व्यापारी दम्पती हत्यामा ११ वर्ष कैद



सप्तरी । हनुमाननगर कङ्कालिनी नगरपालिकामा भएको दम्पती हत्याकाण्डका एक अभियुक्तलाई आज अदालतले ११ वर्ष कैद सजायको फैसला गरेको छ । हनुमाननगर कङ्कालिनी नगरपालिका–९ की ५२ वर्षीया सरोजदेवी बेगवानी र निजका पति ५५ वर्षीय प्रेमसुख बेगवानीको हत्याका आरोपित हनुमाननगर कङ्कालिनी नगरपालिका–१ का ४० वर्षीय दाउद मियाँलाई जिल्ला अदालतले आज ११ वर्ष कैद सजायको फैसला गरेको हो ।

जिल्ला न्यायाधीश रिताकुमारी बख्रेलको इजलाशले आरोपितलाई खुनडाँका मुद्दामा ११ वर्ष कैद र एक लाख ४० हजार जरिवानाको फैसला गरेको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिनुभयो । सूचना अधिकारी बुढाथोकीका अनुसार हत्या अभियोगमा पाँच वर्ष कैद, डाँका अभियोगमा छ वर्ष कैद र एक लाख ४० हजार जरिवानाको फैसला भयो । जिल्ला अदालतमा २०७४ पुस २४ गते दायर भएको खुनडाँका मुद्दामा आरोपित पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।

व्यापारी बेगवानी दम्पतीको २०७१ जेठ २१ गते राति पसलसँगै रहेको घरमा हत्या भएको थियो । मृतकका छोरा मुकेश बेगवानीको उजुरीमा जिल्ला प्रहरी कार्यालयले आरोपितविरुद्ध कर्तव्य ज्यान, डाँका र हातहतियार खरखजाना ऐनअन्तर्गत २०७१ जेठ २३ गते मुद्दा दर्ता गरेको थियो । यसअघि हत्या आरोपमा पक्राउ परेका सुनसरीको श्रीपुर–८ का ३८ वर्षीय मो हैदर अली मियाँ, श्रीपुर–३ कुमयाहीका २४ वर्षीय सागीर मन्सुरी मियाँ, सुनसरी हरिपुर–७ भण्टाबारीका २४ वर्षीय मो कैजुम मियाँ, हरिपुर–७ का २७ वर्षीय इनर कामतलाई कैद सजायको फैसला भएको थियो ।

जिल्ला न्यायाधीश कुलप्रसाद शर्माको इजलाशले आरोपित कैजुमलाई २०७३ भदौ २६ गते हत्या आरोपमा सर्वस्वसहित जन्मकैद र डाँका मुद्दामा थप छ वर्ष गरी २६ वर्ष कैद फैसला भएको छ । यस्तै आरोपित हैदरलाई हत्या आरोपमा जन्मकैद र डाँका मुद्दामा थप छ वर्ष गरी २६ वर्ष कैद, कामत र सागीरलाई ११र११ वर्ष कैद फैसला भएको छ ।

आरोपितले डाँका गरेको गरगहना किन्ने सुनसरी इनरुवा नगरपालिका–१ घर भई लौकही–६ मा सुनचाँदीको पसल गर्र्ने ३४ वर्षीय सुबोध स्वर्णकारलाई हत्या र चोरीबाट सफाइ मिले पनि उनले किनेको चोरीको धनमाल पीडित पक्षलाई फिर्ता दिने फैसला भएको छ ।

सप्तरीको रुपनी गाउँपालिका–१ रुपनीबाट २०७१ असार ४ गते पक्राउ परेका स्वर्णकार अदालतको आदेशमा २०७१ असार २९ गते नगद रु १० लाख धरौटी बुझाई पुपक्र्षका लागि रिहा भएका थिए । हत्यामा संलग्न सुनसरी हरिपुर गाविस–७ भण्टाबारीका २३ वर्षीय सलिम भनिने अल्लाउद्दिन मियाँ र सप्तरीको हनुमाननगर कङ्कालिनी नपा–१ भारदहका ३५ वर्षीय बब्लु मण्डल फरार रहेकाले उनीहरुको हकमा मुद्दा मुल्तवी राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्