अन्नपूर्ण गाउँपालिकामा विद्यार्थीलाई कोरोनासम्बन्धी विषयमा सचेतना



प्रताप बानियाँ, म्याग्दी ।

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा सञ्चालित विद्यालय तहका विद्यार्थीहरुलाई लक्षित गरेर कोरोना भाइरससम्बन्धी सचेतनामूलक कार्यक्रम सुरु भएको छ । यसैक्रममा आइतबार कोभिड–१९ अस्थायी अस्पतालद्वारा अन्नपूर्ण–६, घारस्थित पोखरेबगरको पोखरे आधारभूत विद्यालयमा सचेतनाको कार्यक्रम गरिएको हो ।

कार्यक्रममा कोरोना भाइरसको जानकारी, सर्ने माध्यम, लक्षणहरु, रोकथामका उपाय र सुरक्षाका विधिको बारेमा सहजीकरण गरिएको अस्पतालले जनाएको छ । यसैगरी कार्यक्रमको अवसरमा विद्यार्थी तथा अभिभावकलाई साबुनपानीले मिचीमिची हात धुने र मास्क लगाउने तरिका, स्यानीटाइजरको प्रयोग एवं कसैलाई संक्रमण भएमा अस्पतालसम्म कसरी पुग्ने भन्ने विषयमा अस्पताल प्रमुख डाक्टर लक्ष्मी पन्थीले सहजीकरण गर्नुभएको थियो ।

उक्त सचेतनामूलक कार्यक्रममा अस्पतालका स्टाफनर्सद्वय अन्जना पूर्जा र सिमरन खड्काले पनि सहजीकरण गरेको जनाइएको छ । सोही अवसरमा समुदायस्तरमा जो कसैलाई पनि कोरोनाको लक्षणहरु देखिएमा कोभिड अस्पतालमा तुरुन्तै खबर गर्न आग्रह गरिएको डा. पन्थीले बताउनुभयो ।

कार्यक्रममा अभिभावक, शिक्षक र विद्यार्थी गरी ६० जनाको सहभागिता जनाएका थिए । विद्यालयस्तरमा गरिएको सचेतनामूलक कार्यक्रमले आगामी दिनमा समुदायस्तरमा कोरोना न्युनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

विद्यालयका प्रधानाध्यापक सुनिता बरुवालले डाक्टर तथा स्टाफनर्सले चलाएको सचेतनामूलक अभियानले कोरोनासम्बन्धी स्पष्ट रुपमा जानकारी पाउनुका साथै नयाँ प्रजातिको कोरोना भाइरस अन्नपूर्णभित्र प्रवेश हुन नदिन सहयोग पुग्ने हुँदा अस्पताललाई धन्यवाद दिनुभयो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजाराम बरुवालको अध्यक्षता र प्रअ सुनिता बरुवालको सञ्चालनमा सम्पन्न भएको थियो । आगामी दिनमा अन्नपूर्णको अन्य विद्यालय तथा समुदायस्तरमा पनि सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने अस्पतालको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्