विपतमा पनि प्रहरीको सहयोग पाउँदैनन् स्थानीय



नेपाल समाचारपत्र, मनाङ ।

सशस्त्र द्वन्द्वको समयमा पनि शान्त रहेको मनाङमा स्थानीय बासिन्दाले अहिले शान्तिको अनुभूति गर्न सकेका छैनन् । विशेष गरी हिमाली जिल्ला भएकाले अन्य अपराधभन्दा पनि आपत्विपद्मा परेकाहरुको उद्धार गर्नुपर्नेमा त्यस्तो नभएको पाइएको हो ।
यस्तै समस्याको महसुस ग-यो डेढ महिनादेखि लागेको आगलागीको विशेष रिर्पोटिङका लागि आएको सञ्चारकर्मीको टोलीले ।
उक्त टोलीले प्रहरीबाट नै सहयोग पाउन सकेन । नासो गाउँपालिका र चामे गाउँपालिकामा डेढ महिनादेखि लागेको आगो नियन्त्रणमा आउन नसकेको बारे टोलीले विशेष रिर्पोटिङका गरेको थियो । टोलीमा नेपाल समाचारपत्र राष्ट्रिय दैनिकका पत्रकार यदुप्रसाद भट्ट, पत्रकार महासंघ मनाङका उपाध्यक्ष नवीन लामिछाने र उकेरा डटकमका पत्रकार केशवप्रसाद पाण्डे रहनुभएको थियो । यसैक्रममा प्रहरीलाई जानकारी गराएर टोली उपल्लो मनाङ पुगेको थियो ।

टोलीमध्येका भट्टमा स्वास्थ्य समस्या देखिएपछि उपल्लो मनाङको अन्तिम प्रहरी चौकी सीमा प्रहरी चौकी हुम्डेलाई टोलीले जानकारी गराएको थियो । यातायातका कुनैै साधन नचल्दा सञ्चारकर्मीको टोलीले प्रहरीसँग सहयोगको याचना गरेको थियो । चौकी प्रमुख प्रहरी नायब निरीक्षक धनबहादुर थापाले चेन अफ कमान्डअनुसार माथिको आदेश आवश्यक रहेको भन्दै जिल्ला प्रहरी कार्यालयलाई जानकारी गराउनुभएको थियो ।

‘म माथि जाहेर गर्छु। आदेश आएपछि मात्र सहयोग गर्न सकिन्छ।’ –प्रनि थापाले भन्नुभएको थियो। यसका लागि उहाँले मनाङ प्रमुख प्रहरी नायब उपरीक्षक मेखबहादुर कुँवरसँग झन्डै आधा घण्टा टेलिफोन सम्पर्क गर्नुभएको थियो तर, डीएसपी कुँवरले सञ्चारकर्मीलाई सहयोगका लागि ठाडै अस्वीकार गर्नुभएको थियो ।

साँझको समयमा समस्यामा परेका सञ्चारकर्मीले अनुनय विनय गर्दासमेत सहयोग पाउन सकेनन् । अन्ततः चौकीमा कार्यरत एक जवानले मानवीयताको नाता देखाउँदै आफ्नै निजी मोटरसाइकलमा राखेर भट्टलाई पिसाङसम्म उद्धार गर्नुभएको थियो । पत्रकार भट्ट आफूमा स्वास्थ्य समस्या देखिएकाले साँझको समय र हिउँको कारण मानवबस्तीसम्म पु-याउन सहयोग मागेको बताउनुहुन्छ। यो ठाउँमा सहयोग माग्न प्रहरी मात्रै थियो ।

‘माथिल्लो मनाङबाट ३ घण्टा हिँडेर प्रहरीलाई सहयोग माग्दा पनि वास्ता गरिएन ।’ अर्का पत्रकार पाण्डेले प्रहरीको यो कार्यशैलीले स्थानीयले प्रहरीको सहयोग पाउनेमा आशंका व्यक्त गर्नुभयो । ‘जानकारी गराएर आएको पत्रकारको टोलीलाई त प्रहरीले सहयोग गरेन भने स्थानीयले प्रहरीबाट सहज सेवा पाउँछन् भन्ने कसरी विश्वस्त हुन सकिन्छ?’ –पाण्डेले भन्नुभयाे।

जिल्ला प्रशासन कार्यालय मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले यसबारे बुझेर आवश्यक सहयोग गर्ने आश्वासन दिनुभयो । स्थानीयले डीएसपी कुँवर जिल्लामा आएदेखि आवश्यक पर्दा सहयोग पाउन नसकेको गुनासो गर्दै आएका छन् । ‘डीएसपी कुँवर आएदेखि न त प्रहरीले उद्धारमा चासो दिएको छ न त सुरक्षामा नै सुधार आएको छ।’ –एक स्थानीयले नाम नबताउने सर्तमा भने ।

प्रतिक्रिया दिनुहोस्