फिलिपिन्स राष्ट्रपतिद्वारा खोप कार्यक्रमबारे औंला नउठाउन चेतावनी



एजेन्सी ।

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले मंगलबार आफ्नो सुरक्षा टोलीलाई कसरी अनाधिकृत कोभिड–१९ खोप दिइयो भन्नेबारे सिनेटले गर्न लागेको अनुसन्धानमाथि रोक लगाएका छन् । साथै, उनले यदि विधायकहरूले यस विषयमा गहन चासो लिन खोजे परिणाम नराम्रो हुने चेतावनीसमेत दिएका छन् ।

सोमबार डुटेर्टेले राष्ट्रपतीय सुरक्षा समूह (पीएीसजी) का अध्यक्ष ब्रिगेडियर जनरल जिसस डुरान्टेलाई गोप्य खोप अभियानबारे संसद्मा बयान दिन विधायकहरूले गरेको अनुरोधलाई बेवास्ता गर्न आदेश दिएका थिए । सोमबार साँझ राष्ट्रको नाममा टेलिभिजन सम्बोधन गर्ने क्रममा डुटेर्टेले भनेका छन्– ‘म आफ्ना फौजको रक्षाका लागि तयार छु । म तिनीहरूलाई सुनुवाइमा असह्य व्यवहार गराउने अनुमति दिन सक्तिन ।’

मंगलबार सरकारी सशस्त्र फौजले यसबारे आफूले नै सत्यतथ्य पत्ता लगाउने जनाएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार डुटेर्टेले गत सप्ताहान्तमै फिलिपिनी जनताले चीनको सिनो फार्मले निमार्ण गरेको कोरोना भाइरसविरुद्धको खोप लगाएको पुष्टि गरिसकेका छन् । अनुमोदन नै नगरिएको खोप अवैध रूपले खोप अभियानमा प्रयोग भइरहेको खबर सुनिनमा आएकाले सिनेटले सरकारले आगामी साता शुरू गर्न लागेको खोप कार्यक्रममाथि अनुसन्धान गर्न चाहेको हो ।

फिलिपिन्सको खाद्यान्न तथा औषधि प्रशासनले कोभिड–१९ को खोप आयात र बिक्री–वितरण कार्यलाई अवैध ठहर गर्दै यस खोपलाई अनुमोदन गरेको थिएन । साथै, यस प्रशासनले सो खोपको प्रयोगबाट हुनसक्ने सम्भावित खतराबारे स्पष्ट नपारिएको चेतावनी पनि दिएको छ । तर, डुटेर्टेका प्रवक्ता ह्यारी रोक्युले भने सेनाले कुनै कानुन नतोडेको दाबी गरेका छन् । गत साता जनरल डुरान्तेले आफ्नो युनिटका केही सदस्यले नियमअनुसार खोपको अनमोदन प्रक्रियालाई पर्खेर बस्न नसक्ने भन्दै आफैंले विश्वास गरेर खोप लिएको जानकारी दिएका थिए ।

साथै, जनरलले यसबारे राष्ट्रपति डुटेर्टेलाई पछि मात्र जानकारी दिइएको पनि स्पष्ट पारेका थिए । तर, उनले खोपको नाम र त्यसलाई कहाँबाट ल्याइएको भन्नेबारे केही पनि बताएका थिएनन् । तर, स्वास्थ्ययमन्त्री फ्रान्सिस्को डुक्युले आफ्नो निकायले फिलिपिन्सको सुरक्षा टोलीको मात्र नभई दक्षिण–पूर्वी एसियाली मुलुक फिलिपिन्सका हजारौं चिनिया“ कामदारलाई खोप दिइएको विषयमा पनि अनुसन्धान थाल्ने बताएपछि विवाद चुलिएको हो ।

प्रतिक्रिया दिनुहोस्