व्यवसायीलाई सहुलियत दिने नीति कागमै सीमित भएकोमा अर्थमन्त्रीको ध्यानाकर्षण

ललितपुर चेम्बर अफ कमर्शको पहिलो वार्षिक साधारणसभा



न्युज अफ नेपाल, ललितपुर ।

ललितपुर चेम्बर अफ कमर्शले कोरोना महामारीले थला परेको व्यवसायलाई माथि उकास्न मौद्रिक नीति मार्फत सहुलियत दिने योजना कार्यान्वयन नभएकोमा अर्थमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

चेम्बर अफ कमर्शको पहिलो वार्षिक साधारणसभामामा अध्यक्ष पुष्परत्न शाक्यले अर्थमन्त्री विष्णु पौडेल समक्ष सो ध्यानाकर्षण गराउनुभएको हो।‘मौद्रिक नीति मार्फत सहुलियत दिने निर्णय दस्तावेजमा नै सीमित भइरहेको छ । निर्णय कार्यान्वयन नहुँदा त्यस नीतिबाट व्यवसायीहरुले लाभ पाउन सकिरहेको छैन ।’ अध्यक्ष शाक्यले भन्नुभयो ।

‘बैकमा लिइएको कर्जाको तीन महिनाको ब्याज मिनाह गर्ने, भन्सारका सामानहरुको मूल्याकंंन दर रेट कम गर्ने, घोषित पुनःकर्जा लिन प्रक्रियागत झन्झट लगायत नेपाल राष्ट्र बैंकले तोकेको अनेक सुविधाहरुबाट व्यवसायीहरु वञ्चित भएका छन् । यसबारे अर्थ मन्त्रालयको ध्यान जाओस् ।’अध्यक्ष शाक्यले भन्नुभयो।अनुगमनको नाउँमा व्यवसायीहरुलाई राज्यले दुःख दिने गरेको बताउँदै अध्यक्ष शाक्यले व्यवसायीहरुलाई आतंकित पार्ने, मनोविज्ञानमा नकारात्मक असर पु¥याउने काम बन्द गर्न माग गर्नुभयो ।

ललितपुरमा अन्तरनिहित आर्थिक सम्भावनालाई मूर्त रुप दिन राज्यको ध्यान जानुपर्नेमा जोड दिँदै अध्यक्ष शाक्यले भन्नुभयो ‘राज्यको ध्यान नपुग्दा संस्कृति संरक्षणलाई पर्यटन उद्योगसंग जोडिएर अघि बढाउने,हस्तकला शहरको रुपमा विकास गर्ने, दक्षिण ललितपुरमा कृषि र रोमाञ्चकारी पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्ने लगायत सम्भावनाहरुल मूर्त रुप मूर्त रुप लिन पाएका छैनन् । ’

सो अवसरमा अर्थमन्त्री पौडेलले चेम्बर अफ कमर्शले उठाएको विषयमा निरन्तर छलफल गर्दै मुलुकको आर्थिक विकासको लागि सहकार्य गरेर अघि बढ्न सरकार तयार रहेको बताउनुभयो । अर्थमन्त्री पौडेलले भन्नुभयो ‘ यहाँहरुले उठाउनुभएको मुद्दा र सवाल गम्भीर छ । यसको कार्यान्वयनको लागि निरन्तर छलफल गरेर अघि बढ्न सरकार छ । सहकार्यको लागि अर्थ मन्त्रालयको ढोका सधै खुल्ला छ । ’ अर्थमन्त्री पौडेलले कोरोना भ्याक्सिन खोप निर्यात गर्न सरकारको तयारी अन्तिम चरणमा पुगेको बताउँदै यसका लागि निश्चित आकारको बजेट विनियोजित गरिसकेको पनि जानकारी दिनुभयो ।

समारोहमा नेपाल चेम्बर अफ कमर्शका केन्द्रीय अध्यक्ष राजेशकाजी श्रेष्ठले सरकारले समृद्ध नेपाल र सुखी नेपालीको नारा अघि सारे अनुरुप शान्ति सुरक्षा, लगानीमैत्री वातावरणको सुनिश्चितता नबनेको र पछिल्लो पटक कोरोनाले गर्दा अधिकाशं व्यवसाय धराशायी भएको बताउनुभयो ।

सो अवसरमा राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले समाजप्रति उत्तरदायीत्वको भावनाले व्यवसायीहरु अघि बढ्नुपर्ने बताउँदै राज्यले गर्ने अनुगमनलाई स्वस्थ्य र व्यवसायीहरुको विकासको उद्देश्यले हुनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष महर्जनले जनताको स्वास्थ्य, गुणस्तरीयता र जनहितको सवालमा सम्झौता गरेर व्यवसायीहरु नाफामुखी हुन नहुने पनि धारणा राख्नुभयो ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला, वरिष्ठ उपाध्यक्ष निरु थापा, महासचिव सुविन बज्राचार्य लगायतले चेम्बर अफ कमर्शले निर्वाह गर्दै आएको विविध भूमिकामा केन्द्रीत गर्दै आआफ्ना भनाई राख्नुभयो ।

शाक्यकै अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति

यसैबीच साधारणसभाले पुष्परत्न शाक्यको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

आगामी तीन वर्षका लागि सो कार्यसमिति चयन गरिएको हो । कार्यसमितिको वरिष्ठ उपाध्यमा निरु थापा, उपाध्यक्षमा राजेन्द्रमान कायष्ठ, द्वितीय उपाध्यक्षमा अनिलवीर बज्राचार्य, महासचिवमा सुविन बज्राचार्य र कोषाध्यक्षमा नरेन्द्र शाक्य, सचिवमा हरिहर अधिकारी र सहकोषाध्यक्षमा प्रेमलाल महर्जन रहनुभएको छ ।

त्यसैगरी कार्यकारिणी सदस्यहरु तेजेन्द्रगोपाल श्रेष्ठ, वीरेन्द्र शाक्य, ऋषिकेश तिमल्सीना, रामचन्द्र क्षेत्री, श्याम तण्डुकार, सुनिता बज्राचार्य, सुमित्रा खड्का, अविनाश कार्की, सविता सिंह, प्रवीणबहादुर शाक्य, अभिषेकराज बज्राचार्य, हरेराम जोशी र हेमकिशोर हुनुुहुन्छ ।सोही सभाले सविता सिंहको संयोजकत्वमा महिला चेम्बर र प्रवीणबहादुर शाक्यको संयोजकत्वमा युथचेम्बर अफ कमर्श गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्