दाना–खुर्कोट प्रसारण लाइन अन्तिम परीक्षणको तयारीमा



नेपाल समाचारपत्र, म्याग्दी ।

कालीगण्डकी प्रसारण लाइन करिडोर आयोजनाअन्तर्गत २२० केभी क्षमताको दाना–खुर्कोट सब–स्टेशन परीक्षण गरी जोड्ने तयारी शुरु भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानादेखि पर्वतको खुर्कोट खण्डमा निर्माणको काम सकिएपछि अहिले पुनः परीक्षणको काम थालिएको हो ।

दाना र खुर्कोट सब–स्टेशनमा पहिलो चरणको परीक्षण सम्पन्न भएपछि दोस्रो चरणको परीक्षण भइरहेको कालीगण्डकी प्रसारण करिडोर आयोजनाले जनाएको छ । अहिले कुस्माको तल्लो मोदी १३२ केभी प्रसारण लाइनमा प्राविधिक नापजाँचलगायतका काम भइरहेको आयोजनाका सहायक निर्देशक महादेव भट्टराईले जानकारी दिनुभयो ।

तल्लो मोदी आसपासको क्षेत्रको अनुगमन तथा बाटोमा पर्ने रुख काट्ने तथा अन्य काम भइरहेको छ । दाना–खुर्कोट खण्डमा निर्माणका सबै कामलाई अन्तिम चरणमा पु-याइएको आयोजनाका सहायक निर्देशक भट्टराईले बताउनुभयो । उहा“का अनुसार खुर्कोटभन्दा अगाडि बुटवलसम्मको खण्डमा पनि आयोजना निर्माणको काम तीव्र गतिमा अगाडि बढाइएको छ ।

दानादेखि खुर्कोटसम्म यसअघि नै प्रसारण लाइन निर्माणका लागि आवश्यक टावर निर्माण तथा तार तान्नेलगायतका काम सकिएका छन् । म्याग्दीको दाना र पर्वतको खुर्कोटमा दुई सब–स्टेशन तथा त्यस बीचमा ११० वटा टावर निर्माण गरी ३९ दशमलव ६ किलोमिटर लामो तार टांगिएको छ ।

एसियाली विकास बैंकको तीन अर्ब रुपियाँ ऋण सहयोग तथा सरकारको करिब ८० करोड रुपियाँको लागतमा दाना–खुर्कोट खण्डमा प्रसारण लाइनको काम गरिएको आयोजनाका सहायक निर्देशक भट्टराईको भनाइ छ । कालीगण्डकी प्रसारण करिडोर आयोजना निर्माणका लागि जेभी अफ टाटा प्रोजेक्ट एण्ड चिन्ट इलेक्ट्रिक कम्पनीले निर्माणको जिम्मा पाएको हो ।

आर्थिक वर्ष २०७१/७२ मा निर्माण सम्झौता भई आव २०७५/७६ मा निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौता भए पनि आयोजना सम्पन्न गर्नका लागि डेढ वर्ष ढिलाइ भएको छ । निर्माणका क्रममा विभिन्न स्थानमा बाढीपहिरो, टावर ठड्याउने तथा तार तान्ने स्थानमा स्थानीयको अवरोध, मुआब्जा वितरणमा समस्या र कोरोनाका कारण गरिएको लकडाउनले तोकिएको समयमै आयोजना सम्पन्न हुन ढिलाइ भएको जनाइएको छ ।

हाल कालीगण्डकी करिडोर प्रसारण लाइन आयोजनाको दाना–खुर्कोट खण्डमा ९८ प्रतिशत काम सकिएको इलेक्ट्रिकल सब–इन्जिनियर निरञ्जन न्यौपानेले बताउनुभयो । दाना सब–स्टेशनमा ४२ मेगावाट क्षमताको मिस्त्री खोला र ५ मेगावाट क्षमताको घलेम्दी खोलाबाट उत्पादित विद्युत्सहित ४७ मेगावाट विद्युत् तुरुन्तै जोडिने भएको छ । यसपछि मुस्ताङको थापाखोलाको १३ दशमलव ६ मेगावाट विद्युत् पनि दाना सब–स्टेशन हुँदै केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ ।

प्रतिक्रिया दिनुहोस्