अपाङ्गता भएका महिलाहरुको पहुँच र अधिकारका लागि पहल



मोतीराम तिमल्सिना, काभ्रे ।

अपाङ्गता भएका ब्यक्तिहरुको समावेशिता, पहुँच र सशक्तिकरणमा संचारमाध्यमको भूमिकाका सन्र्दभमा जिल्लाका संचारकर्मीहरुसँग नेपाल अपाङ्ग महिला संघ काभ्रेले जिल्लाका संचारकर्मीहरुसँग छलफल गरेको छ ।

अध्यक्ष शर्मिला मानन्धरले संचारमाध्यममा प्रयोग हुने भाषा, संचारकर्मीहरुले लेख्ने र बोल्ने शब्द तथा अपाङ्गता भएका महिलाहरुको अधिकारका लागि संचारमाध्यमहरुको भूमिकाका बारेमा जानकारी गराउनु भएको थियो । केन्द्रिय महासचिव मिना पौडेलले अपाङ्गता ब्यक्तिहरुको अधिकारसम्वन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिले गरेको ब्यवस्थाका बारेमा जानकारी गराउनु भएको थियो । अपाङ्गता भएका ब्यक्तिहरुको संस्थाले खेलेको भूमिका, निर्वाचन ब्यवस्थापन निकाय, नागरिक एवं राजनीतिक अधिकार सम्वन्धी अन्तराष्ट्रिय अभिसन्धि, मानव अधिकारको विश्वब्यापी घोषणापत्रका बारेमा संचारकर्मीहरुलाई जानकारी गराईएको थियो ।

नेपालको संविधानले मौलिक हकको धारा १८ मा समानताको हक, धारा ३८ मा महिलाको हक, धार ४३ मा सामाजिक सुरक्षाको हकको ब्यवस्था गरेको छ । ब्यवस्थापिकाको गठन सम्वन्धमा धारा ८४, प्रदेश सभाको गठन सम्वन्धमा धार १०६ र गाउँसभाको गठन सम्वन्धी धारा २२२ र २२३ मा ब्यवस्था गरेको छ । जसमा महिलाहरुको हक अधिकारसँगै असाहय, एकल महिला र अपाङ्गता भएका ब्यक्तिहरुलाई समावेश गर्न जोड दिईएको छ । अपाङ्गता भएका महिलाहरुले भोग्नु परेका समस्याका बारेमा पौडेल, मानन्धर र अधिकारकर्मी कृष्णप्यारी नकर्मी, जिल्ला महासचिव पम्फा पुर्काेटीले जानकारी गराउनु भएको थियो ।

देशभर स्थानीय तहमा चारजना अपाङ्गता भएका महिलाहरु जनप्रतिनिधि रहेको तथ्याङ्क प्रस्तुत गर्दै महासचिव पौडेलले सबै तहमा अपाङ्गता भएका महिलाहरुलाई सहभागिता गराई प्रतिनिधिमुलक ढंगबाट उहाँहरुको अधिकार स्थापित गरिनु पर्ने बताउनु भयो ।

स्थानीय तहबाट अपाङ्गता भएका ब्यक्तिहरुको परिचयपत्र वितरण गर्ने समयमा कार्यविधि र भोगाई फरक फरक हुँदा असहज भएको सहभागिहरुले बताएका थिए । संविधानको धारा ९४ मा सामाजिक सञ्जालमा कसैले पनि कुनै ब्यक्तिलाई जिस्क्याउने, झुक्याउने, होच्याउने, हतोत्साही गर्ने, हप्काउने, घृणा तथा द्धेष उत्पन्न गराउने वा प्रापकलाई भ्रमित पार्ने खालका सामाग्री प्रयोग गर्न नहुने उल्लेख छ । अपाङ्गता भएका ब्यक्तिहरुलाई त्यस्तो गरेको अवस्थामा कसुरदारलाई १५ लाख रुपैयासम्म जरिवना र पाँच वर्षसम्म कैद वा दुबै सजाँय हुने धारा २९ मा ब्यवस्था गरेको छ ।

अपाङ्गता भएका महिलाहरुलाई मतदानसम्वन्धी अधिकार, समानताको अधिकार, भेला हुन पाउने अधिकार, सार्वजनिक गतिविधिमा सहभागि हुन पाउने अधिकार उपलब्ध गराएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिनाले अपाङ्गता भएका महिलाहरु घरबाटै हिंसा र जोखिममा पर्ने गरेको, अधिकार स्थापनाका लागि स्थानीय सरकार र सरोकारवाला निकायहरुले नीतिगत निर्णय गरी कार्यान्वयन गर्नु पर्ने बताउनु भयो । नेपाल अपाङ्ग महिला संघ काभ्रेले युएसआईडीको सहयोगमा जिल्लाका बनेपा, धुलिखेल, पनौती, नमोबुद्ध, पाँचखाल र मण्डनदेउपुर नगरपालिका तथा बेथान्चोक र रोशी गाउँपालिकामा अधिकारका लागि अभियान कार्यक्रम शुरु गरेको छ । यो कार्यक्रम तेश्रो चरणमा संचालन भईरहेको महासचिव पम्फा पुर्काेटीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्