राजन र देविकाको सच्चा नेपाली राष्ट्रिय गीत सार्वजनिक



काठमाडाैं । गायकगायिका राजन इशान र देविका बन्दनाले गाएको पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर त्यही सच्चा नेपाली बोलको राष्ट्रिय गीत सार्वजनिक गरिएको छ।

गीतको म्युजिक भिडियोमा देशका ३० भन्दा बढी कलाकारले अभिनय गरेका छन्। गीतको म्युजिक भिडियोमा शताब्दी पुरुष सत्यमोहन जोशी ख्यातिप्राप्त अभिनेता नीर शाहदेखि आकाश श्रेष्ठसम्मले अभिनय गरेका छन्। सच्चा नेपालीको गुणको बयान गरिएको गीतमा आनन्द अधिकारीको रचना छ भने संगीत राजन इशानले नै भरेका छन्। गीतको म्युजिक भिडियोको निर्देशन भने अभिनेत्री तथा निर्माता रोशनी केसीले गरेकी छिन्।

उनले लोकतन्त्र पार्क, पाटन, पशुपति क्षेत्रलगायतका स्थनमा ४ दिन लगाएर गीतको म्युजिक भिडियो सुटिङ गरिएको जानकारी गराइन्। ‘यति धेरै कलाकार जुटाएर काम गर्न एकदमै गाह्रो थियो। तर, आज जताततै मन फुटेको अवस्थामा यस्ता गीतले देश सम्झेर जोडिन प्रेरित गर्छन् भन्ने लागेर काम गरेका हौं’, रोशनीले भनिन्– ‘यसले राजनैतिक नेता तथा कार्यकर्तालाई पनि झकझक्याउने विश्वास लिएकी छु।’

फिल्म यात्राका निर्माता चिजकुमार श्रेष्ठद्वारा निर्मित गीतको म्युजिक भिडियोमा संस्कृतविद् सत्यमोहन जोशीका साथमा कलाकारहरु नीर शाह, गौरी मल्ल, करिश्मा मानन्धर, निर्मल शर्मा, राजाराम पौडेल, धीरेन शाक्य, सम्राट सापकोटा, दिलीप रायमाझी, गायिका देविका बन्दना, दीपाश्री निरौला, दिनेश डिसी, नम्रता सापकोटा, निराजन प्रधान, प्रशान्त ताम्राकार, आकाश श्रेष्ठ, उषा खड्गी, कविता शर्मा, अनु शाह, छुल्ठिम गुरुङ, शिवशंकर रिजाल, खुश्बु खड्का, कविता खड्का, दीपा शाक्य, रजनी केसी, दीपक घिमिरे, शिलास्मा हमाललगायत ३० भन्दा बढी चर्चित अनुहारको अभिनय समेटिएको छ।

रामशरण उप्रेतीद्वारा छायांकन गरिएको उक्त भिडियोमा विक्रम स्वा“रको कोरियोग्राफी रहेको छ। भिडियो अर्जुन जिसीले सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्