भारत लैजाँदै गरेका तीन किशोरीको उद्धार



इलाम ।

भारत लैजाने क्रममा तीन किशोरीको उद्धार गरिएको छ । पूर्वी इलामको प्रमुख सीमावर्ती नाका पशुपतिनगरबाट माइती नेपाल, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरुलाई उद्धार गरेको हो ।

सङ्खुवासभा मकालु गाउँपालिकाका १५-१६ वर्षका ती किशोरीलाई गाडीमा भारत लैजान लाग्दा सो टोलीले सोधपुछ गरेको थियो । उनीहरूलाई जागिरको प्रलोभनमा पारेर लैजाँदै गरिएको खुलेपछि मंगलबार उद्धार गरिएको माइती नेपाल पशुपतिनगरका होम खतिवडाले जानकारी दिनुभयो ।

सङ्खुवासभा घर भई हाल काठमाडौँ बस्दै आएकी लाचेन शेर्पाले ती किशोरीलाई काठमाडौंमा जागिर लगाइदिने आश्वासन दिँदै एक हप्ता काठमाडौँ लगेर राखेको अनुसन्धानका क्रममा खुलेको बताइएको छ ।शेर्पाले भारतस्थित दार्जिलिङमा काम खोजिदिएको र महिनाको रु नौ हजार तलब हुने जनाउँदै एक व्यक्तिलाई फोन गरेर बोलाएर उनकै साथमा दार्जिलिङ पठाएको सोधपुछका क्रममा खुलेको ढकालको भनाइ छ ।

उद्धार गरिएका तीनै किशोरीको परिवारलाई बोलाएर जिम्मा लगाइएको जनाइएकोे छ । पछिल्लो समय इलामको सीमावर्ती नाकाबाट मानव बेचबिखन हुने क्रम बढ्दै गएको छ । सीमा क्षेत्रमा रहेका दर्जनौं चोर बाटाको प्रयोग गरेर मानवतस्करले विशेष गरेर किशोरीलाई जागिरको प्रलोभन देखाएर लैजाने क्रम बढ्दै गएको हो ।

गत मंसिरमा मात्र चोर बाटाको प्रयोग गरेर मानव तस्करले दोलखा र मकवानपुरका दश किशोरीलाई भारततर्फ लैजाने क्रममा संयुक्त टोली उद्धार गर्न सफल भएको थियो । उद्धार गरिएकामा छ बालक र चार बालिका थिए ।

प्रतिक्रिया दिनुहोस्