सामूहिक लगानीमा व्यावसायिक कृषि तथा पशुपालन



प्रताप बानियाँ, म्याग्दी ।

हिमाली जिल्ला म्याग्दीका युवाहरु मिलेर सामूहिक रुपमा व्यावसायिक कृषि तथा पशुपालन सुरु गरेका छन् । स्वदेशमा केही पनि काम पाइएन भन्दै विदेश जाने सपना बोकेर सफल नभएका तथा लाहुरे बनेर पेन्सन आएपछि उनीहरुले कृषि र पशुपालन व्यवसाय थालेका हुन् ।

जिल्लाको बेनी नगरपालिका–४, सिङ्गाका अणबहादुर खड्का (भगवान), प्रेम खड्का र धवलागिरि गाउँपालिका–७, ताकम धारापानीका मेसबहादुर थापा (राजेन्द्र)ले संयुक्त रुपमा लगानी गरी कृषितर्फ पशुपालन, कुखुरा र फलफुल तथा ब्लक उद्योग सञ्चालन गरेका छन् ।

तीनजना युवाहरुले सिङ्गामा ब्लक उद्योग, कृषि तथा पशुपन्छी फर्मको स्थापना गरी सञ्चालनमा ल्याएको बताएका छन् । उनीहरुले ब्रोदर्श कृषि तथा पशुपन्छी फर्म र ब्रोदर्श ब्लक उद्योग दर्ता गरी सञ्चालन गरेको बताए । आफ्नै जग्गा १५ रोपनी तथा थप ४५ रोपनी जग्गा भाडामा लिएर बोयर जातको बाख्रापालन, लोकल कुखुरापालन र पाडापाडी संरक्षणसहित पशुपालन सुरु गरेको ब्रोदर्श कृषि तथा पशुपन्छी फर्मले जनाएको छ ।

१ वर्ष अघिबाट सुरु गरिएको फर्ममा बोयर जातका ३१ वटा बाख्रा रहेको सञ्चालक भगवान खड्काले जानकारी दिनुभयो ।सञ्चालक खड्काका अनुसार फर्ममा अहिले तीनवटा माउ र ११ वटा मुर्रा एवं लोकल जातको भैंसी र पाडापाडी रहेका छन् । यसैगरी लोकल जातका कुखुरातर्फ १ सयवटा भाले र १ सयवटा पोथी पालिएको उहाँले बताउनुभयो ।

बागलुङको रायडाँडाबाट बोयर जातका बाख्रा, चितवनबाट लोकल कुखुरा र सिङ्गाको विभिन्न ठाउँबाट पाडापाडी खरिद गरेर पालिएको फर्मका सञ्चालक खड्काको भनाइ छ । फर्मका सञ्चालकहरु नाताले खड्का दाजुभाइद्वय र थापा ज्वाँई–जेठान पर्दछन् । उनीहरुलाई परिवारको तर्फबाट रत्ना र अस्मिता खड्का एवं पुष्पा खड्का (थापा)ले समेत राम्रो सहयोग गरिरहनुभएको छ ।

६० रोपनीमध्ये १५ रोपनीको जग्गामा फर्मको संरचना निर्माण र फलफुलतर्फ केरा खेती गरिएको छ भने ४५ रोपनीमा बाख्रा र भैंसीपालनका लागि विभिन्न जातका घाँस खेती गरिएको छ । भाडाको जग्गामा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दी र भू–संरक्षण कार्यालयको इकाइमार्फत प्राप्त रायखन्यु, ईपिल–ईपिल, काफल, सुपरनेपियर, बेलुवा, सुडान र जै घाँस रोपिएको सञ्चालक खड्का बताउनुहुन्छ ।

उहाँले फार्मतर्फ जग्गासहित कुल एक करोड १५ लाख रुपैयाँ लगानी गरिएको बताउनुभयो । त्यसमध्ये सिद्धार्थ बैंकको म्याग्दी शाखामार्फत सहुलियतदरमा ६५ लाख रुपैयाँ कृषि कर्जा (ऋण) लगानी गरिएको उहाँले जानकारी दिनुभएको छ । हाल ब्लक उद्योगमा सञ्चालकसहित १० जना र पशुपन्छी फर्ममा सञ्चालकसहित ५ जनाले रोजगारी पाएका छन् ।

१७ वर्षसम्म इन्डियन आर्मीमा जागिर गर्नुभएका राजेन्द्र थापाले लामो समयसम्म अर्काको देशमा काम गरेको हुँदा अब आफ्नै देशमा केही गर्नुपर्छ भनेर कृषि खेतीमा लागेको अनुभव सुनाउनुभयो । म्याग्दी जिल्लामा पछिल्लो समय व्यावसायिक कृषि तथा पशुपालनमा लाग्ने युवाहरुको सङ्ख्या बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्