बालस्वास्थ्यका पक्षमा ‘ट्विट क्याम्पेन’

मिति गुज्रेका विषसमान चकलेट वितरण गर्ने ग्रुपको लाइसेन्स खारेज गर्न माग



नेपाल समाचारपत्र, काठमाडौं

बालबालिकाको अत्यधिक रोजाइमा पर्ने चकलेटका लागि नेपाली वितरक अमेजन डिस्ट्रिब्युटर्स् र आहन डिस्ट्रिब्युटर्स्ले मिति गुज्रेका विषसमान वस्तु वितरण गरेकोमा आपत्ति जनाउँदै ‘ट्विट क्याम्पेन’ शुरु भएको छ ।

‘हामी राजधानीमा रहेका युवाले मात्र होइन, विराटनगर, पोखरा, नेपालगन्जका साथीहरुसमेत मिलेर विशाल ग्रुपसँग संलग्न रहेको अमेजन डिस्ट्रिब्युटर र आहन डिस्ट्रिब्युटरको नेपालको एजेन्सी लाइसेन्स खारेज हुनुपर्छ भन्ने माग गरिरहेका छौं’, कुलेश्वर, काठमाडौंका रमेशचन्द्र पासबानले भने– ‘ट्विट गरेरै हामी विशाल ग्रुप होस् वा अन्य कम्पनीलाई एजेन्सी दिने अन्तर्राष्ट्रिय चक्लेट उत्पादक कम्पनीलाई सावधान गराउनेछौं ।’

म्याद सकिएको चकलेटमा पुनः नयाँ मिति टाँसेर बजारमा पठाउने व्यक्तिहरुलाई प्रहरीले रंगेहात पक्राउ गरे पनि शक्तिको आडमा मुक्त गरिएपछि ट्विट अभियन्ताहरु सक्रिय भएका हुन् । ‘बालबालिकाको स्वास्थ्यजस्तो गम्भीर विषयमा रंगेहात पक्राउ परेका व्यक्तिहरुलाई सरकारले सहजैरुपमा उन्मुक्ति दिँदा गलत काम गर्नेहरु पुनः सक्रिय बन्न थालेकाले हामीले यो अभियान चलाउनुपरेको हो ।’ –उनले सेभ नेपाली चिल्डे«न भनेर फेसबुक र ट्विट अकाउन्टबाट अभियान चलाउने जानकारी दिए ।

बालबच्चाहरुले अत्यधिक खाने चकलेटमा गम्भीर खेलवाड गरिएको घटनामा नेपालको प्रभावशाली व्यापारिक घराना विशाल ग्रुपको संलग्नता रोनक बात्राको फेसबुक र ट्विटर अकाउन्टबाट पुष्टि हुन्छ । यी दुइवटै सामाजिक सञ्जालका अकाउन्ट दोषी रोनक बात्रालाई पक्राउ गरेलगत्तै हटाइएको थियो । विशाल ग्रुपले आफ्नो वेबसाइट नै करिब दुई महिनाका लागि डाउन गरेको थियो । अहिले अभियुक्तहरु धरौटीमा छुटिसकेका छन् ।

विशाल ग्रुपअन्तर्गतको आधिकारिक डिस्ट्रिब्युटर आयन इन्टरनेसनल नामको समूहका भारतीय नागरिक प्रमुख रोनक बात्रासहितका व्यक्तिलाई पक्राउ गरिएको थियो । विभागले बात्रालाई एक वर्ष जेल सजाय तोकेको छ ।

उक्त वितरक कम्पनीले बालबच्चाले खाने चकलेटलगायतका वस्तुहरुको उपभोग म्याद सकिए पनि पुनः नयाँ म्याद राखेर बजारमा बिक्री गर्दै गरेको थियो ।

खास गरी नेपालमा बालबालिकाहरुले खाने बोर्नभिटा, हर्लिक्स, स्निकर्स चकलेट, जुस बनाउन प्रयोग हुने ट्याङ पाउडर, प्रिंगल्स चिप्स, ओरियो बिस्कुटलगायतका उत्पादनहरुको मिति सकिए पनि पुनः नयाँ मिति राखेर बजारमा पठाउने गरेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

नेपालको खाद्य कानुनअनुसार यदि बजारमा पठाइएका कुनै पनि खाद्यवस्तुको उपभोग्य मिति सकिएको छ भने त्यस्ता सामानलाई फिर्ता गरी नष्ट गर्नुपर्छ । फेरि नयाँ लेबल टाँसी बजारमा पठाउनु गैरकानुनी मात्र नभई अमानवीय र मानव स्वास्थ्यमाथिको गम्भीर अपराध ठहर्छ । बच्चाजस्तो जोखिम उमेर समूहकाले बढी रुचाउने वस्तुमै पनि नयाँ स्टिकर राखेर बजारमा पठाउनु गम्भीर अपराध र अमानवीय कार्य भएको डा. अरुणा उप्रेती बताउनुहुन्छ ।

विशाल ग्रुपअन्तर्गतका कम्पनीहरुले आयात गर्ने विभिन्न वस्तुको स्थानीय वितरक आयन डिस्ट्रिब्युटर र एमेजन डिस्ट्रिब्युटर रहेको देखिए पनि विशाल ग्रुपमाथि कुनै पनि कारबाहीको प्रक्रियासमेत अघि बढाइएन । विशाल गु्रपको आधिकारिक युनाइटेड डिस्ट्रिब्युटर र लाइफ केयर इन्टरनेसनलबाट आयनले ती खाद्यवस्तु खरिद गर्ने गरेको खुल्दासमेत विशाल गु्रुपले भने उन्मुक्ति पाएको छ ।

 

विशाल गु्पले नेपालमा भारत तथा तेस्रो मुलुकबाट महँगा चकलेटहरुसमेत आयात गर्ने गर्छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले रिलेबलिङ गरिएका उपभोग्य वस्तु, रिलेबलिङ गर्ने मेसिन तथा लेबल मेटाउन प्रयोग गर्ने केमिकलसमेत भेटिएको प्रमाणको आधारमा उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ४० को उपदफा १ बमोजिम एक वर्ष कैद सजायको फैसला सुनाउनुभएको थियो ।

बालबालिकाको स्वास्थ्यमाथि गम्भीर अपराध गरेको विशाल गु्प र आयानलाई ठूलो कानुनी कारबाही नगरी सामान्य प्रक्रिया पूरा गरेर मात्र छोडिदिएको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन बताउनुहुन्छ । ‘यस केसमा मुलुकी अपराध संहिता २०७४ को दफा १०८ र १०९ आकर्षित हुनुपर्नेमा अपराधीलाई विधि पु¥याएर छोड्ने काम भएको छ’, उहाँले भन्नुभयो– ‘बालबालिका अहिले पनि विषजस्तै चकलेट खान बाध्य छन् ।’

संहिताको दफा १०८ को उपदफा १ मा भनिएको छ– ‘कसैले कुनै एक खाद्य पदार्थलाई अर्को खाद्य पदार्थ हो भनी न्यून गुणस्तरको खाद्य पदार्थ वा अखाद्य पदार्थलाई उच्च गुणस्तरको खाद्य पदार्थ हो भनी ढाँटी वा झुक्याई वा कुनै उच्च गुणस्तरको खाद्य पदार्थमा निम्नस्तरको खाद्य पदार्थ वा अखाद्य पर्दा मिसावट गरी बिक्रीवितरण गर्नुहुँदैन ।’

यो कसुर गर्ने वा गराउने व्यक्तिलाई ५ वर्षसम्म कैद वा ५० हजार जारिवाना वा दुवै हुनसक्ने स्पष्ट व्यवस्था छ । तर विभागले बात्रालाई एक वर्ष जेल सजाय सुनाएर अरु पक्राउ परेका व्यक्तिहरुलाई तारेखमा छोडिदिएको छ । ‘बालबालिकाले नियमित खाने गरेका चकलेट, वृद्धवृद्धा र बिरामीले खाने गरेको हर्लिक्समा बदमासी गर्नु भनेको आम मानिसको स्वास्थ्यसँग खेल्नु हो । राज्यले यसलाई कसरी कमजोर मुद्दा भन्ने आँट गर्छ ?’ –महर्जनले भन्नुभयो ।

 

म्याद गुज्रिएको सामग्री खाँदा स्वास्थ्यमा गम्भीर समस्या पर्ने डा. उप्रेती बताउनुहुन्छ । उहाँले भन्नुभयो– ‘म्याद गुज्रिएको खाद्यवस्तुले आज खाएर भोलि नै असर त गर्दैन तर अखाद्य वस्तु खाँदा शरीरभित्र ढुसी पैदा हुन्छ, ढुसीको कारण मुटु र कलेजोमा गम्भीर असर पार्छ ।’

ट्विट अभियानमा सक्रिय पासवान भन्नुहुन्छ– ‘बाहिरी मुलुकमा ट्विटरलाई गम्भीररुपमा लिइन्छ, हामी हाम्रा ट्विटरहरु विशाल गु्रपलाई एजेन्सी दिने उत्पादकलाई ट्याग गर्दै छौं, सेभ नेपाली चिल्ड्रेन सरकारले कारबाही गर्न नसकेका कारण संगठित भएको हो, यसले बदमासहरुको लाइसेन्स नखोसाई चुप लाग्दैन । हामी संसारभर रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई हाम्रो अभियानप्रति समर्थन जनाउन आग्रह गर्दछौं ।’

प्रतिक्रिया दिनुहोस्