सीमा नाका नखुले पनि भन्सार राजश्व बढ्यो



काठमाडाैं ।

भारतीय सीमा नाका नखुले पनि भन्सार कार्यालय ठाडी सिरहाले चालु आर्थिक वर्ष २०७७-७८ को पाँच महिनाको अवधिमा रु चार करोडभन्दा बढी राजश्व संकलन गरेको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले भारतीय सीमा नाका बन्द गरेकै अवस्थामा ठाडी भन्सारले चालु आवको साउनदेखि मंसिरसम्मको अवधिमा रु चार करोड ८९ लाख ४५ हजार राजश्व संकलन भएको जनाएको छ ।

चालु आव २०७७-७८ मा रु छ करोड ३० लाख लक्ष्य तोकिएकामा पाँच महिनाकै अवधिमा लक्ष्यको करिब ६० प्रतिशत राजश्व संकलन गर्न सफल भएको भन्सार प्रमुख नरेश साहले जानकारी दिनुभयो । भारतबाट गहुँ, चामल, आलु, प्याज, फलफूल, बेसार र तरकारीलगायतका सामग्रीको आयात बढेको र खाद्यान्न सामग्री आयतमा भन्सार वृद्धि भएकाले राजश्व संकलनमा वृद्धि भएको प्रमुख साहको कथन छ । अघिल्लो आव २०७६-७७ मा सो कार्यालयले रु सात करोड १६ लाख ७९ हजार राजश्व संकलन गरेको थियो ।
–––

प्रतिक्रिया दिनुहोस्