वैकल्पिक सिकाइले सकारात्मक प्रभाव पार्न सकेन



पुष्पराज भट्टराई, काठमाडौं ।

बालबालिका खेल्ने विद्यालयका चौरमा यस वर्ष झार पलाएको छ । कक्षाकोठामा डेक्सबेन्चलाई साक्षी राखेर भित्ताभरि माकुराले जालो लगाइदिएको छ । विद्यालय परिसरमा झुन्ड्याइएका झण्डाहरु घामपानीले खुइलिएका छन् । फुङ्ग उडेका उदासी भवनहरु सुनसान छन् । त्यहाँ जति चहलपहल हुनुपर्ने हो त्यो देखिँदैन ।

त्यतिमात्र होइन, विद्यार्थीलाई विद्यालय हातामा बोलाएर पढाउन सम्भव नभएपछि वैकल्पिक सिकाइका रुपमा अनलाइनलाई अघि सारिए पनि शैक्षिक क्रियाकलापमा सकारात्मक प्रभाव पार्न सकेन । ललितपुर जिल्ला गोदावरी नगरपालिकामा अवस्थित जनविकास माविका शिक्षक अर्जुन पौडेल भन्छन्– ‘गाउँ गएका गाउँमा अड्किए ।

शहरमा बसेका बेरोजगारीका कारण ड्रप आउट भए । साना कक्षाका त झनै आउन सकेका छैनन् । के पढाउने भन्दा कसलाई पढाउने भन्ने चिन्ता लागेको छ । ८ कक्षादेखि १२ कक्षासम्म अहिलेको अवस्थामा ४० प्रतिशत विद्यार्थी मात्रै सम्पर्कमा आएका छन् । मुस्किलले २० देखि २५ प्रतिशत मात्रै कोर्स सकिएको छ । अब कति आउँछन् भन्न सकिने अवस्था छैन ।’

‘हामीलाई त कोर्सको भन्दा बच्चाले पढाइ छाडेर गाउँ गएकोमा चिन्ता बढी छ ।’ –पौडेल भन्छन् । कोरोनाका कारण आर्थिक अवस्था कमजोर बनेपछि उपत्यकाबाट बाहिरिएका विद्यार्थी काठमाडौं फर्किन नसकेको उनको भनाइ थियो । ‘वैकल्पिक सिकाइबाट थालिएको शिक्षण क्रियाकलापमा समेत प्रभावकारी हुन नसक्दा भदौबाट घरमा अनलाइन सुविधा नहुने विद्यार्थीलाई जोरबिजोर नम्बरमा बोलाएर पढाउन शुरु गरेका छौं ।’ –भक्तपुर सूर्यविनायक नगरपालिका दधिकोटस्थित अरनिको माविकी शिक्षिका सीता सापकोटले भनिन् ।

‘आधा शैक्षिक सत्र पढ्न नपाउँदा विद्यार्थीको भविष्य अन्योल हुने देखिएपछि अभिभावकलाई सम्पर्क गरेर साप्ताहिकरुपमा गृहकार्य दिएर पढाइरहेका छौं भौतिक रुपमा पढाएजस्तो नहुने रहेछ।’ –सापकोटाले भनिन्। ललितपुरकै भैंसेपाटी बुङमतिस्थित आदर्श शौल युवक माविका प्राचार्य सरोज आचार्यले भर्चुअल सिकाइ प्रभावकारी नदेखिएपछि तिहारलगत्तै अनौपचारिक रुपमा तहगत कक्षा सञ्चालन गरिएको बताए ।

उनले भने– ‘विद्यालयमा विद्यार्थीको चाप धेरै भएका कारण अनलाइन र भौतिकरुपमा दुवै कक्षा सञ्चालन गरिरहेका छौं । परिवार र शिक्षकको दबाबमा अनलाइनमा सहभागी भए पनि विद्यार्थीमा गुणस्तरमा वृद्धि हुन सकेको छैन । हामीले परीक्षा पनि लियौं । नतिजा सन्तोषजनक पाइएन । तहगतरुपमा सबै विषयको गरेर ५० प्रतिशत कोर्स सकिएको अवस्था छ तर पनि न्यूनतम सिकाइ उपलब्धि हासिल हुने देखिएन ।’

त्रिपुरेश्वरस्थित विश्वनिकेतन माविका प्रअ हेरम्बराज कँडेलले भने– ‘अहिलेसम्म सबै विद्यार्थीलाई एकै ठाउँमा राखेर पढाउन नसकिए पनि घरमा अनलाइन पढाइको विकल्प नभएका बालबालिकालाई विद्यालयमै बोलाएर नियमित पढाइरहेका छौं । अभिभावक पनि खुसी नै छन् । तर बल्लतल्ल खुलेका विद्यालयमा किताब बोकेर स्कुल जान थालेका बालबालिकालाई यतिबेला कोरोनाको आँखा लाग्ला कि भन्ने डर पनि उत्तिकै छ । यसका लागि सबै सचेत हुनैपर्छ ।’

सामाखुसीस्थित नेपाल प्रहरी स्कुलका प्रअ रामप्रसाद भुसाल भन्छन्– ‘सानाठूला सबै कक्षाका विद्यार्थी विद्यालय अनलाइन पढिरहेका छन् । कक्षा १देखि नै अनलाइन पढाइरहेका छौं । कक्षा ११ र १२ मा भने पठनपाठन शुरु गरे पनि अनलाइन कोर्स राम्ररी अगाडि बढ्न सकेको छैन । १५ प्रतिशत मात्रै कोर्स समग्रमा अगाडि बढाउन सकिएको छ ।’

शिक्षाविद् प्राडा प्रदीपचन्द्र गौतम भन्छन्– ‘शिक्षक आईटी फ्रेन्डली हुन नसक्दा विद्यालयमा वैकल्पिक सिकाइ प्रभावकारी हुन नसकेको हो । शिक्षक मात्र होइन, साना कक्षाका बालबालिकाका अभिभावकसमेत प्रविधिमा दक्ष छैनन् ।’

‘हचुवाका भरमा भर्चुअल कक्षा सञ्चालन भइरहेका छन् । प्रविधिमा पहुँच नरहेका अधिकांश विद्यार्थी छुटेका छन् । भनेजस्तो शैक्षिक उपलब्धि भने छैन त्यसैले शिक्षालाई प्रभावकारी बनाउन फेस टु फेस पढाउनै पर्छ ।’ –उनले भने । शैक्षिक सत्र खेर जान दिन हँुदैन । भावी दिनमा यस्ता कुराको पूर्वतयारी गर्नै पर्छ ।

यस्ता परिघटनाबाट शिक्षा लिएर समस्या सिर्जना भयो भन्दैमा पछि हट्न नहुने तर्क उनको रहेको छ । सुगमदेखि दुर्गमसम्मका अधिकांश विद्यालयहरुले अनलाइन कक्षा सञ्चालन गरेको दाबी गरेका छन् । तर विद्यालयले अनलाइन कक्षा चलाए पनि भौतिक कक्षाजस्तो प्रभावकारी हुन नसकेको शिक्षक तथा अभिभावकले बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्