ज्यान जोखिममा राखेर सक्रिय रहे खड्का



फिरोज राजोपाध्याय । 

कोभिड– १९ ले विश्वका सबैजसो व्यक्तिलाई घरमै कैद गराएको बेला बाहिर निस्केर सहयोगमा समर्पित हुने व्यक्ति प्रशंसाका पात्र छन्। यस्तै, प्रशंसायोग्य व्यक्ति हुन् अशोक खड्का। काठमाडौंको डाछीस्थित नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का अध्यक्ष खड्काले कोरोनाको जोखिममा पनि लगातार पीडितहरूलाई सहयोग गर्नुभयो। खड्का र उनका सहयोगी लकडाउनभरि नै डटिरहनुभयो।

’लकडाउनमा घर–घरमै बस’ भनेर सरकारले निर्देशन दिएपछि प्रायःजसोको एक छाक टार्न पनि मुस्किल भएको सबै क्षेत्र ठप्प हुन थालेपछि कमाएर खानुपर्ने वर्गका लागि आम्दानी कतैबाट पनि हुन छाड्यो। यस्तो अवस्थामा कोरोनाले मार्नुभन्दा पनि भोकभोकै मर्ने अवस्था सिर्जना भयो। यस्तो स्थितिमा अध्यक्ष खड्का पीडित–प्रभावितहरूका लागि राहतमा जुट्नुभयो। जुन बेला नेपालमा लकडाउन भयो त्यतिबेला कोरोना लागेपछि बच्ने सम्भावना नै छैन भन्ने सोचाइ थियो। मान्छेहरू आत्तिएको अवस्था थियो। यस्तो अवस्थाको बेवास्ता गर्दै तेक्वान्दोका पूर्वखेलाडी खड्काले राहत दिन शुरू गर्नुभयो। त्यो पनि एक दुई दिन होइन, उहाँले लगातार ८० दिन राहत वितरण गर्नुभयो। कोरोनाबाट बच्न सावधानी अपनाएर उहाँले आफ्नै निजी गाडी प्रयोग गर्दै राहत बाँड्न लाग्नुभयो।

अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायकसमेत रहेका खड्का भन्नुहुन्छ— ‘कोरोनाले भन्दा पनि भोकले मर्नेजस्तो देखियो। यसअघि, २०७२ सालको महाविनाशकारी भूकम्पमा पनि हामीले भूकम्पपीडितहरूका लागि राहत बाँडेका थियौं। हामीले अहिले यस्तो जोखिममा पनि विभिन्न ठाउँमा गएर आवश्यकअनुसार ती पीडितहरूलाई सहयोग गरेका छौं। अहिले कोरोना नभएजस्तो गरी मान्छेहरू हिँडेको हुँदा यसबारे अहिले हामी सक्रिय हुन सकेनौं। तर, पीडित अझै कोही छन् भने हामी आवश्यक परेमा अझै सहयोग गर्नेछौं।’

कोभिडका कारण धेरैको आर्थिक अवस्था कमजोर बनेको छ। कागेश्वरी मनोहरा नगरपालिकाका वडाहरूमा बसोबास गरेका मजदुर, अपांग, एकल महिला, गरिब विपन्न गरी ८५ परिवारलाई राहत वितरण गरियोे। खड्काको नेतृत्वमा कागेश्वरी मनोहरा नगरपालिका वडा १ र २ का स्वास्थ्य चौकी, थली प्रहरी चौकी र कागेश्वरी मनोहरा नगर प्रहरीमा स्वास्थ्य सामग्री उपलब्ध गरायो। सुरक्षाकर्मीहरूलाई मास्क र पञ्जा वितरण गरिएको थियो। खड्काले जानकारी गराएअनुसार त्यस ठाउँमा सुरक्षाकर्मीलाई समेत सरकारले मास्क र पञ्जा उपलब्ध गराउन नसकेको अवस्था थियो। तर, उहाँले सुरक्षाको ध्यानमा राखेर सुरक्षाकर्मीहरूलाई स्वास्थ्य सामग्री प्रदान गर्नुभयो।

यसैगरी, मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंशालामा रहेका सुकुमबासी बस्तीका १० घरका परिवारलाई एनटीएमार्फत् राहत वितरण गरियो। एक परिवारलाई करिब २ हजार १ सय नगदसहित खाद्यान्न सामग्री वितरण गरिएर कोरोनामा खानै नपाएका व्यक्तिलाई राहत प्रदान गर्नुभयो। यस्तै, एनटीएले मनोहरा नगरपालिकापछि गोदावरी नगरपालिका, गोकर्णेश्वर नगरपालिका, बुढानीलकण्ठ नगरपालिका, काठमाडौैं महानगरपालिका र ललितपुर महानगरपालिका विभिन्न क्षेत्रमा सहयोग प्रदान गर्‍यो। त्यहाँका बासिन्दामा रहेका मजदुर, गरिब, अपाङ, बाल आश्रम, वृद्धा आश्रम र सुकुम्बासीहरूले राहत प्राप्त गरे। यस्तै, पारा राष्ट्रिय खेलाडीहरू, केही डोजाङका खेलाडीलाई समेत सहयोग गरियो। लकडाउनले गर्दा विभिन्न क्षेत्रमा रहेका पशुपंक्षी र बाँदरहरूसमेत खान नपाएको अवस्था थियो। तर, एनटीएले ती पशुपंक्षी र बाँदरहरूका लागि पनि आहार जुटाइदियो। यसैगरी, उहाँले मिर्गौला पीडितहरूलाई पनि रकम जुटाउन नसकेको अवस्थामा नगद हस्तान्तरण गरेर राहत प्रदान गर्नुभयो।

अध्यक्ष खड्काले यसबारे भन्नुभयो—‘हामीले यो लकडाउनमा खान नपाएर विचलित भएका परिवारहरू, मजदुर मात्र होइन पशुपंक्षी, बाँदरहरू पनि देख्यौं। हामीले यसका लागि राहत जुटाएर सहयोग प्रदान गर्‍यौँ। चैतमा लकडाउन भएदेखि लगातार ८० दिन सबैका लागि खाद्यान्न, नगद र अन्य आवश्यक सामग्री दिएर सहयोग गर्‍यौँ। हामीले लकडाउनमा करिब ४ सय परिवारको निभेको चुलोमा आगो बाल्ने काम गर्‍यौँ। यसका लागि हामीलाई विदेशमा रहनुभएका तेक्वान्दोका पूर्वखेलाडीलगायतका विभिन्न व्यक्तिहरू र नेपाल तेक्वान्दो संघबाट पनि सहयोग प्राप्त भएको थियो।

प्रतिक्रिया दिनुहोस्