लायन्सको विद्यार्थीलाई शैक्षिक सामग्री तथा पोशाक सहयोग



प्रताप बानियाँ, म्याग्दी ।

लायन्स क्लबका संस्थापक मेल्भिन जोन्सको १४२औं जन्मजयन्तीको अवसर पारेर विद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा पोसाक सहयोग भएको छ । सामाजिक क्षेत्रमा क्रियाशील लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा म्याग्दीको बेनी नगरपालिका–८, कालीपुलमा सञ्चालित बालमन्दिर आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सामग्रीहरु सहयोग गरिएको हो ।

म्याग्दी दोभानले बालमन्दिरमा अध्ययरनमध्ये छात्रा ८ जना र छात्र ७ जनालाई शैक्षिक सामग्री वितरण गरेको जनाएको छ । विद्यालयको सिफारिसमा ८ जना विद्यार्थीहरुलाई ज्यामिती बक्स, कापीकलम र पोसाक तथा ७ जनालाई कापी, पेन्सिल र पोसाक सहयोग गरिएको लायन्स क्लब अफ म्याग्दी दोभानका पूर्व अध्यक्ष गीता रिजाल शर्माले जानकारी दिनुभयो ।

कार्यक्रममा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दै लायन्स क्लब अफ म्याग्दी दोभानका संस्थापक अध्यक्ष अमृतदेवी बानियाँले विद्यार्थीको पढाइमा सानो भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले शैक्षिक सामग्री सहयोग गरिएको बताउनुभयो । क्लबका वर्तमान अध्यक्ष शर्मिला थापाले लायन्स क्लबहरुले जिल्लाको सामाजिक क्षेत्रमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको बताउँदै सोहीअनुसार विद्यार्थीहरुलाई पनि शैक्षिक सामग्रीहरु उपलब्ध गराइएको बताउनुभएको छ ।

शैक्षिक सामग्री वितरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सुरेन्द्रप्रसाद केसीले विद्यालयको अवस्थाबारे जानकारी गराउँदै जिल्लास्थित विभिन्न संघसंस्थाको सहयोगमा विद्यालयको विकास र विद्यार्थीको अध्ययनमा सहयोग पुगेको बताउनुभएको थियो । कक्षा १ देखि ८ सम्म पढाई हुने विद्यालयमा २ सयजना भन्दाबढी विद्यार्थीहरु अध्ययन गर्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्