छ । तर, ६७ वर्षीय पुरुषमा संक्रमण भए पनि लक्षण देखिएको छैन ।

नेपालमा खोप उपलब्ध नहुन्जेल उच्च सावधानी अपनाउनसमेत मन्त्रालयले अनुरोध गरेको छ । कोरोनाबाट बच्न सकेसम्म भीडभाडमा नजाने, जानु परे पनि दुई मिटरको दूरी कायम राख्ने, बाहिर जाँदा अनिवार्यरुपमा मास्क लगाउने र साबुन पानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्नु नै मुख्य रोकथामको उपाय भएकाले सबैले उक्त उपाय अपनाउन पनि अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्