जातकै कारण आमाबुवाबाटै मारिइन मानाकुमारी



कृष्णउदास खनाल, वीरगन्ज ।

पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ९ की १५ बर्षीया किशोरी माना कुमारीको आँखामा धेरै सपना थिए । स्थानीय बिद्यालयको कक्षा ९ मा पढ्दै गरेकी माना कुमारीको मनमा सयौं सपना थिए । ठूलो मान्छे बन्ने, बुवा आमा र देशको सेवा गर्ने । उनलाई पढाउने एक शिक्षकले नै माना कुमारीलाई राम्रो लगाउने र मिठो खाने कुरा दिन्थे । माना कुमारीले सोच्थिन आखिर गुुरुले दिएको खान किन नहुने ?

शिक्षक कथित दलित समुमदयाका थिए । शिक्षकले सायद माया गर्थे मानालाई केवल चेलीको रुपमा । पढेर बावुआमको सपना पूरा गर्ने मानाको सपनामाथि बावुआमाले नै तुषारापात गरिदिए यही कार्तिक २९ लक्ष्मीपूजाको दिन,सबैतिर झिलीमिली थियो । मानापनि दीपावलीमा थिइन् । बेलुका खाना खाएर सबै सुते ।

माना कुमारी पनि सुतिन् तर पापी माना कुमारीकी आमाले जब छोरी सुतिन् अनि राक्षसी रुप देखाउन थालिन् । आफैले नौं महिना गर्भमा राखेर ,प्रश्रव पीडा खपेर जन्माएको छोरी सुतेको ठाउमा आगो लगाइदिइन् त्यही जलेर मानाको ज्यान गयो । जब इलाका प्रहरी कार्यालय पोखरियाले यस बिषयमा लामो अनुसंधान गर्यो तब घटना बावपु र आमाको मिलोमतोमा भएको पुष्टी भयो । गएको कात्तिक २९ गते पर्साको बहुदरमाई नगरपालिका–८ रामनगरीमा राति १० बजेतिर फुसको घरमा भएको आगलागीमा परि मनबोध साह तेलीकी १५ वर्षीया छोरी माना कुमारीको मृत्यु भएको थियो ।

सुरुमा प्रहरीलाई घरमा आगलागी भयो भनेर मात्रै जानकारी दिइएको थियो । दमकलको सहयोगमा आगो निभाएपछि घर भित्र माना कुमारीको शव भेटिएको थियो । उनी निदाएकै अवस्थामा जलेर मरेको भन्ने दाबी परिवारजनले गरेका थिए । तर घटनास्थलमा अनुसन्धानका लागि पुगेका प्रहरी अधिकृतले शवको प्रकृति हेरेपछि शंका लागेर अनुसन्धान सुरु गरेपछि घटनाको वास्तविकता पत्ता लागेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक दीपक थापाले बताउनुभयो ।

छोरीसँगै सुत्ने गरेकी आमा लालमती देवी सकुशल रहेको र छोरीको उद्धारका लागि कसैले प्रयास नगरेको बुझेपछि प्रहरीलाई आशंका भएर प्रहरीले अनुसन्धान गर्दै जाँदा तल्लो जातको केटा(शिक्षक)सँग लागेको भनेर हत्या गरेको रहस्य खुलेको प्रहरी निरीक्षक थापाले बताउनुभयो ।

मृतक बालिकाकी भाउजु २२ वर्षीया मनिषा देवीले नन्दलाई सासु लालमतीले आगोमा जलाई फुसको छानामा समेत आगो लगाएको कुरा एक महिनापछि प्रहरीलाई बताएकी थिइन् । लालमती देवीलाई पक्राउ गरी थप अनुसन्धान गर्दै जाँदा तल्लो जातको केटासँग लागेकाले श्रीमान मनबोधसँगको सल्लाहमै छोरीको हत्या गरेको आमा लालमतिले स्वीकारकी हुन् ।

लालमतीका श्रीमान मनाबोध फरार छन् । उनको नाममा पर्सा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिसकेको छ । लालमती देवीविरुद्ध पुस २२ गते पर्सा जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । उनी पुर्पक्षका लागि कारागारमा छिन् ।

प्रतिक्रिया दिनुहोस्