नेकपा काभ्रेको ६ सय ९९ सदस्यीय कमिटी, २ महिने अभियानको कार्यतालिका सार्वजनिक



मोतीराम तिमल्सिना, काभ्रे ।

नेकपा काभ्रेले जिल्ला कमिटी संयोजक रुकु चौलागाई र सचिव टोकबहादुर वाईवाले पार्टी हित विपरित कार्य गरेको आरोप लगाउँदै पदमुक्त गरी अशोक ब्याञ्जु अध्यक्ष र नारायण पाण्डेलाई सचिवको जिम्मेवारी दिएसँगै ६ सय ९९ सदस्यीय जिल्ला कमिटीको घोषणा गर्दै दुई महिने पार्टी अभियान सार्वजनिक गरेको छ ।

अध्यक्ष अशोक ब्याञ्जुको अध्यक्षतामा सम्पन्न बैठकले पार्टी एकताको मर्म, भावना र बिधान विपरित पार्टीमा निरन्तर गुटबन्दी गरि सिंगो पार्टीलाई गतिहीन र अकर्मण्य बनाउने तथा ब्यक्तिवादी तुष्टिकरण र पदलोलुपता प्रकट गर्दै आत्मकेन्द्रित सोचका आधारमा काममा अवरोध सिर्जना गरी सरकार र मुलुकलाई राजनितिक अस्थिरताको दुष्चक्रमा फसाउने नियतका साथ पार्टीको नेतृत्वको जननिर्वाचित बहुमतको सरकार विरुद्ध पार्टी भित्रैबाट अविस्वासको प्रस्ताव दर्ता गर्ने जस्तो पार्टी अनुशासन विरोधी कार्यप्रती खेद ब्यक्त गर्ने निर्णय गरेको छ ।

लोकतान्त्रिक राजनितिक ब्यवस्थामा राज्य शक्ति निर्माणको मुल श्रोत जनता नै भएको यथार्थतालाई मुर्त रुप दिनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशको लागि प्रतिनिधीसभा विघटन गरि निर्वाचनको मिति समेत घोषणा गर्नु भएको कुरालाई लोकतन्त्रको उत्कृष्ट अभ्यास भएको स्वीकार गर्दै सो निर्णयको स्वागत गर्ने निर्णय गरेको छ ।

नेकपा काभ्रे जिल्ला कमिटी विगतमा जस्तै शान्तिपूर्ण पहलकदमी र प्रतिष्पर्धा मार्फत निर्वाचनमा श्रेष्ठता हासिल गर्न एकताबद्ध भएर सफलता हासील गर्न योजनाबद्ध ढंगबाट तयारी गर्ने निर्णय गरेको अध्यक्ष अशोक ब्याञ्जुले जानकारी दिनु भएको छ । बैठकले लोकतन्त्रलाई थप सुदृढ गर्न, समृद्धीको अभियानलाई पूर्णता प्रदान गर्न र कम्युनिष्ट आन्दोलनलाई थप मजबुत बनाउन आगामी निर्वाचनलाई अवसरको रुपमा आत्मसात गर्दै सम्पूर्ण पार्टी पंक्तीलाई निर्वाचनमा केन्द्रीत हुन आव्हान गरेको छ ।

बैठकले मुलुकमा उत्पन्न भएको विशिष्ट राजनितिक अवस्थामा नेपाली कम्युनिष्ट आन्दोलनमा देखापरेका गुट फुट र विखण्डनकारी प्रबृत्ती र गतिविधीलाई परास्त गर्ने दृढ संकल्प गर्दै प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरिरहनुभएको नेपाल कम्यूनिष्ट पार्टीको मूलधारमा दृढतापूर्वक उभिन सिंगो पार्टीपंक्ती, जननिर्वाचित प्रतिनिधीहरु र आम प्रगतिशील, न्यायप्रेमी, देशभक्त, लोकतान्त्रिक तथा विकासप्रेमी काभ्रेली जनसमुदायमा आव्हान गर्ने निर्णय गरेको छ ।

बैठकले जिल्ला तहमा पार्टी एकता भएको करिव अढाई बर्षको अवधिमा जिल्ला कमिटीको एउटा पनि बैठक र कुनै पनि कार्यक्रम हुन नसकेको भन्दै कमिटीको नेतृत्व गर्नुहुने अध्यक्ष र सचिवको असक्षमताका कारण पार्टीको समग्र कमिटी प्रणाली र पार्टीजीवननै अवरुद्ध हुन पुगेको निश्कर्ष निकालेको छ । त्यति मात्र नभई पार्टीको नेतृत्व गर्नुको सट्टा गुटगत गतीविधी गर्ने, बिभिन्न पार्टी परित्याग गरि नेकपामा प्रवेश गर्ने निर्धारित कार्यक्रमहरु अवरुद्ध गरि विरोधी पार्टीलाइ बल पु¥याउने, फुटपरस्त गतिविधीमा सामेल हुने, गुटगत भेला आयोजना गरि पार्टी एकतालाई भाँड्ने लगायतका पार्टी संगठन विरोधी गतिविधीमा संलग्न भएका कारण जिल्ला कमिटी अध्यक्ष रुकु चौलागाई र सचिव टोक बहादुर वाईवालाई क्रमसः जिल्ला कमिटीको अध्यक्ष र सचिव पदबाट पदमुक्त गर्ने जिल्ला कमिटीको २०७७ पौष १४ गतेको बहुमतको निर्णयलाई स्वागत गरेको छ ।

बैठकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दशौं काभ्रे जिल्ला अधिवेशन आयोजक कमिटी गठन गर्ने निर्णय गरेको छ । हाल जिल्ला कमिटीमा रहेको १ सय २४ संख्यालाई कायम राख्दै कुल ६ सय ९९ जना सदस्य रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दशौं काभ्रे जिल्ला अधिवेशन आयोजक कमिटी गठन गर्ने निर्णय गरेको छ । जस मध्ये ७२ सिट जिल्ला कमिटीका आगामी बैठकहरुबाट आवश्यकता अनुसार मनोनयन गर्न सकिने गरि हाल रिक्त राख्ने निर्णय गरेको छ ।

जिल्ला अधिवेशन आयोजक कमिटीको पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रम २०७७ माघ ९ र १० गते बनेपामा आयोजना गर्ने निर्णय गरेको छ । जिल्लाब्यापी राजनितिक तथा सांगठनिक कार्ययोजना सम्वन्धी बैठकले निर्णय गरेको छ । विगत लामो समय देखि जिल्लाको सबै तहमा पार्टी, जनसंगठन तथा पेशागत क्षेत्रमा संगठन निर्माण, परिचालन तथा बैचारिक क्षेत्रको काम ठप्प रहेको कुरा आम पार्टी पंक्तिलाई विदितै रहेको छ । यो अवस्थाले पार्टीपंक्ती लगाएत शुभचिन्तक तथा आम जनसमुदायलाई समेत चिन्तित बनाएको छ ।

यो अवस्थाको कारणले पार्टीलाई गतिहिन बनाउँदै क्रमसः क्षयीकरण र विसर्जन तर्फ लाने, पार्टीका नेता र कार्यकर्ताहरुको उर्जा, क्षमता र बैचारिक ज्ञानलाई समाजमा प्रष्फुटित हुन नदिने, नेतृत्व निर्माण, विकास र हस्तान्तरणलाई सम्पूर्ण रुपमा समाप्त पार्ने खतरा उत्पन्न गरेकोले यो अवस्थालाई तोड्नु आजको मुल भभिभारा हो । तसर्थ जनतामा रहेको पार्टी प्रतिको विश्वास र भरोसालाई अझै उजागर गर्न र सशक्त रुपमा नवनिर्माणको नेतृत्व गर्न जिल्लाको सबै तहमा पार्टीको राजनितिक तथा सांगठनिक कार्ययोजना निर्माण गरि आम जनसमुदायको बिचमा जाने निर्णय गरिएको छ ।

सो कार्यक्रम अन्तर्गत पार्टीको जिल्ला, निर्वाचन क्षेत्र, स्थानीय तह तथा जनसंगठन र पेशागत संगठनहरुको संगठन निर्माण र परिचालन गर्ने कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय गरेको छ । माघ ३ गते देखि फागुन २२ गतेसम्म अभियान संचालन गर्ने सचिव नारायण पाण्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्