थारु समुदायमा सिकल सेल डिसअर्डर बारे खोजी



नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले बर्दियाका थारु समुदायमा गरेको सिकल सेल डिस अर्डरसम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ । सिकल सेल डिसअर्डर जसलाई सि कल सेल रक्तअल्पता वा सिकल सेल रोग पनि भनिन्छ । यो रोग रगतमा हुने तŒव हेमोग्लोबिन जसले शरीरमा अक्सिजनको प्रवाह गर्दछ, त्यसको गडबडीका कारण हुने साधारण आनुवंशिक अवस्था हो ।

सिकल सेल रोग हेमोग्लोबिन जिनको एउटा प्रोटिनको छैठौं बी ग्लोबेन मोलिकुलमा प्रतिस्थापन हुँदा साधारण वयष्क हेमोग्लोबिनको संरचनामा परिवर्तन हुँदा हुने गर्दछ । यो रोग भएका व्यक्तिमा असाधारण प्रकृतिको हेमोग्लोबिन्स अणुहरु हुन्छन्, जसले सामान्य रातो रक्त कोषलाई हँसिया वा अर्धचन्द्राकारको स्वरुपमा परिवर्तन गर्ने गर्दछ ।

नेपालको सन्दर्भमा सिकल सेल रक्तअल्पता सामान्यतया पश्चिम तराईको थारु जातिमा देखिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्द्वारा ७ सय ८१ जना सहभागीमा गरेको ‘प्रिभिलेन्स अफ एनिमिया एमङ द रिप्रडक्टिभ उमेर समूहका महिला’ शीर्षकको अध्यनमा १९ (२ दशमलव ४ प्रतिशत) थारु महिलाहरु सिकल सेल रक्तअल्पताबाट संक्रमित पाइएको थियो ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा बर्दियाको थारु समुदायको १ देखि २९ वर्षसम्मका व्यक्तिमा सिकल सेल रोगको व्यापकता र यसको विभिन्न सामाजिक, जनसांखिक तथा देखापरेका लक्षणहरुको कारकको बारेमा अध्यन गर्नेछ, साथै अध्ययनमा सहभागीलाई परीक्षणपश्चात् परामर्श पनि दिइनेछ ।

बर्दिया जिल्लाको २० हजार थारु समुदायमा २०७४ साउनदेखि २०७६ पुससम्म सिकल सेल रोगको जनसंख्यामा आधारित अध्यन गरिएको थियो । प्रशिक्षित तथ्यांक संकलकद्वारा संरचित प्रश्नावलीको आधारमा सम्पूर्ण सहभागीहरुको पारिवारिक इतिहासको जानकारीको साथै ३ मिलिलिटर रगतको नमुना संकलन गरिएको थियो । स्थानीय सरकारको समन्वयमा बर्दिया जिल्लाको मगरगढी नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा रगत जाँचद्वारा प्रारम्भिक छनोट गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्