मनाइयो मौलिक पर्व उत्तरायणी



नेपाल समाचारपत्र, डोटी ।

सुदूरपश्चिम प्रदेशबासीको प्रमुख चाडमध्ये एक उत्तरायणी पर्व शुरु भएको छ । प्रदेशको नौवटै जिल्लामा निकै महत्वका साथ हेरिने उक्त पर्व विशेष गरी सुदूरपश्चिममा महिलाहरुले मात्रै मनाउने चलन रहेको छ । डोटीसहित सुदूरपश्चिम प्रदेशका अन्य पहाडी जिल्ला अछाम, बाजुरा, डडेलधुरा, बझाङ, बैतडी तथा दार्चुलाका गाउँघर तथा बजारमा रहेका स्थानीयबासी सबै आ–आफ्नो पाएक पर्ने ठाउँमा जम्मा भई नजिकैको खोला जंगल तथा डाँडाकाडाँमा खाना पकाई खाने तथा दिनभर सुदूरपश्चिमेली डेउडा खेल खेल्ने र रमाइलो गरी दिनभर नै उत्तरायणी पर्व मनाउने गर्दछन् ।

सुदूरपश्चिम प्रदेशको तराईका जिल्लामा बसोबास गर्ने चौधरी समूदायहरु माघ १ गते माघी भन्दै रमाइलो गर्छन् भने पहाडी जिल्लामा बस्नेहरुले माघ ३ गतेका दिन उत्तरायणी पर्व मनाउँदै रमाइलो गर्ने गरेको दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला राजपुरका स्थानीयबासी नरेन्द्र शाहले बताउनुभयो ।

परापूर्वकालदेखि यहाँका पहाडी जिल्लामा प्रत्येक माघ महिनाको ३ गते मनाइने यो पर्व निकै धुमधामका साथ मनाउँदै आएका छन् । यो पर्वको दिन विवाह भएर आफ्ना घर गएकी छोरी–बहिनी बोलाई दान–दक्षिणा दिने उत्तरायणी मनाइने डाँडा अर्थात् ठाउँमा खाना खुवाउने तथा छोरी आफ्नो घर जाँदा सेल रोटीहरु पकाएर दिने चलन रहेको स्थानीयबासी बताउँछन् ।

सुदूरपश्चिम प्रदेशको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल, राजपुर, घोल्तडा तथा जिल्ला सदरमुकाम सिलगढी आसपासका डाँडाकाँडामा शनिबार बिहानैदेखि उत्तरायणी पर्व मनाउनेहरु भीड देखिन्थ्यो । उनीहरुका पहिरनका कारण यहाँका डाँडाकाँडा नै सुन्दर र राताम्मे भएका थिए ।

उत्तरायणी मनाउनेहरुले दिनभर डाँडकाडाँमा नै रमाई त्यहाँ खानामा मासको पीठोको बटुक, सुदूरपश्चिमको मासबाट बनेको प्रख्यात दाल डुुप्का, भात, सेलरोटी पकाउँदै सबै एकैठाउँमा बसेर खाना खाने तथा आगन्तुक पाहुनालाई पनि खुवाउने चलन रहेको दिपायल सिलगढी नगरपालिका–५ घोल्तडाका स्थानीय दीपकबहादुर भण्डारीले बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘वर्षभरि भेटघाट नभएका छोरीचेली तथा बोलचाल नभएकाहरुसँग पनि भेटघाट हुने तथा बोलचाल हुने यो माघ ३ गते भएकाले यस्लाई यहाँका स्थानीयले मिलन तथा मित्रताको दिनका रुपमा पनि लिने गर्छन् ।’ माघ ३ गते नै यहाँका महिलाहरुले रनपुतला खेल पनि खेल्ने गर्दछन् ।

महिलाका मार्मिक पीरव्यथा झल्काउने र माइतीको प्रगतिका लागि कामना गर्ने नाच हो रनपुतला । छिट्को फरिया, रातो चौबन्दी चोलो र सेतो पटुकाको फेरो हातमा समाएर सामूहिकरूपमा पंक्तिबद्ध भएर विवाहित महिलाले विरहका गीत गाउँदै रनपुतला खेल खेल्ने गर्दछन् । पुतलीझैं सिँगारिएका महिलाहरूले दिउँसो बेहुलाबेहुलीको एउटा जोडी बनाएर कार्पेटमा बोकेर नजिकैको पँधेरोमा लैजाने चलन छ । स्थानीय लोकलयमा गीत गाएर नाच्दै पँधेराबाट बेहुलाबेहुलीलाई उत्तरायणी मनाउने ठाउँमा ल्याई देउडा, झेउरा र भारी डेउडा खेल खेल्ने चलन छ ।

प्रतिक्रिया दिनुहोस्