प्रदेश १ विरुद्धको खेलमा गण्डकी विजयी



काठमाडौं । चाैंथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलमा गण्डकी प्रदेश विजयी भएको छ ।

गण्डकीले प्रदेश नं १ लाई दुई विकेटले पराजित गरेको हो । मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्दै प्रदेश १ ले गण्डकीसामु जितका लागि १०३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । उक्त लक्ष्य गण्डकीले ३७ ओभरमा आठ विकेट गुमाउँदै पूरा ग¥यो । गण्डकीका लागि प्रारम्भिक ब्याट्सम्यान अर्जुन कुमालले ६८ बलमा ३५ रन बनाउनुभयो । यसक्रममा उहाँले पाँच चौका हिर्काउनुभयो । यस्तै दीपक डुम्रेले ९४ बलमा चार चौकासहित ३५ रनको योगदान दिनुभयो । यस्तै अभिषेक थापाले अविजित रहँदै १३ रन बनाउनुभयो ।

बलिङतर्फ प्रदेश १ का लागि शुभाङ्कर उराव र मिनास थापाले दुई दुई तथा दीपेश कँडेल र हेमन्त राईले एक एक विकेट लिनुभयो । यसअघि टस जितेर ब्याटिङ गर्दै प्रदेश १ ले २७ दशमलव चार ओभरमा सबै विकेट गुमाएर १०२ रन मात्र बनायो । प्रदेश १ का लागि कप्तान सिद्धान्त लोहनीले ३१ बल खेल्दै एक छक्का र एक चौकाको मद्दतमा २४ रन बनाउनुभयो ।

यस्तै मिनास थापाले ३४ बलमा चार चौकासहित २२ तथा शुभाङ्कर उरावले १२, दीपक पासवानले ११ र दिपेश कँडेलले १० रन बनाउनुभयो । बलिङतर्फ गण्डकी प्रदेशका लागि सुवास भण्डारी र विशाल पौडेलले चार÷चार तथा विपीन खत्रीले दुई विकेट लिनुभयो ।

प्रतिक्रिया दिनुहोस्