अविनाश चम्किँदा एपीएफको विजयी शुरुआत



नेपाल समाचारपत्र, काठमाडौं ।

‘प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिता’मा सशस्त्र प्रहरीको नेपाल एपीएफ क्लबले विजयी शुरुआत गरेको छ । शनिबार समूह ‘ए’ को पहिलो खेलमा एपीएफले प्रदेश १ टिमलाई १ सय ३६ रनले हराएको हो । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको सो खेलमा विभागीय टिमले २ सय ४४ रनको लक्ष्य दिएको थियो । तर, प्रदेश १ ले ४२.४ ओभरसम्म संघर्ष गर्दा पनि फराकिलो हार व्यहोर्न बाध्य भएको थियो ।

प्रदेश १ ले १ सय ८ रनको योगफल बनाएको थियो । एपीएफका बलर अविनाश बोहराले घातक बलिङ गर्नु नै प्रदेश १ को ब्याटिङ धराशायी बन्न सहयोग बनेको थियो । अविनाशले १० ओभरमा ६ मेडन राख्दै मात्र १८ रन खर्चेर ५ विकेट लिएका थिए, जसमा प्रदेश १ का कप्तान सिद्धान्त लोहनीसमेत उनको शिकार भएका थिए ।

प्रदेश १ का कप्तान सिद्धान्तले ३१ बलको सामना गरे पनि मात्र ९ रन योगदान दिएका थिए । प्रदेश १ का लागि ओपनर मनीष थापाले जोडेको १८ रन नै उच्चतम व्यक्तिगत योगदान साबित भएको थियो । यद्यपि, फिरदोश अन्सारीले सम्हालिएर खेले पनि उनी पनि व्यक्तिगत १७ रनमा आउट हुन पुगे ।

त्यसो त ८ विकेट गुमेपछि पुछारका ब्याट्सम्यान दीपेश कँडेल र जोशाक खड्काले केही आकर्षक ब्याटिङ गरेका थिए । दीपेश र जोशाकले १/१ छक्कासमेत प्रहार गरे पनि क्रिजमा लामो समयसम्म टिक्न सकेनन् । दीपेशले १६ रन जाडेर आउट भए भने जोशाक १२ रनमा नटआउट रहेका थिए ।

यसअघि, एपीएफले ४८.४ ओभरमा अलआउट हुँदै २ सय ४३ रन बनाएको थियो । टिमका लागि ओपनर ब्याट्सम्यान आरिफ शेखले सर्वाधिक ५९ रन जोडेका थिए । उनले विस्फोटक ब्याटिङ गर्ने क्रममा ३२ बलमा ६ चौका र ५ छक्का प्रहार गरे ।

अर्का ओपनर सुवास खकुरेल भने १९ रनमा पभेलियन फर्केका थिए । तर, बलर वसन्त रेग्मीले ४ चौका र २ छक्काको सहयोगमा ४० रन जोडेका थिए । अन्यमा सन्दीप बोराले ३९ बलमै ३० रन बनाए । उनले ४ चौका प्रहार गरेका थिए ।
प्रदेश १ ले ८ जना बलर प्रयोग गरेको थियो, जसमा ६ जना बलरले विकेट लिन सफल भएका थिए । टिमका लागि श्रवण यादव, दीपेश क“डेल, हेमन्त राई र फिरदोशले २/२ विकेट लिन सफल भए ।

यस्तै, जोशाक खड्का र सोनु मण्डलले एक–एक विकेट हासिल गरेका थिए । तर, कप्तान सिद्धान्त र शुभांकर उराओले कुनै विकेट लिन सकेनन् । शुभांकर २ ओभरमा २१ रन खर्चेर महँगो बलर साबित भएका थिए ।

शतक प्रहार गरे १० हजार दिइने

बागमती प्रदेश क्रिकेट संघले जारी पीएम कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा आफ्ना खेलाडीलाई प्रोत्साहनस्वरूप पुरस्कार दिने घोषणा गरेको छ ।  संघले प्रतियोगितामा बागमती प्रदेशका खेलाडीले शतक प्रहार गरेमा १० हजार नगद पुरस्कार दिने घोषणा गरेको हो ।

संघका सचिव दुर्गाराज पाठकले जनाएअनुसार शतकका साथै अर्धशतक प्रहार गर्नेलाई पनि पुरस्कार दिइने जनाएको छ । अर्धशतक प्रहार गर्ने खेलाडीले ५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी, प्रतियोगितामा बागमती प्रदेशका आफ्ना खेलाडीले एउटै खेलमा ५ विकेट लिएमा पनि पुरस्कार दिने तय गरेको छ ।

यसका लागि पनि ५ हजार नगद पुरस्कार छुट्टयाएको छ । यसैगरी, एउटै खेलमा ३ विकेट लिने आफ्ना खेलाडीलाई ३ हजार नगद पुरस्कार दिने पनि संघले घोषणा गरेको छ । संघले आफ्ना हरेक खेलाडीको प्रतियोगिता अवधिभर ५ लाख बराबरको बिमा गरेको पनि जनाएको छ ।

बागमती खेलकुद विकास परिषद्ले आफ्ना खेलाडीलाई दैनिक खेलको जनही २ हजार भत्ता र पोशाक प्रदान गर्ने भएको छ । यस्तै, नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई बागमती प्रदेशअन्तर्गत सामाजिक विकास मन्त्रालय बागमती प्रदेश खेलकुद विकास परिषद्को सदस्य पदमा ५ वर्षको लागि नियुक्त गरेको छ ।

बागमती जारी पीएम कपअन्तर्गत समूह ‘बी’ मा रहेको छ । बागमतीले पहिलो खेल आज नेपाल पुलिस क्लबसँग खेल्नेछ । यस्तै, भोलिको खेलमा सुदूरपश्चिम टिमसँग खेल्नेछ । अन्य खेलमा बागमतीले माघ ९ गते प्रदेश २ विरुद्ध र माघ ११ गते लुम्बिनी प्रदेशसँग खेल्नेछ । अगाडिको दुई खेल त्रिवि क्रिकेट मैदानमा हुनेछ भने बाँकि दुई खेल मूलपानी क्रिकेट मैदानमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्