संविधानअनुसार नै संसद् विघटन : प्रधानमन्त्री ओली



नेपाल समचारपत्र, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेपालको संविधानको धारा ७६ को उपधारा १ र ७, धारा ८५ अनुसार प्रतिनिधिसभा विघटन गरेको बताउनुभएको छ । उहाँले देश बरबाद हुनबाट बचाउन आफूले प्रतिनिधिसभा विघटन सिफारिस गरेको दाबी पनि गर्नुभएको छ ।

राजधानीमा आइतबार अखिल नेपाल महिला संघ (अनेमसं)को दोस्रो केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसद् विघटन संविधान, गणतन्त्र र राष्ट्रको पक्षमा भएको दाबी गर्नुभयो । उहाँले संसद् विघटनबारे आफू जबाफ दिन तयार रहेको बताउनुभयो । ‘संविधानको धारा ७६ (७) र धारा ८५ अनुसार सिफारिस गरिएको छ । राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय अभ्यासका आधारमा सिफारिस गरिएको छ।’ –उहाँले भन्नुभयो ।

संसद् विघटन प्रधानमन्त्रीले गरे पनि राष्ट्रपतिमाथि हमला गरिएको बताउँदै प्रधानमन्त्री ओलीले हिजो नक्कली राजालाई दाम चढाउनेले गणतन्त्रमाथि हमला गरेको आरोप लगाउनुभयो । उहाँको कटाक्ष पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि थियो ।
स्वतन्त्र न्यायालय र निर्वाचन आयोगलाई हमला गरिएको बताउँदै उहाँले न्यायाधीशले प्रधानमन्त्रीलाई भेटेको भनेर न्यायालय कमजोर पार्ने प्रयास भएको बताउनुभयो ।

‘निर्वाचनको तयारी गरिरहेको निर्वाचन आयोगलाई अहिले धम्की दिने काम भइरहेको छ।’ –उहाँले भन्नुभयो । पार्टी र आन्दोलनमा एउटा महान् शुद्धीकरण आवश्यकता रहेकोमा अहिले त्यो प्राप्त भएको उहाँको भनाइ थियो । उहाँको आशय शुद्धहरु आफ्नो पक्षमा रहेको र अशुद्धहरु प्रचण्ड–नेपालपक्षमा गएको भन्ने देखिन्थ्यो ।

तस्वीर स्रोत : सेतोपाटी

प्रतिक्रिया दिनुहोस्