पश्चिमाञ्चल होटल संघद्वारा नाका खोल्न दबाब



कास्की । कोभिड– १९ को महामारीसँगै बन्द नेपाल–भारत सिमा नाका अविलम्ब खोल्न पश्चिमाञ्चल होटल संघ पोखराले माग गरेको छ । संघका अध्यक्ष विकल तुलाचनले संस्थाका तर्फबाट मंगलबार विज्ञप्ति जारी गर्दै सरकारसमक्ष त्यस्तो माग गर्नुभएको हो ।

संघले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग भेट गरी ध्यानाकर्षण पत्रसमेत प्रदान गरेको अध्यक्ष तुलाचनले जानकारी दिनुभयो ।ध्यानाकर्षण पत्रमा भनिएको छ– ‘विगतका तथ्यांकअनुसार नेपाल आगमन हुने पर्यटकमध्ये सबैभन्दा बढी हिस्सा भारतबाट स्थलमार्ग हुँदै आउने भारतीय पर्यटक रहेका छन् ।

छिमेकी मुलुकबाट पर्यटक भित्र्याएर वर्तमान समयमा देखिएको पर्यटकको अभाव केही हदसम्म पूर्ति गर्न सकिने अवसर हुँदाहुँदै सरकारले स्वास्थ्यको नाममा अनेकौं बहाना बनाएर सिमा नाका हालसम्म बन्द गरेको अवस्थाप्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

त्यस्तै आर्थिक वर्ष २०७७-७८ को बजेटमा समावेश भएको पुनर्कर्जा बैंक तथा वित्तीय संस्थाले साना, मझौला र ठूला व्यवसायीलाई प्रदान गर्न आनाकानी गरेको, प्रदेश तथा स्थानीय निकायबाट पनि होटल व्यवसायलाई थप राहतका कार्यक्रम पर्याप्त मात्रामा नल्याइएको र केही ल्याइएका घोषित राहतका कार्यक्रम व्यवसायीले प्राप्त नगरेको, कोभिड–१९ को अतिप्रभावित व्यवसायको रुपमा होटल तथा पर्यटन व्यवसाय भएता पनि हालसम्म कुनै पनि प्रकारको राहत प्याकेज प्राप्त गर्न नसकेको गुनासो संघको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्