जलेश्वरनाथका लागि सिंहदरबारमा अनसन !



सियाराम मण्डल,जलेश्वर ।

महोत्तरी जिल्लाको सुप्रसिद्ध तीर्थस्थल जलेश्वरनाथको संरक्षणका लागि स्थानीय तथा प्रदेश सरकारले कुनै चासो नदेखाएको भन्दै स्थानीय सन्त र युवाहरुले सिंहदरबार अगाडि अनसन बस्ने तयारी गरेका छन् । जलेश्वरनाथ मन्दिर संरक्षण समितिका अध्यक्ष अमरदीप शाहका अनुसार विगत पुस महिनामा स्थानीय सन्त तथा युवाहरुले ११ दिन लामो रिले अनसन गरेर प्रदेश सरकार र स्थानीय नगरपालिकाको ध्यानाकर्षण गराए, तर प्रदेश २ र जलेश्वर नगरपालिकाका कुनै कार्यकारी व्यक्ति आएर मागप्रति चासो राखेनन् ।

‘अन्ततः संघीय सरकारका शहरी विकास मन्त्री प्रभु साह अनसन स्थलमा पुगेर मागहरुबारे चासो राख्दै समाधानका लागि पहल गर्ने प्रतिवद्वता जाहेर गरेपछि युवा तथा सन्तहरुले अनसन तोडे, तर माग पूरा गर्न स्थानीय सरकार नै अघि सर्नुपर्छ, उसले कुनै चासो राखेको छैन’ अध्यक्ष शाहले भन्नुभयो ।

जलेश्वरनाथलाई धार्मिक पर्यटनको केन्द्र बनाउन र जीर्ण भएको मन्दिर संरक्षण गर्न तथा आउने साधु–सन्तलाई खाने–बस्ने व्यवस्था मिलाउन मन्त्री शाहले विस्तृत परियोजना बनाई पेश गर्न सुझाव दिनुभएको तर त्यसअनुसारको कागजात प्रस्तुत गर्दा पनि कुनै कारबाही नभएको अध्यक्ष शाहले बताउनुभयो– ‘अब काठमाडौंमा सिंहदरबार अगाडि नै अनसन नबसेसम्म हाम्रा मागप्रति सुनुबाइ हुने संकेत देखिएन ।’

देवी सीताको जन्मभूमि मिथिलाको राजधानी जनकपुरधाम तथा हाल प्रदेश २ को राजधानीबाट १४ किलोमिटरको दुरीमा जलेश्वरनाथ भगवानको मन्दिर छ । महोत्तरी जिल्लाको सदरमुकाममा रहेको यस मन्दिरमा सधैं जलमा डुबेर बस्ने महाशिवलिङ्ग प्रतिष्ठापित छन् ।

‘कुरा आस्था र विश्वासको हो, गोडाले अशक्त एक भक्त यहींको जल छर्किपछि ठमठम हिंडेर फर्किएका थिए’ अध्यक्ष शाहले जानकारी दिनुभयो । जलेश्वरनाथ महात्म्यमा महालिङ्ग कसैद्वारा स्थापना गरेको नभई स्वयं उत्पत्ति भएको हो । शिवलिङ्ग जमिनको सतहभन्दा ४० फिट गहिरोमा चारैतिरबाट जलले भरिएको छ । महालिङ्ग दर्शन गर्न नेपालका विभिन्न ठाउँलगायत छिमेकी भारतबाट श्रद्धालु भतmजनहरु आउँछन् ।

महालिङ्गको साक्षात दर्शनका लागि महाशिवरात्रीको दिन जल बाहिर फालिन्छ, बाँकी दिन वर्षभरि नै गुफाभित्र जलमग्न हुन्छ । तर पछिल्लो समयमा प्रत्येक महिनाको पहिलो सोमबार नेपाली सेना र तेस्रो सोमबार सशस्त्र प्रहरी बलद्वारा जल फालिने गरिएको छ, साक्षात दर्शनका दिनहरु बढेका छन् ।

‘जलेश्वरनाथलाई पापमोचन देवका रुपमा पूजा गरिन्छ, जीवनमा जानेर–नजानेर भएका पाप कटाउन भक्तजनहरु यहाँ पूजा गर्न आउँछन्, मनोकामना पूरा होस् भनेर आशीर्वादको याचना गर्दछन्’ अध्यक्ष शाहका अनुसार जीवनको मोक्षका लागि जलेश्वरनाथको दर्शन गर्नु आवश्यक छ ।

शाह भन्नुहुन्छ, ‘धार्मिक विश्वास आफ्नो ठाउँमा छ, आर्थिक आधारले पनि जलेश्वरनाथको संरक्षण यस क्षेत्रको विकासका लागि लाभप्रद देखिन्छ । दर्शनका लागि देश–विदेशबाट तीर्थयात्रुहरु आउँदा जलेश्वर नगरपालिका पनि धनी हुनेथियो, तर यतातिर प्रदेश सरकार र मेयरको ध्यान आजसम्म गएको छैन ।’

प्रतिक्रिया दिनुहोस्