सुर्यमा विशाल उर्जा विस्फोट, पृथ्वीलाई असर पार्न सक्ने



न्युयोर्क, (एजेन्सी)

नयाँ बर्षको सुरुवातमा सुर्यमा भयानक विस्फोट भएको वैज्ञानिकहरुले बताएका छन् । जनवरी २ मा यो तारामा उर्जाको ठुलो विस्फोट भएको र बुधबार यसको असर पृथ्वीमा देखिने सम्भावना रहेको बताइएको छ । अमेरिकी स्पेस एजेन्सी नासाको सोलार डायनामिक्स अब्जरभेटरीले विस्फोटका क्रममा निस्कासित कण अन्तरिक्षमा फैलिएको खिचेको छ ।

विज्ञहरुका अनुसार सुर्यको केन्द्रमा म्याग्नेटिक फिलामेन्ट बन्नुको कारण सुर्यको दक्षिण गोलार्धमा यो विस्फोट भएको हो । यसले सौर्य प्रणालीमा दुई कोरोनल मास इजेक्सन भएको छ जसमा एक ढिलो गतिमा र अर्को अलि बढी गतिमा भएको बताइएको छ । यिनीहरु एक आपसमा मिलेपछि त्यसको तिब्रता पनि बढ्न सक्छ । एस्ट्रोनोमी साइट स्पेस वेदरका अनुसार यी कणहरु पृथ्वीमा पुग्न सक्छ । नोआका पुर्वानुमानमा जनवरी ६ मा यो पृथ्वीमा पुग्नेछ ।

पृथ्वीमा पुग्नुले यसको असर कस्तो हुने छ भन्नेमा सबैको चासो रहेको छ । यदि यी कण पृथ्वीसँग ठोक्किन्छ भने त्यसले राम्रो परिदृष्य देख्न पाउने अनुमान गरिएको छ । उत्तरी वा दक्षिणी प्रकास अर्थात अरोराका रुपमा यसको प्रभाव देख्न सकिनेछ । यद्यपी अनुसन्धानकर्ताहरुले यसको अन्य प्रभाव पनि हुन सक्ने बताए ।

पृथ्वीको चुम्बकिय क्षेत्रले मानवलाई सुर्यबाट आउने खतरनाक रेडिएसनबाट बचाउँछ तर सौर्य आँधीका असर भुउपग्रहमा आधारित प्रविधिमा पर्न सक्छ । सौर्य आँधीका कारण पृथ्वीको बाहिरी वायुमन्डल तातिन सक्छ, जसले भुउपग्रहमा असर पार्न सक्छ । यसले जीपीएस नेविगेसन, मोबाइल फोन सिग्नल र स्याटलाइट टीभीमा रुकावट आउन सक्छ ।

विद्युत प्रसारन लाइनमा करेन्टको प्रवाह बढ्न सक्ने र त्यसले ट्रान्सफर्मर पड्किन सक्ने बताइएको छ । यद्यपी यसप्रकारको घटनन कमै हुने गरेको छ । पछिल्लो पटक यति शक्तिशाली आँधी सन् १८५९ मा आएको थियो जब युरोपमा टेलिग्राफ सिस्टम बन्द भएको थियो ।

प्रतिक्रिया दिनुहोस्