टिपरलाई फेरी टाइम कार्ड लागू



यमलाल भुसाल, बुटवल ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले दुर्घटना न्यूनिकरण तथा ट्राफिक व्यवस्थापनका लागि पुन : टाइम कार्ड लागू गर्ने भएको छ ।

पाल्पाको दोभानदेखि बुटवलको धागो कारखाना, धागो कारखाना रामनगरदेखि सुनवल तथा दोभानदेखि भैरहवा अंञ्चलपुरसम्म टिपरका लागि पुन : टाइम कार्ड लागू गरेको हो । टाइम कार्ड लागूभएपछि दोभानदेखि धागोकारखाना रामनगरसम्मको ११ किलोमिटर दुरी प्रतिघण्टा २० किलोमिटरको गतीमा ३३ मिनेट समयमा पुग्नु पर्ने छ ।

यसैगरी धागो कारखानादेखि सुनवलसम्मको २३ किलोमिटर दुरीमा प्रतिघण्टा ३० किलोमिटरको गतीमा ४६ मिनेट तथा दोभानदेखि भैरहवा अंञ्चलपुरसम्मको २८ किलोमिटर दुरीका लागि प्रतिघण्टा ३० किलोमिटरको गतीमा ५६ मिनेटको समय तोकिएको छ ।
यस क्षेत्रमा सञ्चालनमा रहेका टिपरले अनिवार्य रुपमा टाइमकार्ड प्रयोग गरी चेक प्वाइन्टहरुमा देखाउनु पर्ने लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले सोमबार आफ्नै कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी टाइम कार्ड र ट्राफिक प्रहरीका अन्य गतिबिधिबारे जानकारी गराएको हो ।

कार्यक्रममा लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख,प्रहरी उपरीक्षक डम्मर बहादुर बि.क.ले टाइम कार्ड लागू भएसँगै दुर्घटना न्यूनिकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । टाइमकार्ड लागूसँगै ट्राफिक व्यवस्थापन तथा दुर्घटना न्यूनिकरणका लागि बुटवल–भैरहवा लगायतका सडकमा सवारीका साधनहरुको लेन प्रयोग सम्बन्धि सचेतना अभियान सञ्चालन गरिने प्रहरी उपरीक्षक बिकले जानकारी दिनुभयो ।

यसअघि प्रहरी उपरीक्षक मधुसुदन लुइटेलको कार्यकालमा लागु भएको टाइमकार्ड कोरोना संक्रमणको जोखिमका कारण भएको लकडाउनसँगै निस्क्रिय भएको टाइमकार्ड पुन सुरु गर्न लागिएको हो ।

ओभरलोड बोक्ने टिपर तथा भारतीय नम्बर प्लेटका सवारी साधनहरुलाई कारबाही नगरिएको बिषयमा पत्रकारहरुले राखेको जिज्ञासमा प्रहरी उपरीक्षक बिकले ओभरलोड बोक्नेलाई जरिवाना तिराउनेबाहेक ट्राफिक प्रहरीलाई अरु अधिकार नभएको प्रतिक्रिया दिनुभयो ।

टाइमकार्ड सँगै ६ लेन सडकमा यात्रुबाहक सवारी साधन तथा मालवहाक सवारी साधनहरुले आफ्नो गतीअनुसार प्रयोग गर्ने लेनका बारेमा प्रयोग गर्न सिकाइने उहाँले बताउनुभयो । विभिन्न ठाउँमा सडकको प्रयोग तथा नियम बारे भिडियो तथा होर्डिङ बोर्डहरु राखी सचेतना फैलाउनुका साथै नियम विपरित जानेलाई कारबाही गरिने वि.क.को भनाई रहेको छ । यसैबीच लुम्बिनी प्रदेशमा पछिल्लो ६ महिनाको अवधिमा सवारी दुर्घटनामा वृद्धि भएको छ । ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार गत वर्षको साउन देखि पुस मसान्तसम्म ६ महिनाको अवधिमा ५६६ सवारी दुर्घटना भएकोमा चालु आर्थिक वर्षको साउन देखि पुस मसान्तसम्म ६३७ दुर्घटना भएका छन् । यो संख्या अघिल्लो वर्षको अवधिको भन्दा १२ दशमलव ५४ प्रतिशतले बढी हो । प्रदेशमा गत वर्षको अघिल्लो ६ महिनामा २७६ जनाले सडक दुर्घटनामा ज्यान गुमाएकोमा चालु वर्षको ६ महिनामा २५६ जनाले ज्यान गुमाएको ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा जनाइएको छ ।

ट्राफिक कार्यालयको तथ्याङ्क अनुसार सडक दुर्घटनामा परी गत वर्षको अघिल्लो ६ महिनामा ८८१ जना घाइते भएकोमा चालु वर्षको पछिल्लो ६ महिनाको अवधिमा ९२४ जना घाइते भएका छन् । यो संख्या अघिल्लो वर्षको तुलनामा ४ दशमलव ८८ प्रतिशतले बढी हो ।

प्रतिक्रिया दिनुहोस्