मानव इतिहासको गौरव : चीनको विशाल पर्खाल



चीनको विशाल पर्खाल माटो र ढुंगाबाट बनेको एउटा किल्ला पर्खाल हो, जसलाई चीनको विभिन्न शासकहरूद्वारा उत्तरी शत्रुहरूबाट रक्षाको लागि इसापूर्व पाँचौँ शताब्दीदेखि सोह्रौँ शताब्दीसम्म बनाइयो । कैयौं पर्खालहरूको सामूहिक रूपले यस महान् पर्खालको पुनर्निर्माण गरिएको छ । ५ औँ शताब्दी इसापूर्व देखि १६ औँ शताब्दीको मध्यमा बनाइएको रूपमा सन्दर्भित गर्दछ । यसको विशालताको अनुमान यसै कुराबाट लगाउन सकिन्छ कि यस मानवनिर्मित ढाँचालाई अन्तरिक्षबाट पनि हेर्न मिल्छ ।
यो विशाल पर्खाल ६,४०० किलोमिटर क्षेत्रमा फैलिएको छ । यसको विस्तार पूर्वमा शानहाइगुआनदेखि पश्चिममा लोपनुरसम्म छ । र, यसको कुल लम्बाइ लगभग ६७०० कि.मि. (४१६० माइल) रहेको छ । हुन त पुरातत्व सर्वेक्षण विभागको हालसम्मको सर्वेक्षणअनुसार समग्र महान् पर्खाल, आफ्नो सबै शाखाहरूसहित ८८५१.८ किलोमिटरसम्म फैलिएको छ ।
आठौँ शताब्दीपूर्वमा चीनमा राज्यको रक्षा गर्नको लागि पर्खाल बनाउने शुरुवात भयो, जुन बेला कुई, यान र जाहो राज्यहरूले तीर र तरबारहरूको आक्रमणबाट बच्नको लागि माटो र ढुंगालाई ढाँचामा बनाएको इँटाबाट पर्खालको निर्माण शुरु गरे । इसादेखि २२१ वर्षपूर्व चीन किन साम्राज्यअन्तर्गत आयो । यस साम्राज्यले सबै स–साना राज्यहरूलाई संयुक्त गरेर एक विशाल तथा अखण्ड चीनको रचना ग¥यो । किन साम्राज्यदेखि शासकहरूले पूर्वमा बनाएको विभिन्न पर्खालहरूलाई मिलाएर एकै पर्खालमा परिणत गरे, जुन कि चीनको उत्तरी सीमा बन्यो ।
पाँचौँ शताब्दीदेखि धेरै पछिसम्म धेरै पर्खालहरू बने, जसलाई मिलाएर चीनको पर्खाल भनियो । प्रसिद्ध पर्खालरूमा एउटा २२०–२०६ इसापूर्वमा चीनको प्रथम सम्राट किन शी हुआंगले बनाउन लगाएका थिए । त्यस पर्खालको अंशको केही अवशेष मात्रै बचेको थियो । यो मिंग वंशद्वारा बनाएको वर्तमान पर्खालको सुदूर उत्तरमा बनेको थियो ।
नयाँ चीनको धेरै लामो सीमा आक्रमणकारीहरूको लागि खुलेको थियो, यसैले किन शासकहरूले पर्खाललाई चीनको बाँकी सीमाहरूसम्म फैलाउन शुरू गरे । यस कार्यको लागि अथक् परिश्रम तथा साधनहरूको आवश्यकता थियो । पर्खाल बनाउने सामग्रीलाई सीमाहरूसम्म लैजानु एउटा कठिन कार्य थियो । त्यसैले मजदुरहरूले स्थानीय साधनहरूको उपयोग गर्दै पर्वतहरू नजिक रहेका ढुंगाहरू र मैदानी भागनजिक माटो र ढुंगाको पर्खालको निर्माण गरे । आज यो पर्खालले विश्वमा चीनको नाम फैलाएको छ । र, युनेस्कोद्वारा सन् १९८७ देखि विश्व सम्पदा क्षेत्र घोषित गरेको छ ।
अंग्रेजीमा ग्रेटवालभनिने चीनको विशालकाय पर्खाल इसापूर्व ६५६ मा बाह्य आक्रमणबाट बच्नका लागि चू राज्यका राजा चङले सर्वप्रथम सुरक्षाको कारण निर्माण गराएका थिए । उनले निर्माण शुरु गरेको उक्त पर्खालको विभिन्न समयका राजा–महाराजाहरूले थप्दै, जोड्दै लम्बाइ बढाउँदै लगेर आज पर्खालको संरचना यस्तो हुन आइपुगेको छ ।
सन् १९८७ मा विश्व सम्पदा सूचीमा समावेश भएको चीनको ग्रेटवाल यस्तो ऐतिहासिक तथा सांस्कृतिक वास्तुकलाको नमुना हो, जसले हालसम्म पनि संसारका अधिकांश मानिसलाई आकर्षण गरिरहेको छ । यो ग्रेटवाल संसारको सातौं आश्चर्यमध्येको एक पनि हो । पहाडमाथि नागबेली हुँदै पूर्वबाट पश्चिमतिर गएको ग्रेटवाल लियाउनिङ प्रान्तको यालु नदीको किनाराबाट शुरु भएर पश्चिममा गान्सु प्रान्तको जियाउग्वानमा पुगी टुंगिएको छ । यसको लम्बाइ करिब १२,७०० कि.मि. छ । जियाउग्वानमा यो पर्खाल प्रसिद्ध रेशम मार्गसम्म पुगेको छ । उक्त पर्खालको बीच–बीचमा भत्केको अंश घटाउने हो भने हाल यसको लम्बाइ ६,३५० कि.मि.मात्र हुन आउँछ । चीनको एकीकरण गर्ने क्वीन वंशका पहिला सम्राट क्वीन शी ह्वाङले सुरक्षा पर्खालको विभिन्न खण्डलाई जोड्न र विस्तार गर्नलाई तीन लाख कामदारहरूलाई दश वर्षसम्म काममा लगाएका थिए ।
त्यसपछि विभिन्न राजवंशको कार्यकालमा पर्खाललाई बढाउने क्रम जारी राखियो । सबैभन्दा बढी निर्माण तथा पुनर्निर्माण भने मिङ राजवंशको कार्यकाल सन् १३६८–१६४४ मा गरियो । सान्सी प्रान्तबाट पश्चिमतर्फको पर्खाल माटोले बनाइएको छ । जसको सरदर उचाइ ५.३ मिटर छ । पूर्वी भागतर्फको पर्खाल भने पकाएको इँटा तथा आयताकार ढुंगाको जोडाइबाट बनाइएको छ । जसको सरदर उचाइ ७.५ मिटर छ । यस पर्खालमाथि एकैचोटि पाँचवटा घोडा दौडाउन मिल्ने चौडाइ रहेको छ । पर्खाल खास गरी सुरक्षाको दृष्टिकोणबाट सैनिक परिचालन गर्न सोही अनुरूप निर्माण गरिएको छ ।
पर्खालमा शत्रु पक्षलाई हेर्न स–साना प्वालहरू बनाइएको छ । प्रत्येक तीन सयदेखि पाँच सय मिटरको फरकमा पर्खालमाथि छानो लगाइएका स–साना कोठा बनाइएका छन् । ती कोठा युद्धको समयमा सुरक्षित रहन, युद्ध रणनीति तयार पार्न र शत्रु पक्षलाई निगरानी गर्नका लागि बनाइएका हुन् । त्यति लामो ग्रेटवालमुनिबाट वारिपारि जाने उद्देश्यले मुख्य–मुख्य ठाउँमा प्रवेशद्वार बनाइएको छ ।
ग्रेटवालको पूर्वी भागबाट प्राचीन चीनको राजधानी बेइजिङ जान तत्कालीन समयमा बनाइएको जुयोङग्वान प्रवेशद्वार धार्मिक तथा ऐतिहासिक दृष्टिले महत्वपूर्ण र कलात्मक छ । सन् १३४५ मा बनाइएको यो प्रवेशद्वार बेइजिङबाट ५० कि.मि. उत्तर–पश्चिममा पर्दछ । यस प्रवेशद्वारको माथि सेता मार्बलले बनाइएको प्यागोडा शैलीको बरण्डा छ । त्यस बरण्डामा प्रवेश गर्ने अति कलात्मक ६ पाटे ढोका छ । ढोकामा स्वर्गका राजाका चारवटा चम्किला आकृति बनाइएका छन् ।
त्यही ढोकाको खापामा बुद्धको आकृति खोपिएको छ । त्यहाँ विभिन्न भाषामा बुद्ध धर्मसम्बन्धी श्लोकहरू लेखिएका छन् । संस्कृत, तिब्बती, मंगोलियन, उगुर र चिनियाँ भाषामा बुद्ध धर्मसम्बन्धी श्लोकहरू ६०० वर्षअघि खोपिएका हुन् । ग्रेटवाल चिनियाँ शैलीको छ । तर यो पर्खाल निर्माणको सोचचाहिँ पश्चिमी मुलुकबाट प्रभावित भएको अनुमान गरिन्छ ।
– तपन कर्माचार्य, पाटन ।

प्रतिक्रिया दिनुहोस्