संसद विघटन विरुद्ध विवेकशीलको विरोध प्रदर्शन (फाेटाेफिचर)



माघ  । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रूपमा संसद विघटन गरे पश्चात् विवेकशील पार्टीले प्रमको उक्त कदमलाई संविधान माथिको प्रहार र लोकतन्त्र मास्ने कदमको रूपमा लिई पुष ६ गतेदेखि नै विभिन्न सिर्जनात्मक स्वरूपमा माइतीघर मण्डलमा लगातार प्रदर्शन गर्दै आएको छ। आज प्रदर्शन सुरु गरेको एक महिना पुगेकोमा महिनाभरि गरेका उल्लेखनीय गतिविधिहरूलाई पुनः दोहोऱ्याई विरोधको पहिलो चरणको कार्यक्रमको समापन गरेको छ ।

हामीले महिना दिनमा तल दिइएका कार्यक्रमहरू गऱ्यौँ:

१) प्रम ओली तथा राष्ट्रपति विद्यादेवी भण्डारीको अधिनायकवादी सोचलाई संकेत गर्दै अधिनायकवादको श्रीपेचु बनाएर लगाई प्रदर्शन गऱ्यौँ ।

२) अहिले कोरोना महामारी नियन्त्रणमा ध्यान दिनु पर्नेमा संवैधानिक व्यवस्थालाई शक्तिको बलमा तहसनहस पार्न लागेकोमा घडी बनाएर अहिले भ्याक्सिनको समय हो प्रमज्यू, कू मतिमा नलाग्नुहोस् भनी प्रदर्शन गऱ्यौँ । प्रमले राष्ट्रिय सभाको रोष्ट्रममा थुकेको विषयलाई लिएर सार्वजनिक शिष्टाचार तथा कोरोना नियन्त्रणको लागि जथाभावी नथुक्न दाँत माझेर विरोध गऱ्यौँ ।

३) अहिले चेतना, विकासको दृष्टिले समाज र देशको जुन अवस्था छ, हामी नागरिक, समाज, राजनीतिक दलका नेतृत्वमा रहेका तथा सरकारमा रहेकाहरूले आत्मसमीक्षा गरौँ भनी ऐना लिएर प्रदर्शन गऱ्यौँ । त्यसैको एक अंग स्वरुप शारीरिक स्वस्थता तथा आत्मशुद्धिको लागि योग गर्यौं ।

४) संसद विघटन सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकोमा सार्वभौम नागरिकको साथ छ, सर्वोच्च अब तिम्रै आश छू भनी अदालतलाई नागरिकको तर्फबाट आड भरोसा प्रदान गऱ्यौँ ।

५) शैशवकालमा रहेको लोकतन्त्रलाई नै मर्ने कोशिश भएको महसुस गरी गमलामा रहेका साना बिरुवालाई बोकी लोकतन्त्रको बिरुवा नमारू भनी प्रदर्शन गऱ्यौँ ।

साथै संसद विघटन विरुद्ध यस क्रममा नागरिक समाज तथा अन्य राजनीतिक दलले गरेका कार्यक्रममा पनि हामीले सक्रिय सहभागिता जनायौँ ।

आज माइतीघर मण्डलमा तिनै प्रदर्शनलाई पुनः दोहोऱ्याई सबैको ध्यानाकर्षण गऱ्यौँ ।

महिना दिनको यस कार्यक्रमको दौरानमा हाम्रा निष्कर्षहरू यसप्रकार रहेका छन्  :

१) शैशवकालमा रहेको लोकतन्त्रलाई जोगाउनुपर्नेले नै यसमाथि घात गरेका छन् ‌। यस कदमले देशले सात दशकमा पाएको संविधान सभाबाट निर्मित संवैधानिक व्यवस्थालाई भताभुङ्ग पार्छ । यसले देशका संस्थाहरूको विश्वसनीयता घट्छ र कानूनको कार्यान्वयन हुने कुरामा शंका उत्पन्न गर्छ । जसले गर्दा देशमा काम गर्ने वातावरण झन् बिग्रन्छ र विशेष गरी युवा लगायत सबै देशबाहिर आफ्नो भविष्य खोज्न थाल्छन् ।

२) लोकतन्त्रलाई जोगाउनु निरन्तरको प्रक्रिया हो र त्यसमा हामी नागरिकहरूको सक्रियता जरुरी रहेको छ । हाम्रो सक्रियता जति हुन्छ, लोकतन्त्र पनि त्यही स्तरमा मजबुत हुँदै जान्छ ।

३) हाम्रो समाजको चेतना, विकासको स्थिति आदिमा हामी किन यहाँ छौँ भन्नेमा नागरिक, समाज, राजनीतिक दलका नेतृत्वमा रहेका तथा सरकारमा रहेकाहरूले आत्मसमीक्षा गरेर अगाडि बढ्दा मात्रै समाज अगाडि बढ्ने र लोकतन्त्रले दिने अपेक्षा गरिएको सामाजिक न्याय सहितको सेवा प्रवाह हासिल हुने देखिन्छ ।

एक महिनाको कार्यक्रमको समाचार संकलन गर्न सञ्चार माध्यमले दिएको साथलाई धन्यवाद दिँदै आगामी दिनमा पनि साथ सहयोग मिल्ने आशा विवेकशील पार्टीले राखेको छ ।

 

प्रतिक्रिया दिनुहोस्