विन्धबासिनी सहकारीको ७ तल्ले बहुउद्देश्यीय भवन



मोतीराम तिमल्सिना, काभ्रे ।

२०५० साल फागुन ६ गते खोपासीमा स्थापना गरिएको अन्र्तराष्ट्रिय मापदण्ड प्राप्त विन्धबासिनी सहकारीले स्थापनाको २७ औ बर्ष पछि ब्यापारीक नगर बनेपामा ७ तल्ले बहुउद्देश्यीय भवन निर्माणको शिल्यान्यास गरेको छ । राष्ट्रिय सहकारी महासघंका अध्यक्ष मिनराज कँडेलले नव निर्मित भवनको शिल्यान्यास गर्नु भयो ।

शेयर सदस्यहरुको जीवनका हरेक क्षेत्रमा सहयोगी र अभिभावक बनेको विन्धबासिनी सहकारीले यो अवधीमा पौने चार अर्बको कारोवार गरेको छ । ४७ हजार ५८ जना ब्यक्तिलाई सेवा उपलब्ध गराएको उक्त संस्थाका ७ वटा सेवा केन्द्र, ७ वटा सेवा कार्यालय र मुख्य कार्यालयमा समेत गरी ८९ जना कर्मचारी छन् ।

सहकारीका अध्यक्ष प्रदिप थापाले निर्धारित समय भित्र बहुउद्देश्यिय भवन निर्माण सम्पन्न हुने बताउनु भयो । जन्मे देखि मृत्यु पश्चात परिवारका सदस्यलाई समेत सहयोग गर्दै आर्थिक समृद्धीको अभियान चलाएको सहकारीले निर्माण गर्ने भवनबाट शेयर सदस्यहरुले उत्पादन गरेका बस्तुहरुको भण्डारण, ग्रेडिङ्ग, प्याकेजिङ्ग र लेभलिङ्ग गरी सदस्यहरुको हितका लागि बहुउद्देश्यिय भवन प्रयोग गरिने अध्यक्ष प्रदिप थापाले बताउनु भयो ।

बनेपाको चार दोबाटो भित्र ३१ आना जग्गामा दुईवटा भवन निर्माण हुने सहकारीका प्रमुख कार्यकारी अधिकृत केवी लामाले बताउनु भयो । ‘भवनमा मुख्य कार्यालय, बनेपा क्षेत्रको कार्यालयको अलावा मिनिमार्ट, रेस्टुरेन्ट संचालन हुनेछ । शेयर सदस्यहरुले उत्पादन गरेको कृषि उपजलाई भण्डारण गर्न कोल्डस्टोर निर्माण गरिनेछ’– प्रमुख कार्यकारी अधिकृत केवी लामाले भन्नुभयो । १० करोड १० लाखको इस्टमेट गरिएकोमा इविडिङ्गबाट ७ करोड ३८ लाखमा निर्माण ब्यवसायीसँग सम्झौता गरिएको छ ।

१८ महिनामा निर्माण सम्पन्न हुने लक्ष्य राखिएको भवनमा २५ जना अट्ने आवसाीय तालिम केन्द्र र २ सय अट्ने सभा हल निर्माण गरिनेछ । एक वर्ष अघि डिजाईन स्टमेट शुरु गरिएको उक्त भवनको औपचारिक रुपमा बुधबार शिल्यान्यास गरिएको हो । यति ठुलो ब्यवसायीक योजनाका साथ भवन निर्माण गर्ने र धेरै सदस्य संख्या भएको संस्था विन्धबासिनी हो ।

सहकारीहरुले बचत र ऋणको मात्रै कारोवार गरिरहेको आरोप झेल्दै आएको अवस्थामा विन्धबासिनीले सदस्यहरुलाई ब्यवसायीक योजनाका साथ बहुउद्देश्यीय भवनबाट सेवा दिन शुरु गरेको सचिव रामशरण भण्डारीले बताउनु भयो ।
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले मुलुक निर्माण र नागरिकहरुको आर्थिक समृद्धका लागि सहकारीहरुले खेलेको भूमिका महत्वपूर्ण भएको बताउनु भयो ।

भवन शिल्यान्यास कार्यक्रममा अध्यक्ष थापा, उपाध्यक्ष एवं भवन निर्माण समितिका संयोजक भिमसेन सापकोटा, सचिव रामशरण भण्डारी, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिना, संस्थाका पुर्व अध्यक्ष भरत शर्मा, संचालक सदस्यहरु, उप समितिका सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्