सलाम शिव दाइ



सरकारले हल खोल्ने अनुमति नदिए पनि वितरक तथा प्रदर्शकहरुको संस्था नेपाल चलचित्र संघले गत पुस १० गते एकलरूपमा हल सञ्चालनमा ल्याएपछि उनीहरुको निर्णयमा होस्टेमा हैंसे गर्दै आप्नो फिल्म रिलिज गर्न तयार भएका अभिनेता तथा निर्माता शिव श्रेष्ठको कदमको स्वागत गर्दै फिल्मकर्मीहरुले उनलाई साथ दिन थालेका छन्।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति (सीसीएनसी) ले केही अघि र सरकारले हालै मात्र हल खोल्न अनुमति दिए पनि शिवले त्यसअघि नै हलवालाको एकल निर्णयलाई सघाउँदै माघेसंक्रान्तिको अवसरमा भोलि बिहीबारदेखि आप्नो फिल्म एउटा यस्तो प्रेम कहानी रिलिजमा ल्याउने निर्णय गरेका थिए। फिल्म व्यवसायी प्रदीपकुमार उदयले त एउटा यस्तो प्रेम कहानीलाई आप्नो सिनेमा हलमा भएको व्यवसायको ७० प्रतिशत शेयर दिने घोषणा नै गरेका छन्।

उदयले बुटवलस्थित द्वारिका उदय सिनेमाजले उक्त फिल्मलाई ७० प्रतिशत शेयर दिने घोषणा गरेका हुन्। उदयले अन्य प्रदर्शकलाई समेत निर्माता श्रेष्ठलाई सकेसम्म बढी शेयर दिन आह्वान गरेका छन्।‘म शिव दाइको यो योगदानको कदर गर्दछु र हाम्रो सिनेमा घरले कम प्रतिशत राखेर बढी प्रतिशत शिव दाइको एउटा यस्तो प्रेम कहानी फिल्मलाई दिनेछ’, प्रदीपले फेसबुकमा लेखका छन्– ‘हामी फिल्म व्यवसायीले यो समयमा शिव दाइलाई बढी भन्दा बढी सहयोग गर्नुपर्दछ। फिल्मका वितरकले कमिसन लिनुहुँदैन।

सिनेमा घरले सक्ने जति बढी प्रतिशत शेयर दिनुपर्दछ। यदि शिव दाइको फिल्मले राम्रो व्यापार गर्‍याे भने हेर्नुहोला त्यसपछि फिल्म रिलिज गर्नेहरू तँ छाडमछाड गर्ने छन्।नेपाली फिल्म क्षेत्रलाई योगदान दिने ठूला गफ छाड्नेछन्। शिव दाइ सलाम र मनबाट नमन।’ कोरोना जोखिमका कारण हल चल्ने-नचल्ने भन्ने पक्का नभएका बेला शिवले आप्नो फिल्म रिलिज गर्ने भएपछि प्रदीपले जस्तै थुप्रै कलाकार र फिल्मकर्मीबाट स्याबासी र सल्युट पाइरहेका छन्।

फिल्ममा एक्सन किङ शिव श्रेष्ठ, उनका पुत्र शक्ति श्रेष्ठ, अभिनेत्री करिश्मा मानन्धर पुत्री कविता मानन्धर, प्रियंका कार्की, आयुष्मान देशराज श्रेष्ठ जोशी, वर्षा राउत, संजोग कोइराला, वसुन्धरा भुसाल, आङ तेङ्बे शेर्पा, मिथिला शर्मा, विष्णु चेमजोङ, रेखा फागो, नरेन खड्का, सुनील कटुवाल, ध्रुव कोइरालालगायतले अभिनय गरेका छन्। फिल्म दीपेश सापकोटाको निर्देशनमा बनेको छ।

प्रतिक्रिया दिनुहोस्