बार्सिलोनाले जित्दा रियल रोकियो



एजेन्सी ।

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकाल्दा रियल मेड्रिड भने बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले ग्रानाडालाई उसैको घरेलु मैदानमा ४–० को फराकिलो गोलअन्तरले पराजित गर्दा अर्का महारथी रियल मेड्रिड भने ओसासुनासँग गोलरहित बराबरीमा रोकिएको छ । कप्तान लियोनल मेसी र एन्टोनी ग्रिजम्यान चम्किँदा बार्सिलोनाले सानदार जित निकालेको हो । अवे मैदानमा बार्सिलोनालाई जिताउन मेसी र ग्रिजम्यानले समान दुई–दुई गोल गरे ।

ग्रानाडाको घरेलु मैदानमा बार्सिलोनाले पहिलो हाफमा ३–० को सहज अग्रता बनाएको थियो । तर, बार्सिलोनाका सुरुवाती दुई गोल भने विवादित रहे । खेलको १२औं मिनेटमा ग्रिजम्यानले पहिलो गोल गरेका थिए । उनको गोल अफसाइड रहेको अवस्थामा रेफ्रीले मान्यता दिएका थिए । तर, पछि समीक्षा गर्दा सो गोल अफसाइड देखिएको थियो । त्यसपछि खेलको ३५औं मिनेटमा कप्तान मेसीले एन्टोनी ग्रिजम्यानको पासमा देब्रे खुट्टाले ग्रानाडाका डिफेन्डरका बीचबाट सुन्दर गोल गरेका थिए ।

सो गोलको मुभमा बार्सिलोनाका सर्जियो बुस्केट्सले स्पष्टै ह्यान्ड बल गरे पनि रेफ्रीले नदेख्दा र भिएआरसमेत जाँच गर्न नमानेपछि बार्सिलोनाले अग्रता दोब्बर गर्‍याे । त्यसपछि खेलको ४२औं मिनेटमा बक्स लाइन नजिकैबाट कप्तान मेसीले फ्री किकमार्फत् लो सटमा सोझै गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा ३–० को सहज अग्रता बनायो । त्यस्तै, खेलको ६३औं मिनेटमा उसामान डेम्बेलेको पासमा ग्रिजम्यानले डीबक्स भित्रबाट सुन्दर गोल गरेपछि बार्सिलोनाले सहज जित आत्मसात गर्‍याे । खेलको ६५औं मिनेटमा कप्तान मेसीलाई सब्सिच्युट गरेर मार्टिन ब्रेथवेटलाई मैदान छिराएपछि मेसीको सम्भावित ह्याट्रिक अधुरै रह्यो ।

यता, ग्रिजम्यानले ह्याट्रिक गर्ने अवसर पाए पनि सदुपयोग गर्न सकेनन् । यो जितपछि बार्सिलोना १८ खेलबाट ३४ अंक जोडेको छ । यता, पराजित ग्रानाडाको भने २४ अंक रहेको छ ।त्यस्तै, अवे मैदानमा रियलले इडेन हाजार्ड, सर्जियो रामोस, लुका मोड्रिच, कासेमिरो, करिम बेन्जेमासहितसहितका खेलाडी उतारे पनि अपेक्षित नतिजा निकाल्न सकेन । हिउँ र आँधीमय रंगशालामा रियलले खेलभरिमा जम्मा एकपटक मात्रै अन टार्गेट प्रहार गरेको थियो । रियलले ७१ प्रतिशत बल आफ्नो पकडमा राखे पनि खेलभरि नै गोल गर्न नसक्दा गोलरहित बराबरीमा रोकिएर अंक बाँड्न बाध्य भयो । यो बराबरीपछि रियलको खातामा १८ खेलबाट ३७ अंक भएको छ । रियललाई बराबरीमा रोकेको ओसासुनाको भने १७ खेलबाट १५ अंक पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्