पूर्व–पश्चिम रेलमार्ग रेखांकनमा अवरोध



नेपाल समाचारपत्र, बारा ।

पूर्व–पश्चिम रेलमार्गअन्तर्गतकोे निजगढ–हेटौंडा–भरतपुर खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको क्रममा विवाद उत्पन्न भएको छ । निजगढ बजार क्षेत्रको मुख्य बस्ती प्रभावित हुने गरी रेलमार्ग बनाउन खोजेको भन्दै स्थानीयले विरोध गरेपछि रेखांकनको काम रोकिएको छ ।

रेलमार्गको रेखांकनमा आफ्नो जग्गा पर्ने भन्दै निजगढ नगरपालिका वडा नम्बर– ८ बृद्धचोकका स्थानीय सोमबार अवरोध गरेका थिए । उनीहरुले सर्वे कम्पनीका कर्मचारी र प्राविधिकलाई काम गर्न रोकेर फिर्ता पठाएका छन् । विकासको नाममा सरकारले जनतालाई सुकुम्बासी बनाउन खोजेकाले काम रोकेर प्रतिकार गरिएको स्थानीय युवा विष्णु खडकाले बताउनुभयो । सरोकारवालासँग समन्वय नै नगरी काम शुरु गरेपछि स्थानीय सशंकित बनेको उहाँको भनाइ छ ।

त्यसैगरी निजगढ नगरपालिकाका प्रमख सुरेश खनालले पनि वस्तीको बीचबाट नभई वस्ती पश्चिमको खोला किनाराबाट रेल्वेको रेखांकन गरिनुपर्ने बताउनुभयो । ‘बस्ती बीचबाट रेलवे ट्रयाक बनाउनु हुन्न, उहाँले भन्नुभयो–‘बकैया नदीको किनारबाट ट्रयाक लग्न सकिन्छ ।’ प्रमुख खनालले भन्नुभयो–‘जनताको घरबास उठ्ने विकास मान्य छैन ।’

नदीे किनार हुँदै रेलमार्ग निर्माण गरिए स्थानीयको घर, जमिन सुरक्षित हुनुका साथै नदी कटानबाट बस्ती समेत जोगिने उहा“को भनाइ छ । पूर्व–पश्चिम रेलमार्गको निजगढ–हेटौंडा–भरतपुर खण्डबाहेक अन्य खण्डको डीपीआर पूरा भइसकेको छ ।

यसअघि गरिएको उक्त खण्डको डीपीआरमा निकुञ्ज र वन्यजन्तु आरक्ष क्षेत्र परेपछि सरकारले पुनः डीपीआर गर्न लागेको हो । तर, अहिले स्थानीयको घरजग्गा पर्ने देखिएसँगै डीपीआर निर्माण प्रक्रियामा विवाद देखिएको छ । पूर्व–पश्चिम रेलमार्गअन्तर्गत बर्दिबासबाट पश्चिम र निजगढ पूर्वी खण्डमा ठेक्का सम्झौता भई निर्माण कार्य पनि अघि बढिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्