तालिवानी नेताद्वारा बहुविवाह र तडक–भडकमा कडाइ



काबुल, (एजेन्सी)

अफगानी लडाकु तालिवान समूहका नाइकेले आफ्ना मातहतका अधिकारीहरूलाई एकजना महिलासँग मात्र विवाह गर्नुपर्ने अभियान चलाउन आदेश दिएका छन् । मुल्लाह हाइवतुल्लाह आखुन्दजादाको मूल उद्देश्य दुलही खरिद र अनावश्यक रूपमा विवाह संस्कार र भोजमा गरिने तडक–भडकका कारण हुने खर्च र त्यसैका लागि हुने भ्रष्टाचार तथा आर्थिक अनियमितता रोक्नु रहेको जनाएको छ ।

उनको अर्को उद्देश्य यसरी तडक–भडक तरिकाले विवाह गरेर बदनाम भइरहेका तालिवान नेताहरूको छवि सुधार्नु पनि रहेको बताइएको छ ।

यसै महिनाको शुरूमा ‘भ्वाइस अफ अमेरिका’लाई पठाइएको एक लिखित सन्देशमा उनले भनेका छन्, ‘हामी इस्लामिक इमिरेटका अधिकारीहरूलाई इस्लामिक सरिया कानुनअनुासर यदि, आवश्यकता नभएको खण्डमा दोश्रो, तेश्रो र चौथो विवाह नगर्न निर्देशन दिन्छौं ।’

तालिवान अधिकारीहरूलाई आफ्ना मातहतका अन्य व्यक्तिहरूलाई पनि विवाहमा हुने खर्च घटाउन यही निर्देशन जारी गरिदिन आह्वान गरिएको छ ।

अफगानहरूमाथि भव्य तरिकाले विवाह भोज गर्ने र दुलही पक्षलाई ठूलो धनराशि बुझाउनुपर्ने सामाजिक दबाब रहेको छ । साथै, बहुविवाह गर्दा धेरैजसो पतिले आफ्ना पत्नीहरूलाई छुट्टाछुट्टै घरमा राख्ने गर्दा थप खर्च हुने गरेको छ । विवाहमा दुलहाले दुलही पक्षलाई अधिकतम १९ हजार पाउन्डसम्म तिर्ने गरेका छन् । जसले गर्दा गरिबहरू मर्कामा पर्ने तर राज्यको ठूला पदमा बसेकाहरूले बढी मात्रामा आर्थिक अनियमितता गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्