आफूले भर्ना गरेका पाँच बिद्यार्थीलाई नियमित सहयोग गर्दै अध्यक्ष तिमिल्सिना



दुर्गाप्रसाद शर्मा, पर्वत ।

पर्वतको कुस्माबजार स्थित शिबालय माबिको कक्षा ९ मा अध्ययनरत सुहानी नेपालीलाई शनिबार राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक शैक्षिकसत्रका लागि आवश्यक पर्ने रकम नगदै दिनुभयो । तिमिल्सिनाले आगामी शैक्षिकसत्र र चालु शैक्षिक सत्रमा लाग्ने सबै खर्चका लागि १० हजार नगद रकम दिदै गर्दा सुहानी खुसी थिइन ।

सुहानीले तीन बर्ष देखि अध्यक्ष तिमिल्सिनाको नियमित रुपमा सहयोग पाउँदै आएकी छन । नवजागृत माबि मोदी गाउँपालिका –६ मा अध्ययनरत अनुप जिसीलाई पनि अध्यक्ष तिमिल्सिनाले नगद हस्तान्तरण गर्नुभयो भने देउपुर नमुना माबिमा अध्ययनरत निकिता थापाले पनि आर्थिक सहयोग पाइन ।

तीन बर्ष पहिले मुलुकभर भर्ना अभियान चलेका बेला गृह जिल्लामा बिद्यार्थी भर्ना गर्नुभएका अध्यक्ष तिमिल्सिनाले यसरी नियमित रुपमा न बिद्यार्थीलाई लागेको खर्च नियमित रुपमा दिदै आउनुभएको छ । अध्यक्ष तिमिल्सिनाले बर्षमा दुई वा तीनपटक अभिभावक र बिद्यार्थीलाई नै भेटेर सहयोग गर्दै आउनु भएको छ ।‘भर्ना अभियानमा अभिभावकत्व ग्रहण गरेपछि नियमित रुपमा त्यो दायित्व पुरा गर्नुपर्छ भनेर सहयोग गर्दै आएको छ ।’

उहाँले भन्नुभयो ‘बिद्यार्थीको पठ्नपाठनमा सुधार आएको र नियमित बिद्यालय गएको सुनेपछि उनीहरुलाई सहयोग जारी राख्न उत्साह थप्दो रहेछ । ’शैक्षिकसत्रमा अध्ययनका लागि खर्चको कमी नहोस र नयाँ शत्रमा बिद्यालय जान बिद्यार्थीलाई प्रोत्साहन मिलोस भन्ने उद्देश्य राखेको अध्यक्ष तिमिल्सिनाको भनाई छ । अध्यक्ष तिमिल्सिनाले पर्वतमा तीन जना र पोखरामा दुई जना बिद्यार्थीलाई अभिभावकत्व ग्रहण गर्दै गत बर्ष बिद्यालयमा भर्ना गर्नुभएको थियो ।

तीन बर्ष पहिले बिद्यार्थी भर्ना अभियानका क्रममा देशभर बिद्यार्थीको जिम्मा लिएर बिद्यालय भर्ना गर्ने अभियान नै चल्यो । बिद्यार्थीलाई बिद्यालय भर्ना गर्दा आर्थिक सहयोग गर्ने देखि पोशाक, झोला र स्टेशनरी सम्म आँफैले बेर्होने भनेर भर्ना पनि गरियो ।

धेरैले आँफुले भर्ना गरेका बिद्यार्थीहरुका बारेमा पछिल्ला दिनमा चाँसो राख्न छाडेका छन तर राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले भने आफुँले भर्ना गरेका बिद्यार्थीलाई नियमित सहयोग गर्दै आउनुभएको छ ।

पोखराको धर्मस्थली निमाबिमा पढ्ने आकाश परियार र फेवा पब्लिक स्कुलमा पढ्ने भावना नेपालीलाई पनि शैक्षिकसत्रको शुरुवात, बिचमा र अन्त्यमा सहयोग गर्दै आउनुभएको छ । ‘मैले जिम्मा लिएका बिद्यार्थीलाई कम्तीमा दश कक्षा सम्म अध्यन गर्न लाग्ने नियमित खर्च बोर्होनेछु’ अध्यक्ष तिमिल्सिनाले भन्नुभयो ‘त्यसपछि पनि उच्च शिक्षाका लागि संभब भए सम्म सहयोग गर्ने मनस्थिति बनाएको छु’ ।

उहाँले बिद्यालयका प्रधानाध्यापक र अभिभावकलाई समेत बिचबिचमा सम्पर्क गरि बिद्यार्थीको सिकाईका बारेमा जानकारी लिदै आएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्