कोरोना संक्रमितलाई खेलाडीको माया



कविरस शर्मा ।

कोरोना भाइरसविरुद्धको महायुद्धमा विश्व खेल जगत्ले आ–आफ्नै तरिकाले साथ दियो। विगत एक वर्षमा कोरोनाविरुद्धको युद्धमा संसारभरका खेल संस्था तथा अनगिन्ती खेलाडीले आ–आफ्नै क्षमताअनुसार सहयोग गरे।

कोराना युद्धमा टेनिस खेलाडीको सहयोग पनि उदाहरणीय बन्यो। सहयोगको कुरा गर्दा टेनिसस्टार रोजर फेडेररको नाम शिखरमा देखिन्छ। उनी र उनकी श्रीमती मिर्काले स्विट्जरल्यान्डका कोरोनापीडित परिवारहरूका लागि १० लाख स्विस फ्राङ्क सहयोग गरे।

गत वर्ष कोरोना चरमोत्कर्षमा पुगेका बेला उनीहरूले आर्थिक अवस्था कमजोर भएका परिवारलाई सहयोग गर्नसमेत अपिल गरेका थिए। त्यस्तै, अर्का टेनिस खेलाडी सिमोना हालेपले पनि आफ्नो देश रोमानियामा मेडिकल सामग्री खरिदका लागि आर्थिक सहयोग जुटाएकी थिइन्। त्यति मात्र होइन, टेनिस वरीयताका शीर्ष खेलाडी नोभाक जोकोभिचले पनि रोजर फेडेरर र राफेल नाडालसँग मिलेर तल्लो वरीयताका खेलाडीहरूलाई सहयोग गरे।

कोरोना भाइरसका कारण सबैखाले टेनिस प्रतियोगिता स्थगित रहेको त्यस अवस्थामा जोकोभिचले सहयोग गर्नुपर्ने धारणा सार्वजनिक गर्दै फेडेरर र नाडालसँग सहकार्य गरेका थिए। जोकोभिचले टेनिसको भविष्यका बारेमा चिन्ता व्यक्त गर्दै खेल छाड्ने मनस्थितिमा पुगेका तल्लो वरीयता प्राप्त खेलाडीको सहयोगमा जुटेका थिए। उनको अगुवाइमा शीर्ष वरीयताका खेलाडी, एटीपी टुर र चारवटै ग्रान्डस्लाम मिलेर खेलाडी राहत कोषको स्थापना गरी सहयोग उपलब्ध गराएका थिए।

त्यस्तै, वर्तमान फुटबल जगत्का नक्षत्रद्वय लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डोले पनि कोरोनाविरुद्धको अभियानमा मनग्गे सहयोग गरेका थिए। उनीहरूले लाखौंलाख युरो सहयोग गरेका थिए। मेसीले आफ्नो कर्मभूमि बार्सिलोनामा रहेको अस्पताल तथा क्लिनिकका लागि नगद सहयोग प्रदान गरेका थिए। त्यसै गरी, रोनाल्डोले पनि पोर्चुगलको लिस्बन र पोर्टोमा रहेको अस्पतालमा आवश्यक औषधिजन्य सामग्रीका लागि नगद सहयोग उपलब्ध गराएका थिए।

त्यस्तै, इंग्लिस प्रिमियर क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले पनि कोभिड–१९ विरुद्वको महाअभियानमा स्पेनको क्याटलान अर्थात् बार्सिलोना क्षेत्रका लागि १० लाख युरो सहयोग गरेका थिए। उनले कोरोना संक्रमणविरुद्व लड्न क्याटलान क्षेत्रका क्लिनिक तथा सार्वजनिक अस्पतालका लागि उक्त रकम दिएका थिए। सो सहयोग बार्सिलोनाको मेडिकल कलेज र डेनियल फाउन्डेसनद्वारा सञ्चालित अभियानका लागि खर्च गरिएको थियो।

कोरोनाविरुद्धको सहयोगमा फ्रेन्च युवास्टार क्लियन एम्बाप्पे, डेभिड हे गेयालगायत स्पेनका स्टार खेलाडीहरू सर्जियो रामोस, जेरार्ड पिके र सेन्टी कार्जाेलाले पनि साथ दिएका थिए। कोभिड–१९ विरुद्ध संगीत र फुटबल भन्ने नारा दिइएको एक कार्यक्रममार्फत स्पेनका केही लोकप्रिय कलाकार र फुटबल स्टारहरूको संयोजकत्वमा उनीहरूले सहयोग रकम जुटाएका थिए। उनीहरूसँग स्पेनका पूर्वअन्तर्राष्ट्रिय खेलाडी फर्नान्डो मोरिएन्टेस, रियल सोसिडाडका एसियर इलला रामेन्डी र रियल मेड्रिडका लुकास भास्क्वेज पनि जोडिएका थिए।

त्यस्तै, इंग्लिस प्रिमियर क्लब ब्राइटन र बर्नामाउथले पनि १ लाख वटा टिकट बराबरको रकम चिकित्सक तथा स्वास्थ्यकर्मीलाई उपलब्ध गराएका थिए। जर्मन राष्ट्रिय फुटबल टिमले पनि २७ लाख अमेरिकी डलर सहयोग गरेका थिए।

त्यसै गरी, इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलबाट खेल्ने सेनेगलका खेलाडी साडियो मानेले पनि आफ्नो देशमा कोरोनाविरुद्धको अभियानका लागि ५० हजार अमेरिकी डलर सहयोग गरे। त्यस्तै, विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पनि कोरोनाबाट बच्नका लागि संसारभर करोडौं डलर प्रदान गर्‍यो।

विश्व क्रिकेटकै धनी संस्थामध्येको एक भारतीय क्रिकेट बोर्ड बीसीसीआईले पनि कोरोनाविरुद्धको अभियानमा करोडौं भारतीय रुपियाँ सहयोग गर्‍यो। मास्टर ब्लास्टरबाट परिचित भारतीय क्रिकेट लेजेन्ड सचिन तेन्दुलकरले पनि ५० लाख भारतीय रुपियाँ सहयोग गरे। सहयोगकर्ताको सूचीमा पाकिस्तानी क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदीले पनि आफ्नो देशमा कोरोनाबाट मर्कामा परेका नागरिकलाई आवश्यक दैनिक उपभोग्य सामग्री उपलब्ध गराएका थिए। अर्को दक्षिण एसियाली राष्ट्र बंगलादेशको राष्ट्रिय क्रिकेट टिमका सदस्यले पनि आफ्नो मासिक तलबको आधा रकम कोरोनाविरुद्धको अभियानमा सहयोग गरेका थिए, जुन ३० हजार अमेरिकी डलर बराबर रहेको थियो।

तीबाहेक खेल गतिविधि ठप्प भएका कारण तलब र ज्याला नपाएका खेल कर्मचारीहरूलाई पनि खेलाडीहरूले सहयोग जुटाए। कोरोनाको त्रास चरमबिन्दुमा पुगेको त्यस समय विश्वभर लगभग सबैखाले खेलकुद प्रतियोगिता स्थगित भएका थिए, अथवा मिति सारिएको थियो जसले गर्दा त्यससँग सम्बन्धित कर्मचारीको दैनिक ज्याला र तलब पाएका थिएनन्। ती सबै कर्मचारीको आवश्यकतालाई मध्यनजर गरी क्लब तथा खेलाडीहरूले पनि सहयोगका लागि अग्रसरता देखाएका थिए।

अमेरिकी बास्केटबल लिग एनबीए र मेजर लिग बेसबल (एमएलबी) का खेलाडीहरूले खेल कर्मचारीलाई सघाएका थिए। जसमध्ये एनबीए टिम युटा जेजका खेलाडी रूडी गोबर्टले करिब ६ करोड नेपाली रुपियाँ बराबर रकम सहयोग गरे। त्यस्तै एलए क्लिपर्स, लेकर्स र सेक्रेमेन्टो किंग्स जस्तो ठूला एनबीए टिमले पनि ५० लाख डलरभन्दा बढी सहयोग गरेका थिए। बेसबल टिम ह्युस्टन एस्ट्रोसका जर्ज स्प्रिंगर र एलेक्स ब्रेगमेनले पनि १ करोड २० लाख नेपाली रुपियाँ बराबरको रकम सहयोग गरेका थिए।

यस्ता अन्य सयौं सहयोगमध्ये यी केही प्रतिनिधि सन्दर्भ मात्र हुन् जसले समाजमा सिर्जना भएका समस्यालाई खेलाडीहरूले आफ्नै समस्या ठाने। सहयोगका लागि हात बढाए।

प्रतिक्रिया दिनुहोस्