भूकम्पपीडितको सपना, हुन सकेन साकार



मिला दरै, तनहुँ ।

‘बहुप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा, सहकार्यमा धनजनको रक्षा’ भन्ने नारासहित आज (शुक्रबार) भूकम्प सुरक्षा दिवस २०७७ मनाइँदै छ । तर भूकम्प सुरक्षा दिवस मनाउँदै गर्दा भूकम्पपीडितको सपना साकार हुन भने सकेको छैन । विनाशकारी भूकम्प गएको पाँच वर्ष पुग्नै लाग्दासमेत भूकम्पपीडितको नयाँ घरमा बस्ने सपना सपनामै सीमित भएको छ ।

२०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले तनहुँका जोखिम वर्गका भूकम्पपीडितको नयाँ घर निर्माण गर्ने सपना हालसम्म पूरा हुन सकेको छैन । सरकारले वर्गीकरण गरी प्रदान गरेको रकम जोखिम वर्गसम्म पुग्न नसक्नुले उनीहरुको सपना सपनामा सीमित भएको पीडितहरु बताउँछन् ।

घर निर्माण नहुँदा नयाँ घरमा बस्ने सपना अधुरै रहेको जोखिम वर्गका व्यक्तिहरु बताउँछन् । तनहुँमा ५ सय ४१ जना जोखिम वर्गका लाभग्राही रहेको जिल्ला आयोजना कार्यान्वयन इकाइ तनहुँले जनाएको छ । विनाशकारी भूकम्पपछि घरवारविहीन अवस्थामा पुगेका ती लाभग्राहीको समस्या समाधानका लागि पहल कदमीसमेत हुन नसकेको सुजन तिवारी बताउनुहुन्छ ।

तिवारीका अनुसार भूकम्पबाट प्रभावित निजी आवास पुनर्निर्माण अनुदान वितरण कार्यविधिअनुरुप ७० वर्षमाथिका ज्येष्ठ नागरिक, ६५ वर्ष नाघेका अशक्त एकल महिला, अपाङ्गता भएका व्यक्ति तथा १६ वर्षमुनिका नाबालिगलाई जोखिम वर्गका लाभग्राहीका रुपमा लिने गरिएको छ ।

भूकम्पले घरबास नै उठाएपछि सरकारले दिने राहतको आशामा घर बनाउने सपना सजाएका पीडितहरु लामो समय बितिसक्दासमेत नयाँ घर बनाउने तयारीमा जुट्न सकेका छैनन् । अति प्रभावित गोरखा, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, रसुवा, लमजुङलगायतका जिल्लामा विभिन्न गैरसरकारी संस्थाहरुको सहयोगमा जोखिम वर्गका व्यक्तिको घर निर्माण गरिएको जिल्ला आयोजना कार्यान्वयन इकाइका प्रमुख जयप्रकाश गुप्ताले बताउनुभयो ।

‘तनहुँ अति प्रभावित जिल्लामा सूचीकृत नहुँदा त्यस्ता संस्थाको सहयोग छैन, गैरसरकारी संस्थाको सहयोग नरहँदा जोखिम वर्गका व्यक्तिको घर बन्न नसकेको हो, अति प्रभावितको सूचीमा नपरे पनि गैरसरकारी संस्थाको सहयोग रहने प्रावधान भएको भए जोखिम वर्गले सास्ती खेप्नुपर्दैनथ्यो।’ –प्रमुख गुप्ताले भन्नुभयो ।

कतिपय लाभग्राहीसँग रकम भए पनि हेरचाह गरिदिने र पसलबाट सामग्री किनेर ल्याइदिने जनशक्तिको अभावले उनीहरुको नयाँ घर निर्माण हुन नसकेकोले स्थानीय तहसँग समन्वय गरी उनीहरुको घर बनाउन पहल कदमी भइरहेको उहाँले बताउनुभयो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले यस्ता जोखिम वर्गका लाभग्राहीलाई निजी आवास पुनर्निर्माणका लागि ५० हजार रुपियाँ थप अनुदान दिने व्यवस्था गरेको छ । रकम नपुगेर आवास पुनर्निर्माण रोकिएका यस्ता लाभग्राहीलाई मात्र यो अनुदान उपलब्ध गराइने व्यवस्था रहेको गुप्ताले जानकारी दिनुभयो । भूकम्पबाट तनहुँमा १५ हजार ९ सय ६३ लाभग्राहीमध्ये ९ हजार १ सय ९ लाभग्राहीले तेस्रो किस्तावापतको रकम लिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्